काठमाडौं । बीआईए फाउन्डेसन तथा रेपा नेपालका संस्थापक छोग्याल रिन्पोछेले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेका छन् । रिन्पोछेले शुक्रबार काठमाडौंस्थित परराष्ट्र मन्त्रालयको कार्यालय पुगेर उक्त रकम राहत कोषका लागि हस्तान्तरण गरेका हुन् ।
रसुवा र नुवाकोटमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि बीआईए फाउन्डेसन र रेपा नेपालले यसअघि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । दुवै संस्थाले प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री वितरण गरिरहेको छ ।
परराष्ट्रमन्त्रीसँगको भेटमा रिन्पोछेले विपत्तिबाट प्रभावित क्षेत्रको अवस्थाबारे चासो व्यक्त गर्दै राहतसँगै पुनर्निर्माण र पुनःस्थापनामा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रभावित समुदायलाई दीर्घकालीन सहयोग पु¥याउन आफूले सक्ने सबै प्रकारका सहयोग गर्न इच्छुक रहेको रिन्पोछेको भनाइ छ । दुवै संस्था मानवीय तथा समुदाय केन्द्रित सामाजिक गतिविधिमा सक्रिय छन् ।


