News 24 Television
कांग्रेस विभाजनको डिलमा, पूर्णबहादुर कता ?

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत संस्थापन समूह निर्वाचन प्रक्रियामा होमिएको छ । तर पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने छुट्टै महाधिशन आह्वान गरि संस्थापनको महाधिवेशन प्रक्रिया बहिष्कार गरेको छ । महाधिवेशनको सम्मुखमा नेता कार्यकर्ताहरुबीच कित्ताकाट भइरहँदा आफ्ना केही मागसहित गगन थापासँग नजिक हुन खोजेका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्का एकाएक यूटर्न भएका छन् । 

गत भदौको युवा पुस्ताको आन्दोलनपछि विशेष महाधिवेशनबाट गगन कुमार थापाले नेपाली कांग्रेसको नेतृत्व सम्हालिरहेका छन् । थापाकै नेतृत्वमा गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस निर्वाचनमा होमिएको थियो । पार्टीको बैधानिकताको विवादकै बीच संसदीय चुनावमा होमिएको कांग्रेसमा चुनावी परिणामपछि पुनः खटपट चुलिएको हो । 

निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत गगन नेतृत्वको कांग्रेसले बैधानिकता पाएपछि पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । मुद्दा पुनरावलोकन गर्ने गरि सर्वोच्चबाट निस्सा पाएकाले पार्टी बैधानिकताको मुद्दा अहिले पनि अदालतमा विचाराधिन छ । 

यता, संस्थापन पक्ष भने यतिबेला पार्टीको १५ औं महाधिवेशनमा होमिइसकेको छ । असन्तुष्ट पक्षलाई समेत समेट्ने गरि १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई समेत समायोजन गर्ने प्रस्तावपछि कांग्रेसमा नयाँ कित्ताकाट शुरु भयो । निवर्तमान कार्यवाहक सभापति खड्का पनि आफ्ना केही मागसहित देउवा गुटलाई छाडेर गगनसँग नजिकिन खोजेका थिए । उनकै समूहका झण्डै तीन दर्जन नेता÷कार्यकर्ता सानेपा फर्किए । 

पूर्णबहादुर महाधिवेशनबाट बाहिर

देउवा गुटको नेतृत्व डा.शशांक कोइरालालाई दिएपछि देउबाबाट टाढिएका खड्काले एकाएक यूटर्न लिएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैधानिकताको मुद्दा विचाराधिन रहेकै अवस्थामा कांग्रेसको महाधिवेशनमा भाग लिनु अनैतिक काम हुने भन्दै खड्काले आफू महाधिवेशनमा सहभागी नभएको स्पष्ट पारेका छन् । 

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गगनकै नेतृत्वमा प्रारम्भ भएको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने भन्दै महाधिवेशनमा सहभागी नभएको बताएका छन् । फागुन २१ को संसदीय निर्वाचनमा पनि गगनको हातबाट टिकट लिएर चुनाव लड्दा अनैतिक हुने भएकाले आफूले चुनाव नलडेको समेत खड्काले स्मरण गराएका छन् । 

कांग्रेस विभाजनको संकेत 

कांग्रेसको जारी महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी नभएको घोषणा गरेका नेता खड्काले पार्टी फुटको स्पष्ट संकेत गरेका छन् । निर्वाचन रोक्न माग गर्दै दिएको निवेदनमा प्रधानन्यायाधीश रहेको पूर्ण इजलासबाट दिइएको पुनरावलोकनको आदेशलाई समेत सेन्सर नै गर्ने गरि महाधिबेशन रोक्का गर्न आवश्यक नदेखिएको भन्दै रिट जारी नगर्दा काँग्रेसको नाममा अलग अलग दुईवटा  महाधिबेशन हुने अवस्था सृजना भएको खड्काको भनाई छ । 

त्यसैले अब यदि कुनै चमत्कार नभए नेपाली काँग्रेस पार्टी बिभाजनको अन्तिम डिलमा पुगेको अवस्था रहेको खड्काले स्पष्ट गरेका छन् । तर पनि पार्टी विभाजन रोक्न अन्तिम प्रयास गर्ने उनको भनाई छ । सर्वाेच्चमा बिचाराधिन रहेका नेपाली काँग्रेसको पुनरावलोकनको मुद्दालाई अग्राधिकारमा राख्ने प्रबन्ध मिलाएर यथाशीघ्र अन्तिम फैसला गर्न पनि खड्काले समाजिक सञ्जालबाटै सर्वोच्चलाई गुहारेका छन् । 

सर्वोच्चको फैसला स्वीकार्य हुने खड्काको भनाई छ । तर जोखिम बहन गर्न सक्ने युवा नेतृत्वलाई वडादेखि केन्द्रसम्म नै जिम्मेवारीमा ल्याउन चाहेको भन्दै महाधिवेशनमा होमिएका गगन र आफू नै सर्वेसर्वा ठान्ने देउवाबीचको लडाईँ अब अदालतको फैसलाले पनि नरोक्ने देखिएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update