News 24 Television
सलामीबिनै अमेरिका उड्दै प्रधानमन्त्री बालेन, पहिलो विदेश भ्रमणमै तोडिँदै पुरानो परम्परा
File Photo

प्रधानमन्त्री बालेन शाह आज साँझ संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहले उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन्।

प्रधानमन्त्री शाह साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।

तर, प्रधानमन्त्रीको यसपटकको विदेश भ्रमण विगतभन्दा केही फरक हुने भएको छ। विदेश जाने प्रधानमन्त्रीलाई विमानस्थलमा नेपाली सेनाको टुकडीले सलामी दिने तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा औपचारिक बिदाइ गर्ने परम्परा यसपटक नहुने भएको हो।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार विमानस्थलमा सलामी र औपचारिक बिदाइको कुनै कार्यक्रम तय गरिएको छैन। यसअघि प्रधानमन्त्री विदेश जाँदा सभामुख, उपसभामुख, मन्त्री तथा उच्च सरकारी अधिकारीहरू विमानस्थल पुग्ने र भीआईपी लाउन्जमा औपचारिक बिदाइ गर्ने प्रचलन थियो।

यसपटक प्रधानमन्त्री शाह भीआईपी लाउन्जतर्फबाटै विमानस्थल प्रवेश गरी उडानमा सहभागी हुने तयारीमा छन्। सुरक्षा निकायलाई पनि प्रधानमन्त्रीको भ्रमणसम्बन्धी जानकारी गराइसकिएको छ।

प्रधानमन्त्री शाह साँझ ६ बजेर २० मिनेटमा बालुवाटारस्थित सरकारी निवासबाट विमानस्थलका लागि निस्कनेछन्।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो। भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्। परराष्ट्रमन्त्री शिशिर खनालसहितको प्रतिनिधिमण्डल पनि भ्रमणमा रहनेछ।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। न्यूयोर्कमा रहँदा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update