काठमाडौं । सामसङ नेपालले Galaxy S26 सिरिजअन्तर्गत नयाँ स्मार्टफोन Galaxy S26 FE नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार One UI 9 सहित बजारमा आउने यो Galaxy S26 सिरिजको पहिलो स्मार्टफोन हो ।
पातलो र हल्का डिजाइनमा तयार गरिएको Galaxy S26 FE मा सुधारिएको ट्रिपल रियर क्यामेरा, उन्नत इमेज प्रोसेसिङ तथा ३ गुणा अप्टिकल जुम उपलब्ध छ । फोनमा Nightography सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।
नयाँ फोनमा यसअघि Galaxy का फोल्डेबल फोनमा उपलब्ध My FanCam सुविधा पनि राखिएको छ । यसले भिडियो खिच्दा छनोट गरिएको व्यक्तिलाई स्वचालित रूपमा ट्र्याक गरी फ्रेममा केन्द्रित राख्ने कम्पनीको दाबी छ । त्यस्तै, Horizontal Lock सहितको Super Steady ले चलायमान दृश्यको भिडियो स्थिर बनाउन सहयोग गर्नेछ ।
Galaxy S26 FE मा नयाँ Galaxy AI सुविधासँगै One UI 9 उपलब्ध छ । Galaxy S25 सिरिजमा प्रस्तुत गरिएको Now Brief लाई थप व्यक्तिगत बनाइएको कम्पनीले जनाएको छ । यसमा मौसम, स्वास्थ्यलगायत आफूलाई आवश्यक जानकारीका ब्रीफिङ कार्ड छनोट गर्न सकिनेछ ।
नेपालमा Galaxy S26 FE को ८/२५६ जीबी भेरियन्टको मूल्य रु १ लाख १९ हजार ९९९ तोकिएको छ । यो फोन Pistachio, Graphite र Blueberry रंगमा उपलब्ध हुनेछ ।
ग्राहकले ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ६ महिनाको Google AI Pro Subscription निःशुल्क तथा २४ महिनाको EMI सुविधा पाउनेछन् । EMI मासिक रु ३ हजार २५६ बाट सुरु हुने सामसङले जनाएको छ ।


