News 24 Television
स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।

इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न गइरहेको  पिंकवाक आगामी असोज १७ गते शनिवार अक्टोबर ३, २०२६, बिहान ६ बजे शुरु हुनेछ। यस अन्तर्गत सहभागीहरूले बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गर्नेछन् । 

पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।

स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ। 

साथै, क्यान्सर उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक रहेको सन्देश पनि कार्यक्रममार्फत प्रवाह गरिनेछ।

इन्फिनिट केयर्सका तर्फबाट दिजुप तुलाधर इकाई प्रमुखले पिंकवाकलाई केवल पदयात्रामा सीमित नभई सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताए । 

“पिंकवाक केवल एउटा पदयात्रा होइन, यो सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो।  स्तन क्यान्सरका बारेमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, प्रारम्भिक पहिचानको महत्व बुझाउनु र क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारको साथमा समुदायलाई उभ्याउनु हाम्रो मुख्य उद्देश्य हो। सबैलाई पिंकवाक २०२६ मा सहभागी भई यस अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गर्दछौं” दिजुप तुलाधरले  भने । 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update