News 24 Television
पहिरो पीडित आफन्तको घरमा, चिराले झन चिन्ता

ओखलढुङ्गा । ओखलढुंगाको सिद्दिचरण नगरपालिका–५ निगालेमा घरमुनिबाट गएको पहिरोले बस्ती जोखिममा परेको छ । पहिरोका कारण आठ घर प्रत्यक्ष जोखिममा छन् भने थप तीन घरसमेत जोखिममा रहेको स्थानीयले बताएका छन् । 

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ निगालेमा सडकबाट झरेको पहिरोले घरहरू रहेको बस्तीको तलपट्टिको जमिन नै कमजोर बनाएको छ । पहिरो गएको स्थानभन्दा माथि रहेका घर आसपासको जमिनमा देखिएका चिराले स्थानीयको चिन्ता थपिएको छ । पहिरो थप फैलिने उच्च सम्भावना रहेकाले त्रासमा रहेका परिवार सुरक्षित बसोबासको विकल्प खोजिरहेका छन् । 

पहिरो गएको लामो समय बितिसक्दा पनि जोखिम हटेको छैन । घरमुनिको जमिन कमजोर बनेको र बस्ती आसपास चिरा देखिएकाले सामान्य अवस्थामा घरमै फर्किएर बस्न सकिने अवस्था छैन । तत्कालको जोखिमबाट जोगिन घर छाडेका परिवारको दैनिकी अहिले अस्थिर बनेको छ ।

पहिरोको जोखिम कायमै रहेसम्म प्रभाबित परिवारले कहिलेसम्म आफन्तको घर वा पालमा बसेर दैनिकी चलाउने भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ । जोखिम मोलेर घर फर्किएर बस्ने कि अन्यत्र सर्ने भन्नेमा यहाँका प्रभावित परिवार दोधारमा छन् । 

त्यसैले तत्कालीन राहत र अस्थायी बसोबाससँगै जोखिमको प्राविधिक मूल्याङ्कन, सुरक्षित स्थानको पहिचान र दीर्घकालीन पुनस्र्थापनाको विषयसमेत जोडिएको छ । जोखिमयुक्त भू–भागमा पुनः फर्केर बस्नुपर्ने अवस्था नआओस् भन्दै प्रभावित परिवारले सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था गर्न माग गरेका छन्।

यता, सिद्धिचरण नगरपालिकाले भने निगालेको अवस्थाबारे आवश्यक पहल भइरहेको जनाएको छ । पहिरोका कारण घर छाडेर बस्न बाध्य परिवारका लागि अहिले तत्कालको आश्रयभन्दा सुरक्षित र दीर्घकालीन बसोबासको विषय मुख्य बनेको छ ।

घरमुनिको पहिरो र बस्तीमा देखिएका चिराले थातथलोमै सुरक्षित भएर बस्न सकिने अवस्था नरहेपछि उनीहरू आफ्नो घर मात्रै होइन, सुरक्षित भविष्यको समेत पर्खाइमा छन् ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update