News 24 Television
इन्द्रजात्राको उल्लास शुरु, यंसिं ठड्याएपछि शुरु भयो पर्वोत्सव

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार अगाडि बुधबार विधिपूर्वक इन्द्रध्वजासिहतको यःसिं ठड्याइसँगै येँया अर्थात् इन्द्रजात्रा सुरु भएको छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राको मुख्य दिनमा जिवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ भने बुधबार नै दिवंगतहरुको सम्झनामा उपाकु पर्व मनाइन्छ ।

काठमाडौंको मूख्य प्राचीन तथा ऐतिहासिक स्थान हनुमानढोका बुधवारदेखि बाजागाजा, संस्कृति, कथा र किंवदन्तिको रंगमा रंगिएको छ । 

भाद्र कृष्ण द्वादशीका दिन बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा इन्द्रध्वजासहितको यःसिं ठड्याइएसँगै काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक पर्व येँया अर्थात् इन्द्रजात्रा विधिवत् सुरु भएको छ । परम्परागत बाजा, गुरुजुको पल्टन, मंगलधुन र तोपको सलामीबीच ठड्याइएको यःसिंले अबको आठ दिन काठमाडौंमा जात्राको रौनक रौनक छाउने संकेत दिएको छ । 

फूल खोज्दै इन्द काठमाडौँ आइपुगेका किंवदन्ती 

इन्द्रजात्रासँग जोडिएको किंवदन्ती निकै रोचक छ । आफ्नी आमाका लागि पारिजातको फूल खोज्दै स्वर्गका राजा इन्द्र काठमाडौं उपत्यका आएको वर्णन किंदन्तिमा पाइन्छ । फूल चोर्न खोजेको आरोपमा उनलाई स्थानीयले समातेर बाँधेर राखे । पछि इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको खोजी गरेपछि मात्रै उनी इन्द्र भएको रहस्य खुलेको किंवदन्ती छ ।  त्यही कथासँग जोडिएर इन्द्रजात्राका विभिन्न परम्परा, इन्द्रध्वज र यःसिंको सांस्कृतिक महत्व विकसित भएको जनविश्वास रहँदै आएको छ । 

कुमारीको रथदेखि लाखेको नाचसम्म जात्राका मुख्य आकर्षण 

जात्राको अर्को मुख्य आकर्षण हो जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा । दिउँसो लाखे, पुलुकिसि, सवःभक्कु, देवी नाचदेखि आकाश भैरव र श्वेत भैरवसम्मका प्रस्तुति काठमाडौंका भित्री बस्तीमा देख्न सकिन्छ । 

बेलुका दिवंगत आफन्तको सम्झनामा परिवारजनले दीप बोकेर उपाकु यात्रा निकाल्छन् । त्यसैले इन्द्रजात्रा एउटा मनोरञ्जन र उल्लासको पर्व मात्रै होइन काठमाडौंवासीको स्मृति, श्रद्धा र सामुदायिक सम्बन्ध जोड्ने विशेष अवसर पनि हो । 

काठमाडौं महानगरले यस वर्ष पनि इन्द्रजात्रालाई सांस्कृतिक पुनर्जागरणसँग जोड्दै स्वदेश तथा विदेशका भगिनी सम्बन्ध भएका नगरका प्रमुखलाई समेत आमन्त्रण गरेको छ ।

नेपालको सांस्कृतिक पहिचान बोकेको येँया काठमाडौंमा मात्रै सीमित छैन । विदेशमा रहेका नेवा समुदायले समेत इन्द्रजात्रा मनाउन थालेका छन् । राष्ट्रिय पर्वका रुपमा मनाउने इन्द्रजात्राका लागि ६ महिना अगाडिदेखि नै विभिन्न तयारीहरु सुरु हुने गर्दछ । 

यस वर्ष भने देश विपतको अवस्थाबाट गुज्रिरहेकोले यसलाई मध्यनजर गदैै सिमित बाजा गाजा मात्र प्रयोग गरी निश्चित विधि प्रकृया पु¥याउने तरिकाले सरल तथा सभ्य रुपमा मनाउन लागिएको छ । जात्रामा कुनै अप्रिय घटना हुन नदिन स्वयम सेवक, ट्राफिक व्यवस्थापन लगायत प्रहरी परिचालनको पनि उचित व्यवस्थापन गरिएको छ ।

यःसिं ठड्याएको आठौँ दिन आश्विन कृष्ण चौथीमा इन्द्रध्वज पातन अर्थात् यःसिं ढालिएपछि यस वर्षको इन्द्रजात्रा औपचारिकरुपमा समापन हुन्छ । काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखासम्म फैलिएको यो पर्व फेरि एकपटक इतिहास, आस्था र जीवित संस्कृतिको उत्सव बनेर काठमाडौंको सडकमा उत्रिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update