News 24 Television
गुड्दागुड्दै ईभीमा आगो : के इभी असुरक्षित नै हो ?

काठमाडौं । चितवनको भरतपुरमा गुड्दागुड्दै विद्युतीय कारमा आगलागी हुँदा चालक अमर पराजुलीको मृत्यु भएपछि ईभी सुरक्षामाथि बहस चर्किएको छ । आगलागीको कारण अनुसन्धानमै रहँदा ब्याट्री, चार्जिङ प्रणाली, दुर्घटनामा ढोका लक हुने जोखिम र ईभी दुर्घटनाबारे प्रश्न उठेका छन् ।

चितवनको भरतपुरमा गत शुक्रबार बिहान गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी भयो । हेटौँडाबाट टाँडी हुँदै भरतपुरस्थित घर फर्किरहेका ५५ वर्षीय अमर पराजुलीले कारभित्रै जलेर ज्यान गुमाए । प्रहरी र दमकलले आगो नियन्त्रणमा लिँदासम्म उनको मृत्यु भइसकेको थियो । 

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स प्रालिले आयात गरेको करिब एक वर्ष पुरानो जीएसी आयोन वाई मोडलको इभीमा आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । गाडीमा आगलागीको कारणबारे उत्पादक वा आयातकर्ता कम्पनीबाट अहिलेसम्म आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन । तर उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएसँगै विद्युतीय के सवारी साच्चिकै पेट्रोल–डिजेल गाडीभन्दा बढी जोखिमपूर्ण छन् भन्ने प्रश्नसँगै बहस शुरु भएको छ । इभीमा आगलागीका घटनाहरु दोहोरिदै जान थालेपछि कुरा गरौँ ईभीमा आगलागी किन हुन्छ ? 

विद्युतीय सवारीमा प्रयोग हुने लिथियम आयन ब्याट्री प्याकभित्र सयौँदेखि हजारौँसम्म सेल हुन्छन् । प्रत्येक सेलमा ज्वलनशील इलेक्ट्रोलाइट र दुई टर्मिनललाई छुट्याउने अत्यन्त पातलो सेपरेटर हुन्छ । ठूलो दुर्घटनामा ब्याट्रीमा क्षति पुग्दा सेपरेटर च्यातिन सक्छ । त्यसपछि दुई टर्मिनलबीच सर्ट सर्किट भएर तापक्रम तीव्र रूपमा बढ्न सक्छ ।

तापक्रम निश्चित सीमाभन्दा माथि पुगेपछि थर्मल रनअवे भनिने प्रक्रिया सुरु हुन सक्छ । एउटा सेल अत्यधिक तातेपछि त्यसको ताप अर्को सेलमा सर्दै जाने र क्रमशः धेरै सेलमा फैलिने अवस्था हो। यसले आगलागी नियन्त्रण गर्न कठिन बनाउन सक्छ । तर दुर्घटना मात्र यसको कारण होइन । उत्पादनमा भएको सूक्ष्म त्रुटि, विद्युतीय ओभरचार्जिङ, चार्जिङ प्रणालीमा समस्या वा बाढीका क्रममा नुनिलो पानीसँगको सम्पर्कले समेत जोखिम बढाउन सक्छ । 

ब्याट्रीबाहेक ईभीमा सामान्य विद्युतीय तार, १२ भोल्टको प्रणाली, क्याबिनका विद्युतीय उपकरण र टायरजस्ता परम्परागत भाग पनि हुन्छन् । यी प्रणालीमा आएको खराबीबाट पनि आगलागी हुन सक्छ । 

इभीमा पहिलो आगलागी कहिले भयो ? 

