News 24 Television
एमालेमा नेतृत्व परिवर्तनको बहस निरर्थक, आन्तरिक एकता र सुदृढ संगठनमा जोड

काठमाडौं । एक वर्षअघि युवा पुस्ताको आन्दोलनपछि नेकपा एमाले पार्टी पुनर्गठनको छलफलमा छ । गत फागुनको निर्वाचनपछि निर्वाचनको समीक्षासहित पार्टी पुनर्गठन बहस केन्द्रित गरेको एमालेमा पार्टी नेतृत्व पनि पुनर्गठन हुनुपर्ने आवाज उठ्यो । जेनजी आन्दोलनपछि पार्टी नेतृत्वसहित पार्टी पुनर्गठनको बहस चले पनि युवा पुस्ताकै नेताहरु नेतृत्वको बचाउमा देखिएका छन् । 

नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक ललितपुरमा जारी छ । बुधबार पार्टीका केन्द्रिय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ भने प्रत्येक सदस्यका लागि बढीमा तीन मिनेटको समय सीमा निर्धारण गरिएको छ । उक्त बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने उद्देश्यसहित छलफल भइरहेको छ । यद्यपि विगतदेखि निकै चर्चामा रहेको नेतृत्व परिवर्तनको बहस भने यो केन्द्रीय कमिटी बैठकमा फासफुस भएको छ । यसअघि कार्यदलको प्रतिवेदनमै नेतृत्व परिवर्तन र विशेष महाधिवेशनका कुरा नउठाउने सहमति गरेअनुसार केन्द्रिय कमिटीमा उक्त बहसले प्रवेश नै पाएन । 

जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता प्रदीप ज्ञवालीले निर्वाचनको धक्कालाई सामूहिक जिम्मेवारीका रूपमा लिनुको साटो पार्टीभित्रै अध्यक्षलाई मात्र दोष दिने अस्वस्थ स्थिति उत्पन्न भएको बताए । साथै पार्टी पुनर्गठनको बहस तलसम्म जाँदा ध्रुवीकरण बढ्नु चिन्ताजनक भएको उनको भनाइ छ । 

अध्यक्षलाई विस्थापन नगर्दासम्म पार्टी अघि बढ्दैन भन्ने तर्क गर्ने र पुनर्गठनका नाममा पार्टी विभाजनकै आभास दिलाउने गरी अस्वस्थ बहस भइरहेको उनको भनाइ छ । कार्यदलको प्रतिवेदनलाई नै आधार मानेर पार्टी एकताबद्ध बनाउनुपर्नेमा ज्ञवालीले जोड दिएका छन् । पार्टीको आन्तरिक एकता खलबलिनु र जनतासँगको सम्बन्ध पातलिनु नै निर्वाचनमा धक्का खानुको मुख्य कारण रहेको उनको ठहर छ ।

यसअघि मंगलबार एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्रहरु असफल भएको दाबी गरेका थिए । उनले पार्टीभित्रकै केही नेताहरुले राज्य संयन्त्रको दुरुपयोग गरेर अध्यक्ष ओलीविरुद्धको अभियान चलाएको आरोप समेत लगाए । 

जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले ओलीको राजनीतिक प्रतिवेदनको खुलेर समर्थन गरिरहेको बताएका थिए । उनका अनुसार बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि पार्टीभित्र विशेष महाधिवेशन बोलाउने आफूहरुको मनशाय नरहेको बताए ।

केन्द्रीय सदस्य ऐन महरले बाहिर चर्चामा ल्याइएको नेतृत्व परिवर्तनको भाष्य निराधार रहेको स्पष्ट पार्दै अधिकांश सदस्यले पार्टी एकतालाई सुदृढ पार्ने, वैचारिक तथा सङ्गठनात्मक पुनर्गठन गर्ने र वर्तमान सरकारका असफलताहरूविरुद्ध सशक्त खबरदारी गर्ने विषयले मुख्य प्राथमिकता पाए बताए । 

बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीसहितको नेतृत्वबारे बाहिर आएका भ्रमबारे प्रष्टीकरण दिएको र महासचिव पोखरेलले विशेष महाधिवेशन वा नेतृत्व परिवर्तनको कुनै एजेन्डा नरहेको स्पष्ट पारेपछि बैठक सकारात्मक माहोलतर्फ मोडिएको उनको भनाइ थियो । 

अर्की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा नेतृत्व परिवर्तनको बहस ‘फेसन’ जस्तो भएको टिप्पणी गर्दै एमाले अहिले नेतृत्व परिवर्तन आवश्यक नरहेको जिकिर गरिन् । गत वर्षको जेन–जी आन्दोलनका षड्यन्त्रकारीहरुले नेतृत्व परिवर्तनको एजेण्डा पार्टीमा प्रवेश गराएको उनको तर्क छ । 

उनले पार्टी नेतृत्व परिवर्तन र पुनर्गठनको कुरा बाहिरतिर पानी परिरहेको छ अनि घरभित्रै छाता ओढेजस्तो भएको भन्दै यसको कुनै औचित्य नभएको बताइन् ।

जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले पछिल्लो आम निर्वाचनको परिणाम पार्टी जीवनका लागि अकल्पनीय र पीडाजनक रहेको स्वीकार्दै गम्भीर आत्मसमीक्षामा जोड दिएका छन् । 

नेतृत्वले कार्यकर्ता र समस्यालाई समान दृष्टिले हेरेर वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक कमजोरीहरू सुधारेमा मात्रै वर्तमान चुनौतीहरूको सामना गर्दै पार्टीलाई पुनः सक्षम बनाउन सकिने उनको भनाइ छ । 

यसरी हेर्दा नेतृत्व परिवर्तनको मागमा आक्रामक देखिएका पोखरेल लगायत नेताहरु अहिले रक्षात्मक अवस्था पुगेका छन् भने प्रभावशाली युवा नेताहरु ओलीकै निरन्तरताको पक्षमा देखिन्छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update