काठमाडौं । जंगली जनावरबाट अन्नबाली जोगाउन कठिन भएपछि मकवानपुरको भीमफेदीका किसान सिल्भर डलर खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमै उत्पादन, राम्रो बजार र दीर्घकालीन आम्दानीका कारण यसको व्यावसायिक खेती बढ्दै गएको छ ।
मकै, गहुँलगायत अन्नबाली जंगली जनावरले नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेका किसानले खेतीको नयाँ विकल्प रोजेका छन् । परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि किसानहरू अहिले सिल्भर डलर अर्थात् युकालिप्टस खेतीतर्फ आकर्षित भएका हुन् ।
कोगटेका किसान रमेश रानामगरले ३१ रोपनी क्षेत्रफलमा करिब २ हजार सिल्भर डलरका बिरुवा लगाएका छन् । एउटा बिरुवाको मूल्य करिब १ हजार ४ सय रुपैयाँ पर्ने उनले बताए । ठूलो लगानीमा सुरु गरिएको खेतीबाट ७ देखि ८ महिनामै उत्पादन लिन सकिने, बजारमा मागसमेत राम्रो रहेको र जनवारबाट बचाउनु पर्ने झण्झट पनि नरहेको किसान रानामगरको भनाइ छ ।
हाल कोगटेमा चार किसानले करिब एक सय रोपनी क्षेत्रफलमा सिल्भर डलरको व्यावसायिक खेती गरिरहेका छन् ।
सात–आठ महिनामै उत्पादन
सिल्भर डलर खेतीप्रति किसानको आकर्षणको कारण छोटो समयमै उत्पादन लिन सकिनु हो । किसानका अनुसार रोपेको ७ देखि ८ महिनापछि पहिलोपटक हाँगा काट्न सकिन्छ । त्यसपछि गोडमेल र स्याहारअनुसार प्रत्येक एक–दुई महिनामा उत्पादन लिन सकिन्छ । अर्का किसान वासुदेव चुनी मगरले गत फागुनमा तीन सय बिरुवा खरिद गरी चार रोपनीमा खेती सुरु गरेका हुन् । करिब ४ लाख ४७ हजार रुपैयाँ लगानी गरेका उनले हालसम्म दुई सय किलोग्रामभन्दा बढी सिल्भर डलर बिक्री गरिसकेका छन् । किसानका अनुसार यसको मूल्य प्रतिकिलो करिब ३ सय रुपैयाँसम्म बारीबाटै बिक्री हुन्छ ।
एउटै बोटबाट दशकौँसम्म आम्दानी
सिल्भर डलरको अर्को विशेषता एउटै बोटबाट लामो समयसम्म उत्पादन लिन सकिनु हो । राम्रो मलजल, गोडमेल र स्याहार गर्न सके दशकौँसम्म हाँगा उत्पादन गर्न सकिने किसानको भनाइ छ । यसको आयु सामान्यतया ३० देखि ५० वर्षसम्म हुने बताइन्छ । यद्यपि सुरुवाती लगानी भने किसानका लागि चुनौतीपूर्ण छ । महँगो बिरुवा, जग्गा तयारी, सिँचाइ, गोडमेललगायतका खर्चका कारण ठूलो क्षेत्रफलमा खेती विस्तार गर्न पर्याप्त पूँजी आवश्यक पर्छ ।
सिल्भर डलर : सजावटदेखि अरोमा थेरापीसम्म
अस्ट्रेलियाको रैथाने मानिने सिल्भर डलर सुगन्धित वनस्पति हो । चाँदीजस्तो देखिने गोलाकार पात यसको प्रमुख विशेषता हो । पातसहितको हाँगा बुके, माला, घर सजावट तथा होटल, रेस्टुरेन्ट र विभिन्न समारोहमा प्रयोग हुने किसान बताउँछन् ।
यसका पातबाट सुगन्धित तेल निकालेर अरोमा थेरापीमा समेत प्रयोग गरिन्छ । एक हजारदेखि १ हजार ५ सय मिटर उचाइका चिसो मध्यपहाडी क्षेत्रमा यसको व्यावसायिक सम्भावना रहेको किसान तथा वनस्पति विज्ञको भनाइ छ ।
मागभन्दा कम उत्पादन
कोगटका किसानका अनुसार सिल्भर डलर बिक्रीका लागि बजार खोजिरहनुपर्ने समस्या छैन । उत्पादित वस्तु बारीबाटै बिक्री हुने गरेको उनीहरूको भनाइ छ । तर मागअनुसार उत्पादन गर्न नसकिएको किसान बताउँछन् ।
उत्पादनको गुणस्तर, नियमित आपूर्ति र बजार व्यवस्थापनमा ध्यान दिन सके यसको बजार अझ विस्तार हुन सक्ने किसान बताउँछन् ।
व्यावसायिक प्रवद्र्धन गर्ने तयारीमा गाउँपालिका
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले कोगटेमा सिल्भर डलर खेतीप्रति किसानको आकर्षण बढ्दै गएको बताए । गाउँपालिकाले खेतीलाई व्यावसायिक रूपमा प्रवद्र्धन र प्रोत्साहन गर्ने योजना बनाएको उनको भनाइ छ ।
किसान भने महँगो बिरुवासँगै सरकारी अनुदान र प्राविधिक सहयोगको अभाव रहेको बताउँछन् । खेती प्रविधि, रोग–कीरा नियन्त्रण, कटाइ तथा बजार व्यवस्थापनबारे पर्याप्त जानकारी नहुँदा नयाँ किसानलाई समस्या हुने उनीहरूको भनाइ छ ।
जंगली जनावरबाट अन्नबाली जोगाउन कठिन भइरहेका बेला सिल्भर डलर खेती कोगटका किसानका लागि परम्परागत खेतीको विकल्प बन्दै गएको छ । तर यसको दीर्घकालीन विस्तारका लागि उत्पादनसँगै गुणस्तरीय बिरुवा, प्राविधिक सहयोग, सरकारी प्रोत्साहन र स्थिर बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ ।


