काठमाडाैँ । पत्रकार वीरेन्द्र जैरु ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित भएका छन् । हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको नाट्यसङ्गीत एवं सञ्चार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा न्यूज २४ टेलिभिजनका चर्चित कार्यक्रम सिधा कुरा जनतासँगको प्रस्तोता जैरुलाई ‘सञ्चार सेवा पुरस्कार’ बाट सम्मानित गरिएको हो ।
स्वर्गीय हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको विशेष समारोहमा जैरुलाई प्रतिष्ठानका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठी लगायतका विशिष्ट अतिथिहरुले दोसल्ला ओढाएर सम्मानपत्र र नगद पुरस्कारसहित सम्मानित गरे ।
विगत एक दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील जैरुले विशेषगरी टेलिभिजन पत्रकारिताका माध्यमबाट मुलुक र जनताका समस्यालाई उजागर गर्दै आएका छन् । समाजमा व्याप्त अन्याय, अत्याचार, थिचोमिचो र सर्वसाधारणका गुनासाहरुलाई प्रत्यक्ष रुपमा उठाएर जनताको सच्चा पहरेदारी र पैरवी गरेबापत उनलाई यो सम्मान अर्पण गरिएको प्रतिष्ठानले जनाएको छ ।
समारोहमा सञ्चार क्षेत्रका अलावा साङ्गीतिक विधातर्फ पनि महत्वपूर्ण सम्मान वितरण गरिएको थियो । ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्यसङ्गीत सम्मान’ बाट वरिष्ठ कलाकार हरिहर शर्मार वरिष्ठ गायक सञ्जय श्रेष्ठलाई सम्मानित गरिएको छ ।
मध्य बानेश्वरस्थित निजि निवासमा आयोजित कार्यक्रममा रिमालको प्रतिमा अनावरण गरिनुका साथै विभिन्न स्रष्टाहरुलाई सम्मान प्रदान गरिएको थियो । रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा बहुआयामिक रङ्गकर्मी स्वर्गीय हरिप्रसाद रिमाल र उनकी धर्मपत्नी कल्याणी रिमालको योगदानलाई अमर राख्न स्थापित यस प्रतिष्ठानले विगत लामो समयदेखि नेपाली नाट्य, सङ्गीत र सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाहरुलाई प्रोत्साहनस्वरुप सम्मानित गर्दै आएको छ ।


