News 24 Television
बालेनले पाए अन्तराष्ट्रिय कभरेज, प्रतिपक्षी दलहरुको पनि तारिफ !

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरिएको सम्बोधनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाएको छ । जलवायु न्याय, विपद् र क्षतिपूर्तिको मुद्दा उठाएको भन्दै नेपालका राजनीतिक दलका नेताहरूले पनि प्रधानमन्त्रीको सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । 
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधन अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि चर्चाको विषय बनेको छ । 

विशेषगरी जलवायु संकट, भोटेकोशी–त्रिशूली विपद् र जलवायु न्यायलाई केन्द्रमा राख्दै प्रधानमन्त्री शाहले विश्व शक्तिराष्ट्रलाई गरेको प्रश्नलाई अन्तर्राष्ट्रिय मिडियाले प्रमुखताका सम्प्रेशण गरेका छन् । 

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस एपीले शाहको सम्बोधनलाई नेपालको बाढी जलवायु परिवर्तनबारे विश्वका लागि चेतावनी का रूपमा प्रस्तुत गरेको छ । एपीले नेपालले विश्व उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु संकटमा भने ठूलो मूल्य चुकाइरहेको प्रधानमन्त्री शाहको भनाइलाई महत्व दिएको छ । 

रोयटर्सले भने नेपाललाई ऋण होइन, अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ भन्ने मुख्य मागलाई मुख्य समाचार बनाएको छ । बाढीपछिको पुनर्निर्माणमा नेपालको आवश्यकता जीडीपीको करिब १० प्रतिशत बराबर रहेको प्रधानमन्त्री शाहको सम्बोधनलाई रोयटर्सले स्थान दिएको छ । 

अलजजिराले पनि बाढी विश्वका लागि चेतावनी भन्ने कोणलाई शीर्षकमा राख्दै नेपालको जलवायु न्यायको माग, २० मिलियन डलर लस एण्ड ड्यामेज सहायता र भारत–चीनसहित हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाउने प्रस्तावलाई उल्लेख गरेको छ । 

यसबाहेक फ्रान्स २४, अरब न्यूज, द कोरिया टाइम्स, एएफपी, हिन्दुस्तान टाइम्स लगायतका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले पनि प्रधानमन्त्री शाहको सम्बोधनका विभिन्न पक्षहरुलाई कभरेज गरेका छन् । त्यसैगरी भारतीय सञ्चारमाध्यम एनडीभी र बिजनेस स्टाण्डर्डले विशेषगरी प्रधानमन्त्री शाहको भारत र चीनसँग मिलेर हिमालयमा जलवायु संयन्त्र बनाउने प्रस्तावलाई प्राथमिकता दिएका छन् ।

नेपालमा कसले के भने ? 

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनपछि नेपालका राजनीतिक दलका अधिकांस नेताहरुले सकरात्मक प्रतिक्रिया दिएका छन् । रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले नेपालको जलवायु सङ्कटलाई विश्व मञ्चमा पु¥याउनु महत्वपूर्ण उपलब्धि भएको बताएकी छन् । 

उनका अनुसार यो यात्राको सुरुवात मात्रै भएकाले अब निरन्तर बैठक, छलफल र समन्वय आवश्यक रहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सम्बोधन कुनै दल विशेषको नभई समग्र नेपालको प्रतिनिधित्व गर्ने खालको भएको बताए ।

जलवायु न्याय र क्षतिपूर्तिको विषय उठाउनु आवश्यक रहेको भन्दै उनले समर्थन पनि जनाएका छन् । तर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सार्वजनिक गरेका तथ्यांकमा फरक देखिएको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा तथ्याङ्क प्रस्तुत गर्दा थप संवेदनशीलता र एकरूपता आवश्यक रहेको उनको टिप्पणी छ । नेकपाका प्रवक्ता प्रकाश ज्वालाले पनि जलवायु न्याय, क्षतिपूर्ति र साना राष्ट्रको अधिकारजस्ता विषय उठाउनु आवश्यक रहेको बताए । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधनको अन्तर्वस्तु र प्रस्तुति सही रहेको प्रतिक्रिया दिएका छन् । त्यसैगरी राप्रपा नेता ज्ञानेन्द्र शाहीले सम्बोधनले नेपाली जनतामा आशा र उत्साह जगाएको बताए भने जनमत पार्टी अध्यक्ष डा. सीके राउतले सम्बोधन विषयवस्तुका हिसाबले स्तरीय र अन्तर्राष्ट्रिय ध्यान खिच्न सक्ने रहेको प्रतिक्रिया दिएका छन् । 

एमाले उपमहासचिव योगेश भट्टराईले युद्ध, अन्तर्राष्ट्रिय द्वन्द्व, घातक हतियारको व्यापारदेखि जलवायु परिवर्तन र क्षेत्रीय सहकार्यसम्म उठाइएका विषय महत्वपूर्ण रहेको बताएका छन् । 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update