काठमाडौं । पृथ्वीराजमार्गको कृष्णभीरमा ११ दिनपछि दुईतर्फी यातायात सञ्चालनमा आएपनि दीर्घकालिनरुमा जोखिम टरेको छैन । माथिल्लो भिरको पहिरो, पानी व्यवस्थापन र त्रिशूली नदीको कटान अझै सडकको चुनौतीका रुपमा रहेका छन् । सडक विभागले तत्कालीन समाधानसँगै दीर्घकालीन सुरक्षाका लागि प्राविधिक अध्ययन र संरचना निर्माण अघि बढाउने भएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आएपनि जोखिम भने अझै पूर्ण रूपमा हटेको छैन । सडक विभागले तत्कालका लागि बाटो खुलाए पनि दीर्घकालीन समाधानका लागि तीन ठूला अवरोधका रुपमा रहेका माथिल्लो भिरको पहिरो, पानी व्यवस्थापन र तल्लो भागको त्रिशूली नदी कटान नियन्त्रण गर्नुपर्ने देखिएको छ ।
करिब ११ दिनको निरन्तर प्रयासपछि बिहिवारदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । सडक खुलेसँगै मालवाहक, सार्वजनिक तथा निजी सवारीसाधनसँगै ग्यास बुलेटसमेत सहज रूपमा आवतजावत गर्न थालेका छन् । तर कृष्णभिरको जोखिम भने अझै सकिएको छैन । सडक विभागका अनुसार कृष्णभीरलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन तीन ठूला चुनौती समाधान गर्नुपर्नेछ ।
तीन चुनौति यी हुन् ?
पहिलो : माथिल्लो स्लोपबाट आउने पहिरो र डेब्रिज
दोस्रो : भिरको पानी व्यवस्थापन
तेस्रो : त्रिशूली नदीको कटान
कृष्णभीरमा वर्षायाममा माथिल्लो भिरबाट माटो, ढुंगा तथा अन्य अवशेष सडकमा खस्ने जोखिम अझै कायमै छ । त्यस्तै माथिल्लो भागबाट आउने पानीलाई व्यवस्थित रूपमा निकास नगरे सडकको संरचना कमजोर बन्न सक्छ । त्यसका लागि सोल ड्रेनलगायत संरचनालाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ । त्यसैगरी सडकको तल्लो भागमा त्रिसुली नदीले गर्ने कटान नियन्त्रण नगरे सडकको आधार नै जोखिममा पर्न सक्ने सडक विभागको निष्कर्ष छ ।
अहिले तत्काल सडक सञ्चालनमा ल्याइएपनि विभागले कृष्णभीरलाई कम्तीमा तीन वर्ष सुरक्षित रूपमा सञ्चालनयोग्य बनाउने गरी काम गर्ने भएको छ । बर्खा सकिएलगत्तै अहिले ग्राभेल गरिएको सडकमा कालोपत्रे गर्ने तयारी छ । अस्फाल्ट वा अन्य उपयुक्त प्रविधिबारे अध्ययन भइरहेको विभागले जनाएको छ ।
दीर्घकालीन विकल्पका रूपमा कृष्णभीरमा सुरुङ निर्माण गर्ने वा त्रिशूली नदीपारि वैकल्पिक सडक बनाउने विषयमा समेत छलफल भइरहेको छ । तर त्यसका लागि समय लाग्ने भएकाले तत्काललाई यही सडकलाई नै सुरक्षित बनाउने योजना विभागको छ । माथिबाट डेब्रिज खस्ने जोखिम भए पनि यसअघि जस्तो लामो समय सडक अवरुद्ध हुने अवस्था नआउने गरी व्यवस्थापन गर्न सकिने नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्का बताउँछन् ।
यसैबीच बाढीबाट पृथ्वीराजमार्गका कृष्णभीरसहित शीतलबजार, पोखरेभीर, पाङ्गे र गलौँदी क्षेत्रमा भएको क्षतिको विश्व बैंकको प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्ने भएको छ । सडक विभाग, परामर्शदाता र निर्माण व्यवसायीको टोलीसमेत सहभागी हुने निरीक्षणबाट राजमार्गलाई थप सुरक्षित र व्यवस्थित बनाउने तयारी सरकारको छ ।