लिथियम आयन ब्याट्री भएका विद्युतीय कारमा आगलागीको घटना नयाँ होइन । सन् २०१३ अक्टोबरमा अमेरिकाको वासिङ्टन राज्यमा सडकमा रहेको फलामको टुक्राले टेस्ला मोडल एसको तल्लो ब्याट्री केसिङमा क्षति पु¥याएपछि आगलागी भएको घटना इभीमा आगलागी भएको पहिलो घटनाको रुपमा रेकर्ड्समा छ । 

यो बाहेक सन् २०१० देखि जुन २०२४ सम्म यात्रुवाहक ईभीका मुख्य ब्याट्रीमा ५११ वटा आगलागीका घटना प्रमाणित भएको विश्वव्यापी ट्रयाकिङ तथ्यांकमा उल्लेख छ । तर सवारी सुरक्षाको तुलना घटनाको संख्या हेरेर गरिँदैन । 

प्रति वर्ष कति सवारीमा आगलागी भयो वा निश्चित दूरी जस्तै प्रति १० लाख माइल यात्रामा कति आगलागी भयो भन्ने आधारमा तुलना गरिन्छ । त्यस्ता तुलनात्मक तथ्यांकमा विद्युतीय सवारीको आगलागी दर पेट्रोल वा डिजेल सवारीभन्दा बढी देखिँदैन । त्यसैले एउटा घटनाका आधारमा सबै ईभीलाई बढी जोखिमपूर्ण निष्कर्ष निकाल्न सकिँदैन ।

नेपालमा इभी आगलागीका घटनाहरु 

नेपालमा विद्युतीय सवारीमा भएका आगलागीको एकीकृत र पूर्ण अभिलेख उपलब्ध छैन । तर केही चर्चित घटनाले फरक तस्वीर देखाउँछन् । सन् २०२४ जनवरीमा काठमाडौंको बूढानीलकण्ठमा चार्जमा जोडिएको एमजीको विद्युतीय गाडीमा आगलागी भएको थियो । कम्पनीको अनुसन्धान अनुसार चार्जिङ केबल र सकेट एसेम्बली भित्र भएको सर्ट सर्किटलाई सम्भावित कारण मानिएको थियो । 

त्यस घटनामा मुख्य ब्याट्री भने सुरक्षित रहेको बताइएको थियो । त्यस्तै सन् २०२५ मेमा मोरङको पथरीमा बीवाईडी एटो थ्रीमा आगलागी भयो । अनुसन्धानमा गाडीनजिक रहेको आगो सल्काउन सक्ने पदार्थलाई सम्भावित कारण मानिएको थियो । 

उक्त घटनामा पनि ब्लेड ब्याट्री र उच्च भोल्टेज पावरट्रेन सुरक्षित रहेको बताइएको थियो । यस आधारमा सार्वजनिक रूपमा यस्ता घटनामा मुख्य ट्रयाक्सन ब्याट्रीमै आगलागी प्रमाणित भएको घटना देखिएको छैन । भरतपुरको घटनामा अनुसन्धानले मुख्य ब्याट्रीमै आगलागी भएको पुष्टि गरेमा यो विषय थप गम्भीर अध्ययनको विषय बन्न सक्छ ।

किन इभीमा बढी दुर्घटना जस्तो देखिन्छ ? 

विद्युतीय सवारीको संख्या नेपालमा तीव्र गतिमा बढिरहेको छ । त्यससँगै दुर्घटनाका समाचार पनि बढिरहेका छन् । तर दुर्घटनाको संख्या बढेको मात्रै आधारमा ईभी प्रविधि नै दुर्घटनाको कारण हो भन्न मिल्दैन । 

यसमा चालकको व्यवहार पनि महत्वपूर्ण हुन्छ । विशेषगरी विद्युतीय माइक्रोबसमा इलेक्ट्रिक मोटरले पेट्रोल वा डिजेल इन्जिनको तुलनामा सुरुवातमै धेरै टर्क दिन सक्छ । त्यसैले पेट्रोल डिजेल गाडी चलाउँदा अभ्यस्त चालकले त्यही शैलीमा एक्सिलरेटर दबाउँदा गाडी अपेक्षाभन्दा तीव्र गतिमा अगाडि बढ्न सक्छ ।

यसले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम बढाउन सक्छ । त्यसैगरी सेन्सर वा अन्य विद्युतीय प्रणालीमा समस्या आउँदा पनि दुर्घटनाको सम्भावना रहन्छ । तर प्रत्येक दुर्घटनालाई प्रविधिको खराबीसँग जोड्नुअघि प्राविधिक अनुसन्धान आवश्यक हुन्छ । 

इभीमा दुर्घटना हुँदा ढोका लक हुन्छ !

