News 24 Television
जेनजी सांसदलाई बालेनको सुझाव : साइड बिजनेस पनि गर्नुस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जेनजी सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी, उद्यम र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

सिंहदरबारमा शुक्रवार भएको अन्तरक्रियामा डिजिटलाइजेसन, एआई, स्टार्टअप, खेलकुद, कला र विदेशमा रहेका युवाका मुद्दालाई संसदको प्राथमिकतामा राख्न प्रधानमन्त्रीले सुझाव दिएका छन् । 

प्रधानमन्त्री बालेन्द्र साहले जेन–जी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी, उद्यम र अवसर सिर्जना गर्ने अभियानमा सक्रिय हुन आग्रह गरेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको अन्तरक्रियामा प्रधानमन्त्री साहले युवा पुस्ताका मुद्दालाई संसदको प्राथमिक एजेण्डा बनाउन सुझाव दिएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालका अनुसार प्रधानमन्त्रीले डिजिटलाइजेसन, ई–गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका समस्या संसदमा प्रभावकारी ढंगले उठाउन आग्रह गरेका थिए । 

प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको भन्दै जेन–जी सांसदबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताएको सांसदहरुको भनाइ छ । 

राजनीतिलाई मात्रै पेशा नबनाई सांसदहरूले आफ्नो छुट्टै व्यवसाय वा पेशागत आधार निर्माण गर्नुपर्ने धारणा पनि प्रधानमन्त्रीले राखेको सांसद केपी खनालले बताए । 

युवालाई उद्यमशीलतामा जोड्ने, साइड बिजनेसमार्फत् आत्मनिर्भर बनाउने तथा स्टार्टअप र सूचना प्रविधिको क्षेत्रमा अवसर विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । सांसदहरूले नेपालमै आईटी व्यवसाय दर्ता र सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने माग राखेका थिए । 

प्रधानमन्त्रीले व्यवसाय दर्ताका क्रममा समस्या आए सरकारसँग समन्वय गर्न आग्रह गर्दै सहजीकरणका लागि सरकार तयार रहेको बताएका छन् । बैंकिङ कर्जा प्रक्रिया सहज बनाउने, नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा पनि छलफल भएको छ । 

चासोमा जेन–जी आन्दोलनका पक्राउ, घाइते र मृतक 

अन्तरक्रियामा जेन–जी आन्दोलनका क्रममा पक्राउ परेका, घाइते तथा मृत्यु भएकाहरूको विषयसमेत उठाइएको थियो । 

सांसद मनिष खनालका अनुसार गृह मन्त्रालयअन्तर्गत गठित अध्ययन समितिले पक्राउ परेकाहरूका मुद्दा वर्गीकरण गरिरहेको छ । 

विद्यमान कानुनअनुसार फिर्ता लिन मिल्ने मुद्दाको प्रक्रिया अघि बढाइने भए पनि गम्भीर अपराध, हातहतियार, ज्यानसम्बन्धी कसुर तथा लुटपाटमा संलग्न देखिएकाहरूको कानुनी प्रक्रिया भने कायम रहने उनले बताए । 

युवा मुद्दा फरक ढंगले उठाउन आग्रह

प्रधानमन्त्रीले विद्यालय तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी, विदेशमा रहेका युवा, खेलाडी र कला क्षेत्रमा आबद्ध युवाका समस्या संसदको मूल एजेण्डा बनाउन आग्रह गरेकाक छन् ।  

स्थलगत अध्ययन, सूचना–प्रविधिको प्रयोग र समस्या समाधानमुखी सोच अपनाउँदै पुराना अव्यावहारिक सोच त्याग्न पनि प्रधानमन्त्रीले सुझाव दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सरकारका कामकारबाहीमा कमजोरी देखिए रचनात्मक आलोचना र सुझाव दिन तथा समाधानका लागि सरकारसँग समन्वय गर्न प्रधानमन्त्रीले सांसदहरूलाई आग्रह गरेका छन् । 

अन्तरक्रियामा सहभागी जेनजी सांसदहरूले पनि युवाका मुद्दालाई संसदमा प्रभावकारी रूपमा उठाउँदै स्वदेशमै अवसर र आत्मनिर्भरताको वातावरण निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update