News 24 Television
बालेन अन्तराष्ट्रिय नायक बन्दा छाँयामा शिशिर !

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१ महासभाको सम्बोधन चर्चामा रहँदा परराष्ट्रमन्त्री शिशिर खनालले न्यूयोर्कमा कूटनीतिक सक्रियता पनि कम छैन । विभिन्न देशका समकक्षीसँग भेटवार्ता, जलवायु न्यायमा नेपालको धारणा र नयाँ कूटनीतिक सम्बन्ध स्थापनामार्फत परराष्ट्रमन्त्री खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भूमिका खेलेका छन् । 

संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा दमदार सम्बोधन गरेका नेपालका युवा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको यतिबेला चर्चा नेपालमा मात्रै नभएर विश्वभर नै भइरहेको छ । उनको सम्बोधनदेखि कालो चस्मा कालो कोटसम्मको चर्चा विश्वभरका मुख्य मुख्य सञ्चारमाध्यमहरुले कभर गरेका छन् । भदौँ १० गते अघिसम्म संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा जान प्रधानमन्त्री बालेनले खासै रुची देखाएका थिएनन् । 

त्यसैले नेपालको तर्फबाट सम्बोधन गर्न परराष्ट्रमन्त्री शिशिर खनाल जाने कार्यतालिका सार्वजनिक समेत भइसकेको थियो । तर भदौँ १० गते रसुवाको भोटेकोशिमा बाढी आएको अकल्पनिय र अविश्वसनिय भिषण बाढीले नेपालमा ठूलो जनधनको क्षति भयो । 

जलवायु परिवर्तनका कारण नेपालले भोगेको यो क्षति विश्वमन्चमा सुनाउन र जलवायु परिवर्तनको रोकथामका लागि विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्री बालेन्द्र शाह बालेन आफै न्यूयोर्क जाने निर्णय गरे र शुक्रवारमात्रै संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सम्बोधन गरेर विश्वलाई नै चेतावनी सहितको ध्यानाकर्षण गराए । 

प्रधानमन्त्री शाहको विश्वभर चर्चा हुँदा पर्दा पछाडिको नायकी भुमिकामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल भने केही छायाँमा परेको जस्तो देखिए पनि उनले गरेका भेटवार्ता, संवादहरु र उनले निभाएको भूमिका कम आँक्न मिल्दैन । परराष्ट्रमन्त्री खनालले न्यूयोर्कमा व्यापक कूटनीतिक सक्रियता देखाएका छन् । प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क पुगेका थिए भने परराष्ट्रमन्त्री खनालले त्यसअघि नै २० सेप्टेम्बरमा पुगेर उच्चस्तरीय बैठक, साइडलाइन वार्ता र द्विपक्षीय भेटवार्ता सुरु गरेका थिए । 

खनालको न्यूयोर्क भ्रमणको मुख्य एजेन्डामध्ये भोटेकोशी विपद्, जलवायु न्याय, पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग र नेपालको आर्थिक तथा कूटनीतिक सम्बन्ध विस्तार देखिएको छ । उनले जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीसँग भेट्दा जापानले आपतकालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सहयोग जारी राख्ने जनाएको थियो ।

जापानले ३० लाख अमेरिकी डलरको आपत्कालीन अनुदान, डीएनए परीक्षण उपकरण र विज्ञ टोली पठाउने सहयोगसमेत अघि सारेको छ । युरोपेली संघकी कार्यकारी उपाध्यक्ष तेरेसा रिबेरासँगको भेटमा नेपाल–ईयू सम्बन्ध र भोटेकोशी बाढीपछिको उद्धार, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहकार्यबारे छलफल भयो । पोल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री रादोस्लाव सिकोस्र्कीसँग पनि खनालले द्विपक्षीय भेट गरेका छन् । 

