News 24 Television
चोलेन्द्रको मोबाइलमा के के भेटियो ? सिन्धुपाल्चोक सरुवाको कारण ?

काठमाडौं । कारागार व्यवस्थापन विभागको निर्देशन र गृहमन्त्रालयको उच्च निगरानीका बीच नख्खु कारागारमा थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टलाई शनिबार बेलुका सिन्धुपाल्चोक कारागार सरुवा गरिएको छ । भट्टले जेलभित्रैबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट सहयोग पाई अदालतलाई प्रभाव पार्ने र चलखेल गरिरहेको आंशाकामा भट्टलाई सिन्धुपाल्चोक कारागार लगिएको बुझिएको छ । पूर्वप्रधानन्यायाधीश जबरालाई प्रकाउ गरिनुको कारण पनि भट्टसँगको कनेक्सन भएको खुलेको छ । 

कारागार व्यवस्थापन विभागको शनिवारको पत्रअनुसार नख्खु कारागारमा रहेका दीपक भट्टलाई शनिबार बेलुकी नै सिन्धुपाल्चोक स्थानान्तरण गरियो । जेलभित्रैबाट भट्टले चलखेल गरिरहेको सूचना गृहमन्त्री र प्रधानमन्त्री समक्ष पुगेपछि भट्टलाई भेटघाट र सम्पर्क गर्न गाह्रो होस् भनेर सरुवा गरिएको बताइन्छ । प्रहरीले यसअघि सर्जिकल स्ट्राइकको शैलीमा पक्राउ गरिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायिक कामकारबाहीमा चलखेल र भट्टका लागि समेत सहजीकरण गर्न खोजेको प्रयाप्त प्रमाणहरु भेटिएको कारण  भट्टलाई सिन्धुपाल्चोक सरुवा गर्ने निर्णय भएको बुझिएको छ ।

अब हेरौं दीपक भट्ट र चोलेन्द्रशमशेर जबराको कनेक्सन

पूर्वप्रधानन्यायाधीश जबरा समातिनुको भित्री कारण बुझदै जाँदा सम्पत्ति शुद्धीकरण र बैंकिङ कसूरको मुद्दामा थुनामा रहेका दीपक भट्टको कनेक्सन पत्ता लगाउन प्रहरीले चोलेन्द्रलाई पक्राउ गरेको बुझिन्छ । अनि यो विषय सर्वोच्च अदालतको गत असोज ८ गतेको आदेशसँग पनि जोडिएर हेरेको पाईन्छ । 

असोज १० गते राति प्रहरीले चोलेन्द्रलाई भन्दापनि उनको मोबाइलमा भएको ह्वाट्सएप म्यासेजलाई हेर्ने चाहेको थियो । त्यही ह्वाट्सएप म्यासेज मार्फत दीपक भट्टसँगको कनेक्सन पत्ता लगाउने उद्देश्यले नै प्रधानमन्त्रीको सचिवालयले प्रहरी परिचालन गरेर प्रकाउ गरेको थियो । तर यसरी प्रहरीले प्रकाउ गरेपछि गैरकानूनी भन्दै विरोध समेत भयो । तर चोलेन्द्रको छवी स्वच्छरुपमा स्थापित नभएका कारण उनको पक्षमा विरोधको माहोल चाहि बनेन । चोलेन्द्र पक्रनुको काण दीपक भट्ट नै हुन् । भट्ट–चोलेन्द्र साँठगाँठलाई पछ्याउँदै उनलाई राति नै पक्राउ गर्नु अवस्था आएको हो ।  

चोलेन्द्रको मोबाइलमा के भेटियो ? 

