धनुषा । घरको आँगनमा खेलिरहेका १५ महिनाका सिद्धान्त महतो एकाएक बेपत्ता भएपछि धनुषामा सनसनी मच्चियो । फिरौतीको फोनसमेत नआएको यो रहस्यमय घटनाको अनुसन्धान र खोजी ११ दिनसम्म चल्यो । नेपाल–भारत सीमापारि पुगेको अनुसन्धान अन्ततः बच्चाको सकुशल उद्धार र अपहरणकारी पक्राउमा टुंगिएको छ ।
भदौ १८ गते अपराह्न ४ः४० बजे धनुषाको विदेह नगरपालिका–६ तीनकोरियास्थित एउटा घरको आँगनमा १५ महिनाका सिद्धान्त महतो खेलिरहेका थिए । राम्रोसँग बोल्न नसक्ने, हिँड्नसमेत धौ–धौ पर्ने ती अबोध बालक केही क्षणमै परिवारको आँखाबाट ओझेल परे । त्यसपछि सुरु भयो आशंका र ११ दिन लामो खोजी कार्य ।
घरमा अपरिचित मानिसको आवतजावत थिएन । परिवारको कसैसँग ठूलो रिसइबी पनि थिएन । यसमा अझ आश्चर्य लाग्ने कुरा न अपहरणकारीले फोन गरे न त फिरौति नै मागे । त्यसैले प्रहरीसामु ठूलो चुनौति थपियो । आखिर सिद्धान्तलाई कसले र किन लग्यो ? विभिन्न सन्देह र आशंकाका बीच जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी सक्रिय भयो ।
धनुषाका प्रहरी प्रमुख रुपेश खड्काको कमान्डमा ६० जनाभन्दा बढी प्रहरी परिचालन गरिए । घटनास्थल र आसपास तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेर खोजी भयो । तर बालकको कुनै सुराक भेटिएन । अनुसन्धान जति गहिरिदै थियो त्यति नै रहस्यमय पनि बन्दै गयो ।
धनुषाका डीएसपी ओमप्रकाश खनाल र मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङको नेतृत्वमा थप टोली परिचालन भयो । प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहसमेत अनुसन्धानमा जोडियो । प्रहरीले घटनाको प्रत्येक सम्भावित कोण खोतल्न थाल्यो । अन्ततः प्राविधिक विश्लेषणले अनुसन्धानको दिशा बदलिदियो ।
सिद्धान्तलाई धनुषाको कमला नगरपालिका–९ की ४१ वर्षीया पुनितादेवी पासवानले लगेको तथ्य खुलेपछि प्रहरी उनको खोजीमा लाग्यो । तर यहाँबाट अनुसन्धान नेपाल–भारत सीमापारि सम्म पुग्यो । पुनितादेवीको माइती भारतको मधुवनीमा थियो ।
नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्दै त्यहाँसमेत खोजी ग¥यो । प्रहरी टोली मधुवनी पुग्दा पुनितादेवी भेटिइनन् । तर प्रहरी पुगिसकेको सूचना पाएपछि उनी सिद्धान्तलाई लिएर पुनः जनकपुर फर्किसकेकी थिइन् ।
प्रहरीको अनुसन्धानले पछ्याउँदै गर्दा पुनितादेवीले सिद्धान्तलाई जनकपुरस्थित आफ्नो डेरामा लुकाएर राखेको खुलेको थियो । प्रहरीले दबाब बढाउँदै लगेपछि अन्ततः ११ दिनसम्मको रहस्य सोमबार खुल्यो ।
प्रहरीको घेराबन्दी र खोजी थेग्न नसकेपछि पुनितादेवीले सिद्धान्तलाई उनको घरबाट करिब तीन सय मिटर पर छाडेर भागिन् । तर उनी धेरै टाढा पुग्न सकिनन् । प्रहरीले धनुषाकै महिनाथपुरबाट उनलाई पक्राउ ग¥यो । ११ दिनदेखि हराइरहेका सिद्धान्त सकुशल आमाको काखमा फर्किए ।
पासवान अहिले धनुषा प्रहरीको हिरासतमा छिन् । प्रहरीका अनुसार उनी अनुसन्धानका क्रममा बोल्न डराइरहेकी छन् । उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन र ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीको प्रारम्भिक आशंका अझै गम्भीर छ । पुनितादेवीका दुई छोरी मात्रै छन् ।
आफ्नो छोरा नभएको कारण उनले सिद्धान्तलाई अपहरण गरेको हुन सक्ने कोणबाट समेत अनुसन्धान भइरहेको छ । तर यो घटना एउटा परिवारको पीडा र एउटा बालकको उद्धारमा मात्र सीमित छैन । यसले नेपालमा बदलिँदै गएको अपहरणको स्वरूपमाथि पनि गम्भीर प्रश्न उठाएको छ ।
नेपालमा अपहरण आतंक !
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्ला दुई महिनामै देशभर अपहरण तथा शरीर बन्धकसम्बन्धी १५ वटा मुद्दा दर्ता भएका छन् ।
ती घटनामा ६ महिलासहित २५ जना पक्राउ परेका छन् । पछिल्ला पाँच वर्षको आँकडा हेर्ने हो भने देशभर ६ सय ९६ वटा मुद्दा चलाइएको छ ।
ती घटनामा ६ सय ४९ जना पक्राउ परेका छन् । कहिले संगठित गिरोह, कहिले टोले गुण्डा, त कहिले पीडितकै चिनजानका व्यक्ति अपहरणको अपराधमा संलग्न हुँने गरेका छन् । चिनजान र आफन्त अपरणमा संलग्न हुँदा अझ जटिलटा बढ्दै गएको प्रहरीको निष्कर्ष छ । व्यक्ति अपहरण गर्ने, ठूलो रकम फिरौती माग्ने र फिरौती नदिए वा ढिला गरे अपहरितकै ज्यान लिने अपहरणको अर्को भयावह पाटो हो ।
अपहरण र कानूनी सजाय
मुलुकी अपराध संहिता, २०७४ अनुसार अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । धनुषाको यो घटनामा फिरौतीको एउटा फोनसमेत आएन ।
कुनै धम्की आएन । तर एउटा अबोध बालक ११ दिनसम्म घरबाट सयौँ मिटर टाढा अझ सीमापारि समेत पु¥याइयो । अन्ततः प्रहरीको निरन्तर अनुसन्धान र सक्रियताले सिद्धान्तलाई सुरक्षितरुपमा आमाको काखमा फर्काइयो । यद्यपी अनुसन्धानका पाटोहरु खुल्नै बाँकी छन् । १५ महिनाको बालकलाई किन अपहरण गरियो ? अपहरणकारीको उद्देश्य के थियो ? बाँकी रहस्यहरु पक्कै खुल्दै जालान् तर यो पछिल्लो घटनाले के देखाएको छ भने नेपालमा अपहरणका घटनाहरु डरलाग्दो तरिकाले बढिरहेका छन् ।


