काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि ११ गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेपछि सरकारले सुरक्षित रहन अपिल गरेको छ । भारी वर्षाको पूर्वानुमानपछि जिल्ला जिल्लामा पूर्व सूचनाहरु जारी गरिएका छन् । पर्यटन विभागले पर्यटकीय गन्तव्यमा सचेतना रहन भन्दै एडभाइजरी जारी गरेको छ ।
असोज ९ गते शुक्रबारदेखि ११ गत आइतबारसम्म तीन दिन भारी वर्षा र हिमपातको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । महाशाखाले पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरुलाई पनि तत्काल फर्केर सुरक्षित स्थानमा रहन तथा जाने तयारीमा रहेकालाई यात्रा स्थगित गर्न आग्रह गरेको छ । विभागले सर्वसाधारण र सरोकारवालाका लागि सम्भावित मौसमी विपत्तिबारे विशेष बुलेटिन जारी गरि लामो दूरीको कुनै पनि यात्रा नगर्न आग्रह गरेको छ ।
उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपास रहेको महाशाखाले जनाएको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भई पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने महाशाखाको भनाई छ । मनसुनी वायुका साथै पश्चिमी वायुको पनि प्रभाव स्वरूप बुधबारबाट कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै गएको छ ।
बुलेटिनअनुसार आगामी शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
बाढीपहिरोको निरन्तर निगरानी
सरकारले सम्भावित भारी वर्षा र त्यसबाट निम्तिने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी बढाएको छ ।
सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीकाअनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था रियल टाइममा निगरानी गरिनेछ ।
नागरिकलाई सतर्क र सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री वालेन्द्र शाहले पनि वर्षा र बाढीको सम्भावित जोखिमका कारण सतर्क र सुरक्षित रहन आग्रह नागरिकलाई आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले बिहीबार सामाजिक सञ्जालमार्फत नगरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन् ।
उनले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन निर्देशन दिइएको पनि बताएका छन् । मौसम विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्।
पर्यटन विभागको एडभाइजरी
भारी वर्षा र हिमपातको जोखिमका कारण पर्यटन विभागले पर्यटकीय गन्तव्यमा सचेतना अपनाउन एड्भाइजरी जारी गरेको छ । विभागले शरद ऋतुका लागि हिमालमा पुगिसकेका तथा जाने क्रममा रहेका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई सचेत रहन एड्भाइजरी जारी गरेको हो ।
मुलुकभरि मेघ गर्जन, चट्याङ÷हावाहुरी सहित भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने देखिएकोले पदयात्रा र आरोहण क्षेत्रमा समेत असर पु¥याउने भन्दै विभागले सूचित गरेको हो । यो अवधिमा सकेसम्म यात्रा नगर्न÷नगराउन र यात्रा गर्नैपरे सुरक्षित र सावधानीपूर्वक यात्रा गर्न समेत अनुरोध गरिएको छ ।
सम्भावित उद्धारको तयारीमा ९ हेलिकोप्टर कम्पनी
भारी वर्षा, बाढी तथा पहिरोको सम्भावनालाई मध्यनजर गर्दै वायुसेवा सञ्चालक संघले आफ्ना ९ वटा सदस्य हेलिकोप्टर कम्पनीका हेलिकोप्टरलाई सम्भावित उद्धार कार्यका लागि स्ट्यान्डबाइ अवस्थामा राख्न निर्देशन दिएको छ ।
संघले प्रतिकूल मौसमका कारण कुनै पनि क्षेत्रमा विपद् निम्तिए तत्काल उद्धार कार्य सञ्चालन गर्न तयारी अवस्थामा रहन बुधबार सदस्य वायुसेवा कम्पनीहरूलाई परिपत्र गरेको छ ।
संघअन्तर्गतका ९ हेलिकोप्टर कम्पनी सदस्य छन् । जस्मा एयर डाइनस्टी,हेली सर्भिसेज, अल्टिच्युड एयर, फिसटेल एयर, हेली एभरेष्ट, कैलाश हेलिकप्टर, बेसक्याम्प एयर , मुस्ताङ हेलिकप्टर, प्रभु हेलिकप्टर्स र सिम्रिक एयर सदस्य छन् । यी सबै कम्पनीसँग कुल ३३ वटा हेलिकोप्टर छन् ।
देशभर २४० वटा हेभिउपकरण ‘स्टण्डबाइ’
भारी वर्षा हुने पूर्वानुमान भएसँगै त्यसबाट हुन सक्ने बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सडक विभागले पनि उच्च सतर्कता अपनाएको छ । सम्भावित विपद्का कारण मुख्य राजमार्गहरू अवरुद्ध हुन नदिन विभागले देशभर २४० भन्दा बढी हेभी उपकरण (मेसिन) र प्राविधिक टोलीलाई तयारी अवस्थामा (स्ट्यान्डबाई) राखेको छ ।
वर्षाका कारण कतै सडक अवरुद्ध भएमा सूचना पाएको आधा घण्टाभित्र मेसिन पुग्ने र दुई घण्टाभित्र सडक सुचारु गर्ने गरी विशेष कार्ययोजना लागू गरिएको सडक विभागका उपमहानिर्देशक एवम् प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिएका छन् । त्यस्तै, अपरेटर, इन्जिनियर, सब–इन्जिनियर तथा सुपरभाइजरहरूलाई फिल्डमै खटाइएको छ ।
सरकारी उपकरण अपुग भएमा तत्काल निजी क्षेत्रका मेसिनहरू भाडामा लिएर परिचालन गर्न सकिने संयन्त्र समेत तयार गरिएको विभागले जनाएको छ । भारी वर्षा, बाढी तथा हिमपातको त्रासदीका देशैभरका जिल्ला प्रशासन कार्यालयहरुले पनि पूर्व सचेतताका लागि सार्वजनिक अपिल जारी गरेका छन् ।
अति जोखिम रहेका ठाउँहरुमा माइकिङसमेत गरिएका छन् । मौसम विभागले टोल–फ्री नम्बर ११५५ मा फोन गरि मौसमसम्बन्धी जानकारी लिन आग्रह गरेको छ ।


