काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा मौलाउँदै गएको गुटगत राजनीति सदनसम्म नै पुगेको छ । रास्वपाको संस्थापन समूह सरकारविरुद्ध सदनमा सरकारविरुद्ध निरन्तर आगो ओकलिरहेका छन् । सरकारलाई असफल पार्न पार्टीकै सांसदहरु लागिपरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नै असन्तुष्ट छन् । रास्वपाभित्र भुसझै भित्रभित्रै सल्किएको आगो अहिले बाहिरैसम्म दन्ननी बल्न थालेको छ ।
झण्डै २ तिहाईको सिट सहित सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र गुटगत राजनीति मौलाउँदै गएको छ । खासगरि रास्वपा संस्थापक समूह र बालेन्द्र शाह समूहबीचको टकराव बढ्दै गएको छ । रास्वपा संस्थापक समूहले सरकारको काम कारबाहीप्रति निरन्तर आलोचना गरि नै रहेका छन् । रसुवा बाढीपछिको विपद् ब्यवस्थापनदेखि उपभोक्ता बजारसम्म सरकार पूर्णतः असफल भएको भन्दै रास्वपाको संस्थापक समूहले निरन्तर संसदमा आवाज उठाइरहेको छ ।
खासगरि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको कार्यशैलीप्रति उनीहरु रुष्ट छन् । सरकारको काम कारबाही र कार्यशैलीको विरोध गर्दै आएका रास्वपा सांसदहरु अब ज्यानकै असुरक्षा भएको भन्दै सदनमा अभिब्यक्ति दिन थालेका छन् ।
विहीबार प्रतिनिधिसभाको बैठकको सून्य समयमा बोल्दै रास्वपा महामन्त्री विपिन आचार्यले सांसदहरुविरुद्ध सिंहदरबारको गेट अगाडिबाटै लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनु अभिब्यक्ति आएको भन्दै कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरे । साथै सांसदलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग गर्दै आफूले प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गरिसकेको उनले बताए । बोल्न नडाराउनु भनी सांसदलाई साहस दिनसमेत उनले संसदलाई आग्रह गरे ।
कसले धम्की दिएको हो रास्वपा सांसदलाई ?
रास्वपा महामन्त्री आचार्यले सांसदलाई नै धम्की दिनेलाई कारबाही गर्न भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गर्दा पनि सुनुवाई नभएपछि रास्वपा आन्तरिक द्वन्द्वको बाछिटा सदनसम्म नै आइपुगेको हो । आचार्यले रास्वपाको कुन सांसदलाई कसले रक्तपात मच्चाउने धम्की दिने को हुन् भन्ने कुरा त सदनलाई जानकारी गराएनन् । तर उनको यो अभिब्यक्ति रास्वपा सचेतक क्रान्तिशिखा धितालालाई दिइएको धम्कीको विरुद्ध हो ।
रास्वपा सचेतक धितालले जेनजी स्मृति दिवसका अवसरमा बानेश्वरमा भएको स्मृति सभालाई लक्षित गर्दै गरेका टिप्पणीविरुद्ध स्वयम् गृहमन्त्री सुदनले नै धम्की दिएको विषय सडकमा छताछुल्ल भइसकेको छ । धितालको टिप्पणीलाई लिएर भदौ २९ गते सिंह दरबार गेट बाहिर जेजनी शहीद परिवार समाजले धर्ना नै दिएको थियो । धितालको टिप्पणीले शहीद तथा घाइते परिवारको भावनामा चोट पुगेको भन्दै उनीहरुले कारबाहीको माग गरेका थिए ।
विहीबार प्रतिनिधिसभा बैठकमा पार्टीका महामन्त्री आचार्यले सांसदलाई धम्की दिनेलाई कारबाहीको माग मात्र होइन, फरक विचार र अभिब्यक्तिको सम्मान हुनुपर्ने बताए । ‘म तिम्रो कुरामा असहमत हुन सक्छु, तर म तिम्रो बोल्ने अधिकार रक्षाका लागि निरन्तर लडिरहन्छु’ भन्ने भनाइ उद्धृत गर्दै आचार्यले संसदमा राखेको अभिब्यक्ति अर्थपूर्ण मानिएको छ ।
रविलाई नै बेवास्ता गर्दैछन् बालेन्द्र
गत भदौ १० गतेको रसुवा बाढीपछि रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरे । विपद्को बेलामा सत्ता पक्ष र विपक्षी भन्ने नहुने भन्दै विपक्षी दलहरुले पनि सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । तर प्रधानमन्त्री शाहले भने विपद्को समयमा पनि विपक्षीको साथ दुत्कार्ने प्रयास गरे ।
यस्तो बेलामा पनि प्रधानमन्त्रीले दलहरुलाई दुत्कारेको भन्दै आलोचना भइरहँदा रास्वपा सभापति लामिछानेल बुधबार पुनः सर्वदलीय बैठक आह्वान गरि विपद् ब्यवस्थापनका लागि संसदीय समिति र संसद बाहिर छुट्टै संयन्त्र बनाउने निर्णय गराए । तर प्रधानमन्त्री शाहले फेरि पनि दलहरुलाई दुत्कार्ने आशंका विपक्षी दलहरुको छ । प्रधानमन्त्री शाहले विपक्षी दलहरुलाई मात्र होइन, सत्तारुढ रास्वपाको संस्थापन पक्षलाई अटेरी गर्दै आएका छन् । सोही कारण नै रास्वपाका सांसदहरु सरकारविरुद्ध आक्रामक बनिरहेका छन् ।


