News 24 Television
संस्थापनको महाधिवेशन उद्घाटन गर्न देउवालाई आग्रह

काठमाडौं । एक वर्षअघि भएको युवा पुस्ताको विद्रोहपछि चर्किएको नेपाली कांग्रेसको द्वन्द्व अझै सेलाएको छैन । बरु संस्थापन र शेरबहादुर देउवा समूह छुट्टाछुट्टै महाधिवेशनको आयोजना गरि पार्टीलाई विभाजनको बीउ रोप्ने प्रयासमा छन् । फुटको बाटोमा गएको कांग्रेसलाई मिलाउन भन्दै नेता शेखर कोइरालाले भने मध्यमार्गी बाटो अवलम्बन गरेका छन् । 

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व हात
पारेका गगनकुमार थापा यतिबेला पार्टीको १५ औं महाधिवेशनको तयारीमा छन् । आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशनको तय गरिएको छ । महाधिवेशन अन्तर्गत नै असोज ३ गते वडा अधिवेशनको गरिँदैछ । तर निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने आफ्नै रटानमा छ । 

पार्टीको चौधौं महाधिवेशनबाट निर्वाचित समूहलाई समेत विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा समायोजन गर्ने भनी सभापति थापाले राखेको प्रस्ताव समेत अस्वीकार गर्दै देउवा समूहले आगामी मंसिरमा छुट्टै महाधिवेशन आह्वान गरेको छ । 

देउवा समूहले संस्थापनले आयोजना गरेको महाधिवेशनलाई प्रभावित गर्न भन्दै महाधिशनको कार्यतालिका सार्वजनिक गरि असोज १५ गते वडा अधिवेशन गर्ने बताएको छ । संस्थापन पक्षलाई महाधिवेशन रोक्न दबाब दिए पनि जबर्जस्त अघि बढ्न खोजेको भन्दै देउवा समूह समानान्तर गतिविधि अघि बढाएको हो । 

मध्यमार्गी बाटोमा शेखर कोइराला

संस्थापन र देउवा पक्षको लडाईँका बीच कांग्रेस नेता डा. शेखर कोइरालाले भने मध्यमार्गी बाटो अवलम्बन गरेका छन् । कोइरालाले विहीबार तीन पृष्ठ लामो विज्ञप्ति जारी गर्दै आफ्नो मध्यमार्गी धार सार्वजनिक गरेका हुन् । मध्यमार्गी धारलाई कांग्रेसको जीवन दर्शन भन्दै कोइरालाले आफूलाई पार्टी र देशको लोकतन्त्र सफल भएको हेर्ने सिपाहीको रुपमा उल्लेख गरेका छन् ।  

‘मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा, यही मार्ग सत्यको मार्ग हो । यही मार्ग कांग्रेसको मार्ग हो । र, यही मार्ग कांग्रेसको जीवन दर्शन हो । म आरोपित भएर, भइरहेको पनि छु । कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ ।’ – कोइरालाले भनेका छन् ।  

यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेको आफूलाई थाहा नभएको कोइरालाको भनाई छ । कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका गरोस् भन्ने चाहेको उल्लेख गर्दै कोइरालाले आसन्न घोषित दुई महाधिवेशन रोकेर  समझदारीको बाटो खोज्न आग्रह गरेका छन् । 

गगन लचकता अपनाउन तयार 

दुई लाइन संघर्ष चर्किँदै गएर नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको छ । देउवा पक्षको बहिष्कारका बाबजुद असोज ३ गतेदेखि वडा अधिवेशन अघि बढेमा कांग्रेस औपचारिक विभाजनको बाटोमा अघि बढ्ने छ । त्यसैले कांग्रेसलाई फुटबाट जोगाउन आफू अझै पनि आवश्यक लचकता अपनाउन तयार रहेको सभापति थापाको भनाई छ । महाधिवेशनपछि भ्रातृ संस्थालगायत पार्टीका अन्य विषयहरू पनि सबैसँग सरसल्लाह गरेर अघि बढाउने निर्णय भएको भन्दै थापाले सबैलाई समेटेर सहमतिका साथ अगाडि बढ्ने आफ्नो प्रयास हुने बताएका छन् । 

देउवालाई महाधिवेशन उद्घाटन गरिदिन आग्रह

देउवा नेतृत्वको तत्कालिन केन्द्रीय समितिलाई हालको केन्द्रीय समितिमा समायोजन गर्ने प्रस्तावसमेत लत्याएका देउवा पार्टीका नेता कार्यकर्तालाई संस्थापनको महाधिवेशनमा रोक्ने पहल गरिरहेका छन् । तर गगन भने छुट्टै महाधिवेशनको औचित्य नभएको भन्दै बरु असोज १६ गतेको महाधिवेशन उद्घाटन गरिदिन देउवालाई आग्रह गरेका छन् । 

पार्टी विधानअनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्वसभापतिको औपचारिक बिदाइको चरणमा पार्टी पुग्ने थापाको भनाई छ । तर संस्थापन पक्षले समायोजनको नाममा आफूहरुको अपमान गरेको देउवा समूहले बताइरहेका छ । संस्थापनको महाविधेशनमा भाग नलिन आह्वान गर्दै अघि बढेको यो समूहलाई रोक्न मध्यमार्गी बाटो अवलम्बन गरेका कोइराला कति सफल हुन्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update