भक्तपुर। नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को अधिवेशनमा विवाद चुलिएको छ। ११ गतेबाट सुरु भएको मनोनयन प्रक्रिया आज १५ गतेसम्म चलिरहेको बेला सहमतिको नाममा विधान विपरित गतिविधि हुन लागेको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनाएका छन्।
कांग्रेसको विधान र निर्देशिकामा नै नभएको प्रावधान ल्याएर ५१ प्रतिशत क्षेत्रीय प्रतिनिधिको हस्ताक्षर गराई अधिवेशन सर्वसम्मत भएको घोषणा गर्ने तयारी भइरहेको उम्मेदवारहरुले नै अरोप लगाएका छन् ।
‘लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन हो, निर्वाचनलाई लत्याउन खोजिदैछ। खबरदार, उम्मेदवारको अधिकार हनन गर्न पाइँदैन,’ असन्तुष्ट पक्षले भनेको छ ।
केन्द्रीय समितिले पठाएको निर्वाचन समितिलाई २–४ जना नेताको निर्देशनमा पंगु बनाउन खोजिएको र यो प्रजातान्त्रिक प्रक्रियाको ठाडो उल्लंघन भएको उनीहरुको आरोप छ।
सहमतिको नाममा जबरजस्ती सर्वसम्मत गराउन खोजिए निर्वाचन बिथोलिने चेतावनी समेत उनीहरुले दिएका छन्।


