काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नं. १०, प्रदेशसभा क्षेत्र नं. २ (ख) को सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी भएका छन् ।
मंगलबार सम्पन्न अधिवेशनमा बानियाँले १०८ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी प्रचण्डमान गोपालीले ५४, बाबुशरण महर्जनले ३१ र सिद्धिलाल महर्जनले ४९ मत प्राप्त गरेका छन् ।
निर्वाचित भएपछि बानियाँले आफूलाई अत्यधिक बहुमतका साथ विजयी गराउने एकाइ सभापति, क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसका साथीहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनले निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै सबैलाई साथमा लिएर संगठनलाई एकताबद्ध र सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । उनले सबैको भावना र विचारलाई सम्मान गर्दै नेपाली कांग्रेसलाई थप मजबुत बनाउँदै अघि बढ्ने बताएका छन् ।
बानियाँले आफ्नो विजयलाई व्यक्तिगत नभई सबैको विजयका रूपमा लिएको बताएका छन् ।


