काठमाडौं । नेकपा एमालेमा पार्टी पुनर्गठनको गरमागरम बहसकाबीच नयाँ ट्वीस्ट आएको छ । विहिबार सम्पन्न केन्द्रीय समिति बैठकबाट नेताहरुलाई नयाँ जिम्मेवारीमा ल्याइएको छ । पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टीको महत्वपूर्ण जिम्मेवारीका साथ अब एमालेको सक्रिय राजनीतिमा आउने भएकी छन् ।
नेकपा एमालेमा पार्टी पुनर्गठनको बहसका बाबजुद नेतृत्व पनि पुनर्गठन हुनुपर्ने बहस जबर्जस्त उठिरहेको छ । एक वर्षअघिको जेनजी आन्दोलनपछि पार्टीले भोगेको क्षति र गत फागुन २१ को निर्वाचनमा भएको पराजयले गर्दा एमाले पुनर्गठनको बहस चर्किएको थियो ।
जसका लागि पार्टी पुनर्गठन कार्यदल नै गठन भई आम कार्यकर्ताको भावना बुझ्ने काम भएको थियो । तल्लो तहका कार्यकर्ताको समेत भावना समेटेर पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनले एमालेमा खैलाबैला मच्चियो । तर उक्त प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश भएर छलफल गर्ने वातावरण भने बनेन । नेतृत्व पुनर्गठनलाई अस्वीकार गरेका ओलीले केन्द्रीय समितिको बैठकमै आफूलाई आलोचना गर्ने नेताहरुलाई निषेध गरेरै अघि बढे ।
एमाले उपमहासचिव योगेश भट्टराईले बैठकमा बोल्न समेत नपाएपछि उनले उनले लिखित रुपमा नै ओलीको सम्माजनक विदाईको प्रस्ताव अघि सारे । विहीबार सम्पन्न केन्द्रीय समिति बैठकले नेतृत्व पुनर्गठनको मुद्दालाई किनारा लगाउँदै नेताहरुलाई नयाँ जिम्मेवारीमा ल्याएको छ ।
पूर्व राष्ट्रपति विद्या भण्डारी बरिष्ठ नेता
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई विगतमा पार्टी केन्द्रीय सदस्यतासमेत पेण्डिङमा राखेर सक्रिय राजनीतिमा आउन निषेध गरेका थिए । उनै ओलीले विहीबार सचिवालय बैठकबाट भण्डारीलाई पार्टीको दोस्रो बरियताको प्रस्ताव गरि केन्द्रीय समिति बैठकबाट पारित गराएका छन् ।
गत जेठमा पूर्व राष्ट्रपति भण्डारीको सदस्यता फुकुवा गरि पुरानै सदस्यतालाई नवीकरण गरिएको थियो । एमालेको हालको विधानमा बरिष्ठ नेताको प्रावधान समेत छैन । विगतमा ईश्वर पोखरेललाई रोक्नकै लागि विधान महाधिवेशनबाट बरिष्ठ नेताको पद खारेज गरिएको थियो । ओली निकटका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल अहिले ओलीको खिलापमा लागेपछि ती दुई नेतालाई रोक्न ओलीले भण्डारीलाई दोस्रो बरियताका साथ पार्टीको सकिय राजनीतिमा ल्याएका छन् ।
७ जना स्थायी कमिटी, २० जना नयाँ केन्द्रीय सदस्य मनोनित
एमाले केन्द्रीय समिति बेठकले ७ जनालाई स्थायी समितिमा मनोनित गरेको छ । स्थायी कमिटी सदस्यमा मनोनित हुनेमा ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फे, लालबाबु पण्डित र थममाया थापा रहेका छन् ।
यस्तै केन्द्रीय समितिमा २० जनालाई मनोनित गरिएको छ । नयाँ केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरूङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोला रहेका छन् ।
पोलिटब्युरो र विभाग गठनको अधिकार सचिवालयलाई
बैठकको समापन गर्दै अध्यक्ष ओलीले तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीभित्र उन्नतस्तरको समझदारी र सुदृढ एकता प्रकट गरेको बताएका छन् । बाँकी एजेन्डाहरू स्थायी कमिटीको पूर्णता, पोलिटब्युरो गठन, सल्लाहकार परिषद्, विभागहरू र जेष्ठ कम्युनिष्ट मञ्च गठनको काम भने सचिवालय बैठकबाट निर्णय गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।
ओली र पौडेलको गिरफ्तार ‘राजनीतिक प्रतिशोध’
सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गिरफ्तार गरी मुद्दा चलाउन खोजेको घटनालाई ‘राजनीतिक प्रतिशोध’ र मुठभेडको पराकाष्ठा भन्दै एमालेले निन्दा गरेको छ ।
भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न र पुराना आयोगका प्रतिवेदनहरू पूर्ण पाठसहित सार्वजनिक गर्न माग गरिएको छ ।


