काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा सरकार गठन भएको झण्डै ६ महिना पुगेको छ । भदौ १० को रसुवा बाढीको विपद् ब्यवस्थापनदेखि बजार महंगीले गर्दा सरकारप्रति आम नागरिकको असन्तुष्टी ब्यप्त छ । नागरिक असन्तुष्टीलाई लिएर विभिन्न राजनीतिक दलहरु सरकार विरुद्ध संघर्ष चर्काउने दाउमा रहेका छन् ।
गत वर्ष भदौमा जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट झण्डै दुई तिहाईको सिट हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको नेतृत्व गरिरहेको छ ।
रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहले सरकारको नेतृत्व गरेको ६ महिना नपुग्दै नागरिकमा भने असन्तुष्टी बढ्दै गएको छ । गत वर्ष भदौ २३ र २४ को युवापुस्ताको आन्दोलनमा सहभागी जेनजी समूहकै ठूलो पंक्ति नै सरकारप्रति सन्तुष्ट हुन सकेका छैनन् । सत्तारुढ दल रास्वपाले नै संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा निरन्तर सरकारको काम कारबाही प्रति असन्तुष्टि ब्यक्त गरिरहेका छन् ।
रास्वपाको संस्थापन पक्ष र बालेन्द्र शाह पक्षधरबीच आमनेसामनेको अवस्था आइरहेकाबेला अन्य राजनीतिक दलहरु आन्दोलनको दाउपेचमा छन् । गत फागुन २१ को निर्वाचनबाट पत्तासाफ भएका मधेसवादी लगायत विभिन्न राजनीतिक दलहरु मोर्चा नै बनाएर संघर्ष मजबुत बताउने तयारीमा छन् ।
जेजनी आन्दोलनअघि मधेसको बलियो राजनीतिक शक्ति मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच यसअघि पार्टी नै एकता भइसकेको छ ।
यस्तै, मधेसमा अघिल्लो निर्वाचनबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी लगायत विभिन्न ८ राजनीतिक दलहरुले ‘अग्रगामी मोर्चा’ गठन गरि मधेसमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा संघर्षको तयारीका लागि भेला अभिमुखीकरण गरिरहेका छन् ।
गत शनिवार मात्रै जनकपुरमा मोर्चाले भेला तथा अभिमुखीकरणको आयोजना गरेको थियो । मोर्चाले दशैं तिहार तथा छठपर्व लगत्तै परिस्थिति हेरेर आन्दोलन चर्काउने निर्णय नै गरेको छ ।
उक्त अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल आबद्ध छन् । यो मोर्चा खासगरी मधेसी ममुदायको अधिकार, संघीयता र सुशासनका विषयलाई लिएर आन्दोलन अघि बढाउने तयारीमा छ ।
नेकपासहित कम्युनिस्ट घटकहरु पनि मोर्चाबन्दीमा
मधेसवादी दलहरुसहित विभिन्न नौ दल सम्मिलित अग्रगामी मोर्चा मात्र होइन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अन्य कम्युनिस्ट घटकहरु पनि जनजीविकाको मुद्दालाई उठाएर आन्दोलन चर्काउने तयारीमा छन् । आन्दोलनको तयारी स्वरुप नेकपाले बुद्धिजीवी, नागरिक समाज लगायत विभिन्न पक्षसँग निरन्तर संवाद गरिरहेको छ ।
नेकपाले साना ठूला कम्युनिस्ट घटकहरुका साथै अन्य विपक्षी दलहरुको पनि साथ लिएर सरकारविरुद्ध आन्दोलन चर्काउने तयारीमा छ । यतिबेला रसुवा बाढीको विपद् तथा चाडपर्वहरु शुरु भइसकेकाले दशैंतिहार र छठ लगत्तै उनीहरु पनि आन्दोलन चर्काउने योजनामा छन् । चाडपर्वपछि देशको परिस्थितिलाई हेरेर नयाँ आन्दोलन सृष्टि गर्ने तयारीमा रहेको शुक्रबार मात्रै पार्टी निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।
एमाले र कांग्रेस आन्तरिक अल्झनमा
संसदको दोस्रो तथा तेस्रो ठूलो दल नेपाली कांग्रेस र एमाले भने गत वर्षको युवा पुस्ताको आन्दोलनदेखि नै अन्तरकहलमा छन् । जेजनी विद्रोहपछि कांग्रेसको विशेष महाधिवेशन आयोजना गरि गगन थापाले पार्टी नेतृत्व हत्याएपछि कांग्रेसमा अन्तरसंघर्ष चुलिएको हो ।
थापा नेतृत्वको संस्थापन समूहले असोज १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरि तालिका अघि सारेका छन् । महाधिवेशन अन्तर्गत शनिवार वडा अधिवेशन गरिँदैछ । तर निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने गगन नेतृत्व अस्वीकार गर्दै मंसिरमा छुट्टै महाधिवेशन गर्ने गरि कार्यतालिका अघि सारेको छ ।
महाविधेशन लगत्तै कांग्रेसको राजनीतिक कित्ता स्पष्ट हुने भएकाले त्यसपछि आन्दोलनको रुप अघि बढाउने देखिन्छ । यता, नेकपा एमाले पनि पार्टी पुनर्गठनको विवादमा अल्झिएकोले पार्टीको आन्तरिक समस्या सुल्झिएपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिने निश्चित छ ।
नेकपा र मधेसवादी दल सम्मिलित नौ दलीय मोर्चाले चाडपर्वपछि आन्दोलन चर्काउने तयारी गरेको छ । यतिबेला काठमाडौं उपत्यकामै खाना पकाउने एलपी ग्यासको अभाव कायमै छ । बजारमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य दिनप्रतिदिन बढिरहेको छ । यिनै जनजीविकाको मुद्दालाई लिएर नागरिकलाई आन्दोलनमा उठाउन सहज हुने विश्लेषण दलहरुले गररहेका छन् ।


