News 24 Television
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय : सैन्य तालिम केन्द्र नभई रणनीतिक अध्ययनको केन्द्र बन्ने सरकारको दाबी

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विश्वविद्यालय सैन्य तालिम केन्द्र नभई राष्ट्रिय सुरक्षा, कुटनीति र रणनीतिक अध्ययनको प्राज्ञिक थलो भएको स्पष्ट पारेकी छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा उनले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता सुनिश्चित गर्दै नेपालको भू–राजनीतिक संवेदनशीलता सुहाउँदो उच्चस्तरीय अनुसन्धान केन्द्र स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताइन् । मन्त्री गौतमले विश्वविद्यालय रक्षा मन्त्रालयसँग सम्बन्धित रहनुको कारण यसको विषयगत प्रकृति भएको बताइन् ।

विधेयकमा विश्वविद्यालयलाई प्राज्ञिक रूपमा स्वायत्त बनाउन बोर्ड अफ ट्रस्टीज र प्राज्ञिक परिषद् जस्ता छुट्टै संरचनाको परिकल्पना गरिएको मन्त्री गौतमले जानकारी दिइन् । उनले भनिन्, ‘यो विश्वविद्यालय सामान्य उच्च शिक्षा प्रदान गर्ने संस्था होइन, यसको मूल कार्यक्षेत्र राष्ट्रिय सुरक्षा र प्रतिरक्षा भएकाले समन्वयकारी मन्त्रालय रक्षा राखिएको हो। यसको अर्थ शैक्षिक र प्राज्ञिक कार्य सेनाको नियन्त्रणमा हुन्छ भन्ने होइन । हाम्रा सुरक्षा अधिकारी तथा निजामती कर्मचारीलाई विदेश पठाउनुपर्ने बाध्यता कम हुँदै जानेछ । नेपालको आफ्नै नलेज बेस निर्माण गरी अन्य मित्रराष्ट्रका विद्यार्थी र अधिकारीहरूलाई समेत आकर्षित गर्ने अध्ययन केन्द्रका रूपमा यसलाई विकास गरिनेछ ।’

यो विश्वविद्यालय स्थापनाको अर्को महत्वपूर्ण उद्देश्य विदेशमा उच्चस्तरीय अध्ययनका लागि जानुपर्ने बाध्यताको अन्त्य गर्नु रहेको छ । २०७६ सालको गठन आदेशबाट शुरु भएको यसको भौतिक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब स्थायी ऐनमार्फत सञ्चालन गर्न विधेयक ल्याइएको सरकारको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update