काठमाडौं । नेपाल वायु सेवा निगम थला परेको छ। लामो समयदेखि घाटामा रहेको नेपाल वायु सेवा निगम बन्द त हुँदैन? प्रश्नहरु देखिन्छन्। पर्याप्त जहाज नहुनुदेखि जहाज मर्मत तथा सञ्चालनमा समेत देखिने अनेक लफडाले वायु सेवा निगम धरमरमा परेको देखिन्छ ।
नेपाल वायु सेवा निगम युरोपेली संघको कालोसूचीमा छ। पर्याप्त सुरक्षा सावधानी नअपनाएकोदेखि अनेक आरोप झेल्दै कालोसूचीमा परेको नेवानी थला परेको अवस्थामा छ। पर्याप्त कर्मचारी, न्यून जहाजबाट सेवा दिने भनिरहेको नेवानीमा पाइलटहरुले राजीनामा दिन थालेको र सेवा सुविधा न्यून भएको भन्दै गुनासो बढेको निगम नै स्वीकार गरिरहेको छ । नेवानीका निमित्त महाप्रवन्धक जनकराज कालाखेती नै महंगो ब्याजदेखि अनेक उल्झनका कारण संकट आएको स्वीकार गर्छन् ।
यतिमात्रै नभई कालाखेतीले चारवटा इन्जिन मर्मतका लागि करिव ८ अर्ब रुपैयाँको आवश्यकता औंल्याउँदै खरिद प्रक्रियामा रहेको नीतिगत जटिलता फुकाइदिन सरकारसँग आग्रह गरे।
नेपाल वायु सेवा निगमसंगै खुलेका एयरलाइन्स कम्पनीहरुले आज विश्व बजारमा कडा प्रतिष्पर्धा गर्दै आफूलाई अब्बल सावित गरिरहेको बेला नेवानी किन टिठलाग्दो बन्दैछ ? यो आम प्रश्न बनेको छ। यता, प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले नेवानीबारे अनेक प्रश्न र गुनासो गरिरहेका छन्।
सांसदहरुले पनि नेवानीबारेका प्रश्न र चासो राखिरहेका छन्। तर, नेवानी संकटमामात्रै नभई बन्दको स्थितिमा त पुग्दैन? प्रश्न उब्जिएको बेला पर्यटनमन्त्री खडकराज पौडेलले अब बिग्रिने ठाउँ नै नभएको भनिरहेका छन्।
थला परेको नेवानीलाई कसरी सुधारतर्फ लैजान सकिन्छ ? के नेवानी बन्द नै हुने हो ? तमाम प्रश्नकाबीच व्यवस्थापकीय समस्यामा फसेको एयरलाइन्सलाई उकास्नुको विकल्प छैन्। राष्ट्रिय ध्वजावाहक कम्पनीको सुधार र उडानयोग्य विमानको संख्या बढाउदै व्यवसायीक योजना निर्माणतर्फ सरकारले ध्यान देला ? रास्वपा नेतृत्वको सरकारको परीक्षा शुरु भएको छ ।


