नुवाकोट । नेपाली कांग्रेस ककनी गाउँपालिका–२ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट कालेबहादुर तामाङ वडा सभापतिमा निर्विरोध चयन भएका छन्। तामाङको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति समेत निर्विरोध चयन भएको आयोजक पक्षले जनाएको छ।
ककनी–२ मा यसअघि १४औँ महाधिवेशनबाट कुमार गोतामे वडा सभापति निर्वाचित भएका थिए। त्यसपछि नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित गर्दै डिजिटल प्रणालीमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढाएको थियो। पार्टी केन्द्रले वडा तहसम्म क्रियाशील सदस्यताको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको भए पनि गोतामेले उक्त प्रक्रिया कार्यान्वयन नगरेको आयोजक पक्षको दाबी छ।
ककनी गाउँपालिकाका तत्कालीन कार्यवाहक सभापति चुडामणि फुयाँलको सिफारिसमा केन्द्रीय कार्यालयले वडा उपसभापति सूर्य तामाङलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको र त्यसपछि गोतामेको सभापति पद कायम नरहेको आयोजक पक्षले जनाएको छ।
त्यसैको आधारमा कार्यवाहक सभापति सूर्य तामाङको नेतृत्वमा १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आयोजना गरिएको हो। अधिवेशनमा आवश्यक गणपूरक संख्या तथा क्रियाशील सदस्यहरूको भौतिक उपस्थितिमा विधान र पार्टीको निर्धारित प्रक्रियाअनुसार अधिवेशन सम्पन्न भएको आयोजक पक्षको दाबी छ।
कालेबहादुर तामाङको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति
अधिवेशनले कालेबहादुर तामाङलाई वडा सभापतिमा निर्विरोध चयन गरेको हो। तामाङको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति पनि निर्विरोध चयन भएको बताइएको छ।
नवनिर्वाचित नेतृत्वले वडा तहमा पार्टी संगठनलाई थप व्यवस्थित बनाउँदै क्रियाशील सदस्य तथा स्थानीय कार्यकर्ताबीच समन्वय र सक्रियता बढाउने जनाएको छ।
‘गोप्य रूपमा अधिवेशन गरियो भन्ने प्रचार भ्रमपूर्ण’
अधिवेशनका क्रममा कुमार गोतामेलाई जानकारी नदिइएको तथा नाटकीय र गोप्य ढंगले अधिवेशन सम्पन्न गरिएको भन्ने प्रचारप्रति नयाँ नेतृत्वले आपत्ति जनाएको छ।
कार्यक्रमस्थलमा भएको उपस्थिति, अधिवेशनका गतिविधि तथा भिडियो सामग्री सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको भन्दै अधिवेशन गोप्य रूपमा गरिएको भन्ने आरोप तथ्यसँग मेल नखाने आयोजक पक्षको भनाइ छ। ककनी गाउँपालिका अध्यक्षका प्रत्यासी नवराज घिमिरेलगायत स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताको समेत कार्यक्रममा उपस्थिति रहेको बताइएको छ।
स्थापनापक्षीय नेताहरूका अनुसार संस्थापनइतर पक्षका केही स्थानीय नेता तथा क्रियाशील सदस्यहरूले अधिवेशनमा सहभागी नहुन आफ्ना समर्थकलाई आग्रह गरेका कारण उनीहरूको सहभागिता न्यून भएको हो। त्यसैका आधारमा अधिवेशन नै अवैधानिक भएको भन्ने प्रचार गर्नु उचित नभएको उनीहरूको तर्क छ।
‘अधिवेशन बहिष्कार गर्न दबाब दिइयो’
कार्यवाहक सभापति सूर्य तामाङले अधिवेशनको स्थान र सहभागिताका विषयमा समेत विवाद सिर्जना गर्ने प्रयास भएको दाबी गरेका छन्।
उनका अनुसार अधिवेशनको दुई दिनअघि मात्रै ककनी–२ को बिरुवा क्षेत्रमा अधिवेशन हुने सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको थियो। तर, उक्त स्थानमा अधिवेशन गर्न नदिन विभिन्न प्रयास भएपछि वडा क्षेत्रको बीच भाग पर्ने गरी कुलेगाउँमा अधिवेशन आयोजना गरिएको तामाङले बताए।
तामाङले संस्थापनइतर पक्षले आफ्ना निकट क्रियाशील सदस्यहरूलाई अधिवेशनमा सहभागी नहुन आग्रह गरेको दाबीसमेत गरेका छन्। नुवाकोट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचनमा सहभागी भएका नेता प्रकाशशरण महतले समेत ककनीका आफ्ना निकट कार्यकर्तालाई अधिवेशन बहिष्कार गर्न सुझाव दिएको उनको दाबी छ। उक्त दाबीबारे सम्बन्धित पक्षको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।
२ सय ६२ क्रियाशील सदस्य
ककनी गाउँपालिका–२ मा नयाँ तथा पुराना गरी २ सय ६२ जना क्रियाशील सदस्य रहेको आयोजक पक्षले जनाएको छ।
नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच देखिँदै आएको विवादको प्रभाव वडा तहको अधिवेशनमा समेत परेको स्थानीय कांग्रेस नेताहरूको भनाइ छ। क्रियाशील सदस्यता, प्रतिनिधि चयन तथा अधिवेशन प्रक्रियालाई लिएर विभिन्न स्थानमा विवाद देखिए पनि ककनी–२ को अधिवेशन भने पार्टीको विधान र निर्धारित प्रक्रियाअनुसार सम्पन्न भएको नयाँ नेतृत्वको दाबी छ।
नवनिर्वाचित सभापति कालेबहादुर तामाङ नेतृत्वको नयाँ कार्यसमितिले वडा तहमा कांग्रेसको संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने जनाएको छ। अधिवेशनको वैधानिकतामाथि उठाइएका प्रश्नबारे भने सम्बन्धित पार्टी निकायको आधिकारिक निर्णय र अभिलेख नै आधार हुने बताइएको छ।


