News 24 Television
ओली–देउवा हठले एमाले र कांग्रेसमा संकट !

काठमाडौँ । जेनजी आन्दोलनपछिको बदलिँदो राजनीतिक परिस्थिति र पार्टी पुनर्गठनको चर्को दबाबका बाबजुद केपी शर्मा ओली र शेरबहादुर देउवाले नेतृत्व छाड्ने छाँट देखाएनन् । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देखाएको यो कठोर अडानले दुवै पार्टीभित्र गम्भीर संकट र अन्योल सिर्जना गरेको प्रष्ट देखिन्छ । 

पार्टीमा हैकम जमाउँदै ओली 

गत वर्षको भदौ २४ पछि भूमिगत भएका अध्यक्ष ओली सार्वजनिक भएलगत्तैको पार्टी बैठकमा आफ्नो राजीनामाको माग ठाडै अस्वीकार गर्दै प्रस्तुत भए । फागुन २१ को निर्वाचनमा एमालेले नराम्रो पराजय भोगे पनि ओलीले आफ्नो समीक्षा शैली भने अझै फेर्न सकेनन् । पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि छलफल नै नगराई ओलीले आफ्नो प्रतिरक्षा गरेका छन् । 

रामबहादुर थापा, शंकर पोखरेल र प्रदीप ज्ञवालीका फरक प्रतिवेदनलाई मर्ज गरेर उनले असन्तुष्टिमाथि अंकुश लगाए । यतिमा मात्रै नरोकिएका ओलीले असोज ५ देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा शंकर पोखरेल, योगेश भट्टराई र कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरूको अभिव्यक्तिमा रोक लगाए । महासचिव पोखरेललाई समेत कार्यक्रम सञ्चालन गर्नबाट रोकेर ओलीले एकलौटी ढंगले बैठक चलाएको एमाले वृत्तमा चर्चा छ । विरोधी स्वरहरूलाई पेलेरै अघि बढ्ने ओलीको कार्यशैलीका कारण पछिल्ला बैठकहरूमा नेताहरूले नेतृत्वको विरोध गर्नै छाडेको बताइन्छ । यही कारण ओलीको राजीनामाको एजेन्डा बिना नै केन्द्रीय कमिटी बैठक समापनतर्फ उन्मुख भएको प्रष्ट छ । 

कानूनी दाउपेचमा देउवा, तर दबदबा गगनकै !

उता, नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पनि नेतृत्व छोड्ने पक्षमा देखिएका छैनन् । तर, ओलीभन्दा केही भिन्न बाटो अपनाउँदै देउवाले दबाबलाई चिर्न अदालतको सहारा लिएका छन् । तत्कालीन समयमा एमालेसँगको सत्ता साझेदारीमा व्यस्त रहेका देउवाले जेनजी आन्दोलनका क्रममा भएको भौतिक आक्रमण र दबाबबीच उपचारको बाहानामा केही समय सिंगापुरमा बिताए । जसले फागुन २१ को निर्वाचन उनका लागि सहजै टार्‍योे । तर स्वदेश फर्किएपछि उनले गगन पक्षले पाएको पार्टीको आधिकारिकता खोस्न निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिन पुगे ।

गत पुसको विशेष महाधिवेशनबाट गगन थापा पक्षले कांग्रेसको नेतृत्व सम्हालिसकेको छ । देउवाले आगामी मंसिरमा महाधिवेशनको मिति तोके पनि गगन पक्षले अघि बढाइसकेको महाधिवेशन अभियान रोक्न उनी असफल देखिएका छन् । गगन पक्षले असोज १६ देखि महाधिवेशन गर्ने तयारी गरेपछि देउवा पक्षले एक्लै गर्ने महाधिवेशनको औचित्यमाथि प्रश्न उठेको छ । 

किन नेतृत्व छाड्न तयार छैनन् ओली–देउवा ?

ओली र देउवा नेपालको राजनीतिमा लामो समय रुझिसकेका पात्र हुन् । लामो समय सत्ताको स्वाद र पार्टीको नेतृत्वमा हैकम जमाएका उनीहरु राजनीतिमा उमेर र विधानलाई कुनै सिमाका रुपमा लिने मनस्थितिमा देखिएका छैन्न् । जेनजी आन्दोलनमा भोगेको क्षति र बदनामीलाई उनीहरु अझै सक्रिय राजनीतिमै रहेर भविष्यमा सत्तामै पुनरागमन गर्दै यसको बदला लिने रणनीति रचिरहेको देखिन्छन । जुन कारण पनि उनीहरु पार्टीका अवरोध र बाधा फुकाउँदै नेतृत्वमा कायम हुने अन्तिम प्रयास छन्  । तर उनीहरुको यो मनोकांक्षा पूरा हुने अवस्था अन्यन्तै न्यून छ । बरु ओली–देउवाले देखाएको एउटै प्रकृति र जिद्दीपनाले दुई ठूला पार्टीहरूको लोकतान्त्रिक छवि र भविष्यलाई लिएर कार्यकर्तास्तरमै गम्भीर प्रश्न र शंका जन्मिन थालेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update