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, स्लोभाकियाका विदेशमन्त्री जुराज ब्लानार र माल्दिभ्सका विदेशमन्त्री इरुथिषम आदमसँग पनि भेटवार्ता भएको छ । त्यसैगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा खनालले भोटेकोशी विपदमा भारतले गरेको सहयोगप्रति धन्यवाद दिँदै विकास सहकार्य र नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल गरे । 

अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री एलिसन हुकरसँगको भेट भने विशेष महत्वको रह्यो । त्यसै भेटपछि अमेरिकाले नेपाललाई बाढी पुनःस्थापनाका लागि थप ३१ करोड डलर बराबरको सहयोग घोषणा गरेको छ भने स्थायी पुल, मानवीय सहायता र विपद् व्यवस्थापनका लागि ड्रोनसहित उपकरण दिनसमेत अमेरिका तयार भएको छ । 

अमेरिकी चेम्बर अफ कमर्सका प्रमुख अन्तर्राष्ट्रिय मामिला अधिकृत अतुल केशपसँग पनि खनालले लगानी, आर्थिक सम्बन्ध र नेपाल–अमेरिका व्यापारिक साझेदारी विस्तारबारे छलफल गरेका छन् । जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँगको भेटमा नेपालले जलवायु उत्थानशीलता, विपद् तयारी र पुनर्निर्माणमा थप अन्तर्राष्ट्रिय लगानीको आवश्यकता उठाएको थियो । 

जर्मनीले आर्थिक तथा मानवीय सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्टोनेन, पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक डार र आइसल्यान्डकी विदेशमन्त्रीसँग पनि खनालले साइडलाइन वार्ता गरेका छन् । 

पाकिस्तानसँगको भेटमा द्विपक्षीय सम्बन्ध, सार्क र संयुक्त राष्ट्रसंघमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँगको भेटमा भोटेकोशी विपद्पछिको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणबारे छलफल भयो । 

बेलायतकी अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री कस्र्टी म्याक्निलसँग पनि पोस्ट डिजास्टर रिकभरी र द्विपक्षीय सहकार्यबारे छलफल भएको छ । यसबीच खनालले ग्रेनाडा र नामिबियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना गराउन महत्वपूर्ण भूमिका खेलेका छन् । ग्रेनाडाका अर्थमन्त्री डेनिस कर्नवालसँग २३ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सम्बन्ध स्थापना भयो ।

नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा आशिपाला मुसावीसँग संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरी सम्बन्ध स्थापना भएको हो । नामिवियासँग सम्बन्ध विस्तार भएसँगै नेपालको कुटनीति सम्बन्ध भएको देशको संख्या १८७ पुगेको छ । 

त्यसो त बहुपक्षीय मोर्चामा पनि खनाल सक्रिय रहे । उनले जलवायु कार्य र न्यायपूर्ण संक्रमणसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाए भने जी सेभेनका विकासमन्त्रीहरूको बैठकमा भोटेकोशी विपद्लाई हिमालयबाट विश्वका लागि आएको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गर्दै दीर्घकालीन साझेदारी, सहज जलवायु वित्त, विपद् पूर्वतयारी, बहुपक्षीय वित्त र हिमालय संरक्षणलाई नेपालको पाँच प्राथमिकता बताए ।

यसरी हेर्दा न्यूयोर्कमा प्रधानमन्त्री बालेनले महासभाको मञ्चबाट नेपालको आवाज विश्वसामु राख्दा परराष्ट्रमन्त्री खनालले भने बैठक, साइडलाइन वार्ता र कूटनीतिक भेटभाटमार्फत नेपालका लागि सहयोग, सम्बन्ध र नयाँ साझेदारी जुटाउने काम गरिरहेका छन् । 

महासभाको चम्किलो मञ्चमा प्रधानमन्त्रीको सम्बोधन देखिएपनि त्यसको पछाडि नेपालको कूटनीतिक उपस्थिति विस्तार गर्ने अर्को समानान्तर अभियानलाई परराष्ट्रमन्त्री खनालले जोडतोडका साथ अघि बढाइरहेका छन् । 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update