News 24 Television
महाधिवेशनमा होमिए गगन, फर्किएनन् देउवा

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित भई नेपाली कांग्रेसको नेतृत्व सम्हाल्दै आएको समूह शनिवारदेखि औपचारिक रुपमै महाधिवेशनमा होमिएको छ । तर कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा समूहले पनि संस्थापन पक्षले तय गरेको महाविधेशन प्रक्रियाबाटै बाहिरिएको छ । 

यहि असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा तय गरिएको १५ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसको संस्थापन समूह शनिवारदेखि महाधिवेशनमा होमिएको छ । पार्टीको विधिविधान अनुसार महाधिवेशन गर्नेपर्ने बाध्यता रहेको भन्दै विशेष महाविधेशनबाट निर्वाचित समूह महाधिवेशनमा होमिए पनि पूर्व सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनप्रक्रियाबाटै अलग छ । 

आगामी मंसिरमा महाधिवेशन गर्ने गरि छुट्टै तालिका बनाएर अघि बढेको देउवा समूहले यहि असोज १५ गते वडा अधिवेशन आह्वान गरेको छ । शनिवारबारदेखि शुरु भएको संस्थापन पक्षको अधिवेशनलाई प्रभावित गर्ने गरि कार्यकालिका अघि सारेपछि देउवा पक्षधरले वडा अधिवेशनमा सहभागिता जनाएका छैनन् । 

नेपाली कांग्रेसका सभापति गगन थापा भने असन्तुष्ट सबै पक्षलाई अधिवेशन प्रक्रियामा सहभागि हुन अपिल गरिरहेका छन् । कांग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउने र संविधानको आधारभूत मूल्य र मान्यताहरुलाई जगेर्ना गर्ने थापाको संकल्प छ । 

असुन्तष्ट पक्षलाई समेत समेट्नका लागि भन्दै विशेष महाधिवेशनमा सहभागी भएका १४ औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको केन्द्रीय सदस्यहरुलाई पनि समायोजन गर्ने प्रस्ताव कांग्रेसको पछिल्लो केन्द्रीय कार्य समिति बैठकले गरेको थियो । तत्कालै देउवा समूहले चुनदेवीबाट संस्थापनपक्षको प्रस्ताव अस्वीकार गर्दै विशेष महाधिवेशन पक्षले आह्वान गरेको महाधिवेशनमा भाग नलिने घोषणा गर्यो । यो घोषणापछि देउवा समूहमै फाटो आयो । 

थापाको लचकतालाई स्वीकार गरि महाधिवेशनमा भाग लिएर पार्टी जोगाउनुपर्ने पक्षमा देउवाकै एउटा समूह देखियो । तर देउवा डेग चलेनन् । आफ्नो समूहको नेतृत्व गर्ने जिम्मेवारी दिएका डा. शशांक कोइरालाले आफूहरु ओरिजिनल कांग्रेस भएको दावी गर्दै गगन पक्षको कार्यक्रम बहिष्कार गर्न उर्दी जारी गरे ।

कोइरालाको उर्दीपछि गगनसँग असन्तुष्ट पक्षकै ३५ भन्दा बढी नेता बिहीबार सानेपा फर्किए । कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला ठूलो पंक्तिले देउवाको साथ छाडे पनि देउवा आफ्नै अडानमा छन् । 

बदल्न र सम्हाल्न सक्ने युवाहरु जिम्मेवारीमा आउने दाबी

कांग्रेस सभापति थापाले भने अब पार्टी महाधिवेशनमा होमिसकेको भन्दै पार्टीलाई बदल्न सक्ने र जस्तोसुकै जोखिममा पनि सम्हाल्न सक्न युवाहरु नयाँ जिम्मेवारीका साथ आउने दाबी गरेका छन् । 

नयाँ पुस्ताले नयाँ आकांक्षाहरु तीब्र विकासको चाहना राखेको उल्लेख गर्दै उनले समयको माग अनुसार कांग्रेस बदलिएर अघि बढ्ने बताएका छन् । नयाँ पुस्ताको चाहना पूरा गर्न सक्ने अनि, देशलाई सम्हाल्न र बदल्न पनि सक्ने कांग्रेस बनाउने गगनको प्रण छ । 

आफूहरु महाधिवेशनमा होमिसकेको भए पनि अझै असन्तुष्ट पक्षलाई मिलाएरै लैजाने पक्षमा रहको थापाको भनाई छ । यो महाधिवेशनमा नमिलेका मनहरुलाई एउटै बनाउनुपर्ने भन्दै हिजोका कुराहरुलाई बिर्सिएर नयाँ समझदारीका साथ अघि बढ्न नेता कार्यकर्ताहरुलाई थापाले अग्रह गरेका छन् । 

महाधिवशेन अन्तर्गत ६ हजार ७ सय ४३ वडामा वडा तहको निर्वाचन कार्यक्रमसँगै क्षेत्रीय प्रतिनिधिहरु चयन हुँदैछन् ।  संविधान दिवसको अवसर पारेर महाधिवेशनमा होमिएको कांग्रेस विशेष महाधिवेशन पक्षधरले नेपाली कांग्रेसलाई मात्र होइन, देशलाई नै जोगाउने संकल्प गरेको छ । 

हिजोको भन्दा अझै बढी भरोसा गर्न सक्ने, हिजोको भन्दा जिम्मेवारी र जोखिम उठाउन सक्ने पार्टीका रुपमा महाधिवेशनबाट नेपाली कांग्रेसलाई लैजाने संकल्प गरेका थापाले कस्तो जोखिम उठाउलान् ? देउवा समूहलाई आफूसँगै हिडाउन सक्लान् कि नसक्लान् त्यो भने असोज १६ गते मात्रै स्पष्ट हुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update