News 24 Television
ट्राफिक प्रहरीको ब्यवहारप्रति सांसदको प्रश्न

काठमाडौं । सोमवार त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादका क्रममा बसमा आगो लगाएर चालकको मत्यु भएको विषय संसदमा पनि उठेको छ । 

ट्राफिक नियम मिचेको भन्दै जरिवाना तिराउन खोज्दा भएको विवादका क्रममा बसका चालकले आफैले चलाएको बसमा आगो लगाएपछि चालकको मृत्यु भएको थियो । यातायात व्यवस्थापनमा जरिवाना र कारबाहीको प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । यहि घटनालाई लिएर यातायात क्षेत्र आन्दोलित बनेको छ । 

गत असार २५ गते पठाओ राइडर २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका थिए । पार्किङ्को विषयमा महानगर प्रहरीसँग भएको विवादका क्रममा आवेशमा आएर नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका थिए । 

सोमबार पुनः सोही प्रकृतिको घटना त्रिपुरेश्वरमा नै भयो । ट्राफिक प्रहरीसँगको विवादको क्रममा आवेशमा आएका बस चालक मकवानपुर इन्द्रसरोबर गाउँपालिका ३ घर भई काठमाडौंमा बस्दै आएका २५ वर्षीय अर्जुन दोङ तामाङले तत्कालै आफैले चलाएको बसमा आगो लगाए । 

शरीरको ९० प्रतिशत भाग जलेका अर्जुनको सोमवार बेलुका नै कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भयो । ट्राफिक प्रहरीसँगको विवादमा पटक पटक यस्ता घटनाहरु दोहोरिन थालेपछि सदनमा ट्राफिक ब्यवस्थापनका क्रममा लिने गरिएको जरिवानाको विषय उठेको छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल रास्वपाकै सांसदहहरुले त्रिपुरेश्वर घटनालाई सदनमा जोडदार रुपले उठाएका छन् । 

सडकमा यात्री वा चालकहरूसँग ट्राफिक प्रहरीले गर्ने ब्यवहार, चालकको आत्मसम्मान तथा यातायात व्यवस्थापनका क्रममा लिने गरिएको जरिवाना र कारबाही प्रक्रियालाई परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । 

साथै उनीहरुले लाइसेन्स र ब्लुकबुक हेरेर सडकमै तत्कालै फैसला गर्नुभन्दा कारबाहीको प्रक्रियालाई ब्यस्थित गर्नुपर्नेमा पनि उनीहरुको जोड छ । 

नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह 

विपक्षी दलका सांसदहरुले पनि त्रिपुरेश्वर घटनाका विषय संसदमा उठाएका छन् । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले त्रिपुरेश्वरमा सवारी चालकले ट्राफिकसँगको विवादपछि बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेको घटना गम्भीर विषय भएको बताइन् । युवाहरू निराशाको तहमा पुग्नु र यस्ता घटना दोहोरिनु सामान्य विषय नभएको उनको भनाई छ । 

नेकपाले ग¥यो न्यायिक छानबिनको माग 

त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको विषयमा नेपाली कम्युनिस्ट पार्टीले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ । मंगलबारको प्रतिनिधिसभको बैकठमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् । 

ट्राफिक प्रहरीसँगको विवादमा चालकले ट्राफिक प्रहरीबाट दबाब महशुस गरेको र आफूले गल्ती नगरेको बरु मर्न तयार हुने भन्दै अक्रोश पोखेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

ट्राफिक प्रहरीसँगको विवादकै क्रममा उनले गाडी धनीलाई समेत फोन गरेर आफूमाथि अन्याय भएको भन्दै मर्न तयार भएको बताएका थिए । यस्ता घटनाहरु पटक पटक दोहोरिन थालेपछि ट्राफिक प्रहरी र नियमनकारी निकायहरू मर्यादित, र अनुशासित हुनुपर्ने आवाज चौतर्फी उठेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update