ईभीबारे अर्को ठूलो चिन्ता दुर्घटनाका बेला ढोका नखुल्ने विषय हो । धेरै आधुनिक सवारीमा गाडी चलिरहेको बेला ढोका अटोलक हुने र रोकिएपछि अनलक हुने व्यवस्था हुन्छ । इलेक्ट्रोनिक डोर ह्यान्डल भएका ईभीमा ह्यान्डल सामान्यतः १२ भोल्टको कम भोल्टेज प्रणालीसँग जोडिएको हुन्छ । दुर्घटना वा आगलागीमा १२ भोल्टको प्रणाली नै निष्क्रिय भयो भने इलेक्ट्रोनिक ह्यान्डलले काम नगर्न सक्छ । 

त्यसैले धेरै ईभीमा आपत्कालीन अवस्थामा प्रयोग गर्न मेकानिकल डोर रिलिज वा क्याच राखिएको हुन्छ । तर सबै ईभीमा दुर्घटना वा आगलागी हुँदा स्वतः ढोका खुल्ने एउटै साझा प्रणाली भने छैन । 

त्यसैले चालक र यात्रुले आफ्नो गाडीको आपत्कालीन डोर रिलिज कहाँ छ भन्ने जानकारी नराख्दा पनि इभी दुर्घटना खतरनाक बन्दै गइरहेका छन् । 

पछिल्ला दुर्घटनाहरुले के देखाउँछन् ? 

नेपालमा पछिल्लो समय ईभी दुर्घटनाका केही गम्भीर घटना भएका छन् । मंगलवार मकवानपुरको इन्द्रसरोवर–२ सुकौरामा दिउँसो भएको इभी दुर्घटनामा ४ जनको मृत्ये भयो । त्यस्तै २०८२ वैशाख ५ मा काठमाडौं–हेटौँडा जाँदै गरेको विद्युतीय माइक्रोबस अनियन्त्रित भएर करिब दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु र १४ जना घाइते भए । 

२०८२ जेठ ११ मा शिवपुरी गाउँपालिका–७ गुरुङगाउँनजिक निजी ईभी करिब १० मिटर तल खस्दा नौ जना घाइते भए । २०८१ माघ २५ मा बीपी राजमार्गअन्तर्गत सिन्धुलीमा ईभी सडकबाट खस्दा चालकको मृत्यु र पाँच जना घाइते भए । 

२०८२ असार २१ मा रौतहटको चन्द्रनगरमा ट्रक र ईभी ठोक्किँदा दुई जनाको मृत्यु भयो । २०८१ चैत १२ मा दैलेखको मध्यपहाडी लोकमार्गमा ईभी करिब ५० मिटर तल खस्दा चार विद्यार्थी घाइते भए । 

यी दुर्घटनाका विवरण अनुसार इभी मुख्यतः अनियन्त्रित हुनु, सडकबाट खस्नु वा अर्को सवारीसँग ठोक्किनु जस्ता कारणसँग जोडिएको छ । यी सबै दुर्घटनामा ईभीको मुख्य प्रविधिगत कमजोरी नै कारण थियो भन्ने निष्कर्ष भने देखिँदैन ।

तर फेरि भरतपुर दुर्घटनाको प्रसंगमै फर्कौ । 

भरतपुरमा अमर पराजुलीको ज्यान गएको घटना एउटा कारमा लागेको आगोको घटना मात्र होइन । यसले नेपालमा बढिरहेको विद्युतीय सवारीको सुरक्षा परीक्षण, चार्जिङ पूर्वाधार, ब्याट्री मर्मत, दुर्घटनापछिको उद्धार र आपतकालीन तालिमबारे गम्भीर प्रश्न उठाएको छ भने सीजी मोटर्सले नेपालमा बिक्रि गर्दै आएको आयोन ब्राण्डको कारप्रति नै उपभोक्ता शसंकित बन्ने अवस्था आएको छ । तर अनुसन्धानको निष्कर्ष नआउँदै ईभी भएकै कारण आगो लाग्यो भन्नु पनि गलत हुन्छ तर अहिले भइरहेका दुर्घटनाहरुका कारण इभीमा कुनै जोखिम नै छैन भन्न पनि सकिन्न । 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update