चोलेन्द्र र दीपक भट्टबीचको फोनमा संवाद भएको देखिएको थियो । यसैका आधारमा चोलेन्द्र र सर्वोच्च अदालतका न्यायाधीवीच कुनै फोन सम्वाद भएको छ कि छैन भनेर हेर्दा भट्टले एकजना पूर्वप्रधानन्यायाधीशसँग पनि सम्पर्क गरेको भेटिएको बताइन्छ । दीपक भट्ट विरुद्ध २०८३ साल जेठ २८ गते उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी मुद्दा दायर भएको थियो । यो मुद्दामा दीपक भट्टसहित शाहिल अग्रवाल, शुलभ अग्रवाल र शंकरलाल अग्रवालसमेत चार जनालाई विपक्षी बनाइएको थियो । 

यो मुद्दा असार यता मासिक रुपमा चारवटा पेसी चढेर विचाराधीन रहेको अवस्था छ । शंकरलाल अग्रवालको हकमा गत मंगलबार विशेष अदाततले थुनामै पठाउनु भनेर निर्णय सुनाएको छ । असार ५ गते उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र ऋषि राजभण्डारीको इजलासले प्रतिवादी भट्ट लगायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । साउन ७ गते अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले पनि प्रतिवादीहरुलाई थुनामा पठाउने आदेश दिएको थियो । 

भदौ २२ गते गणेशप्रसाद बराल र कृपासुर कार्कीको इजलासले साक्षी बुझ्ने आदेश दिएको थियो भने गत असोज ६ गते सोमकान्त मैनाली र स्वीकृति पराजुलीको इजलासले बकपत्र समेत गराइसकेको छ । तर भदौ ७ गते दीपक भट्टका बुबा चतुर्भुज भट्टले विशेष अदालत, उच्च अदालत पाटन, विशेष सरकारी वकीलको कार्यालय माइतीघर, उच्च सरकारी वकीलको कार्यालय पाटन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहरभवन, केन्द्रिय अनुसन्धान ब्यूरो लाजिम्पाट र नख्खु कारागारलाई प्रतिवादी बनाए रिट हाले । 

असोज ८ गते नै सर्वोच्च अदालतले सरकारलाई प्रकाउ गर्नुको कारण तीन दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई विपक्षी बनाई सरकारका नाममा आदेश दियो । यसरी बिभिन्न अदालतले थुनामा पठाएको ब्यक्तिलाई फेरि सरकारलाई कारण मागेपछि यो सबै हुनुमा चोलेन्द्रको हातको हुन सक्ने आशंका छ । दीपक भट्टले कारागारमा रहेको ल्याण्डलाइनबाट पनि यो बिचमा धरै पटक चोलेन्द्रसँग सम्र्पक भएको भेटिएपछि भेटघाट र सम्पर्क गर्न गाह्रो होस् भनेर भट्टलाई सिन्धुपाल्चोक सारिएको बताईन्छ ।

दीपक भट्ट विरुद्ध कुन कुन अदालतमा मुद्दाहरु विचाराधीन छन् ?

हालसम्म भट्टविरुद्ध चारवटा अदालतमा मुद्दा चलिरहेका छन् । साढे २६ अर्ब बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा रहेको छ । सम्पत्ति शुद्धीकरण विभागले ०८३ साल जेठ २८ गते दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा दीपक भट्टसहित ३३ जना ठूला उद्योगी व्यापारीहरुविरुद्ध मुद्दा दायर ग¥यो । यो मुद्दामा दीपक भट्ट जोडिएका ६ वटा कम्पनीलाई समेत प्रतिवादी बनाइएको छ । हाल यो मुद्दा विशेष अदालतमा विचाराधीन छ । केही प्रतिवादीहरु थुनामुक्त भएता पनि दीपक भट्ट लगायत पुर्पक्षका लागि थुनामा छन् । 

भट्ट लगायतका प्रतिवादीहरुले हिमालयन रि–इन्स्योरेन्स लगायतका कम्पनीको रकम दुरुपयोग गरेको, सेयर बजार हेरफेर गरेको र अवैध सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो । यो मुद्दामा प्रतिवादीहरुसँग करिब २६ अर्ब ६३ करोड रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ ।

को–को छन् प्रतिवादी ?

दीपक भट्ट, शुलभ अग्रवाल, सन्दीप चाचल अग्रवाल, शाहील अग्रवाल, शेखर गोल्छा, उपासना पौडेल, ऋषिराज मोर, शुभाष कुमार झुनझुनवाला, शुभी अग्रवाल, सुमेर शमशेर जबरा, सुभाष बहादुर श्रेष्ठ, शुभेच्छा खरेल, मनिष कुमार, दीपक कुमार श्रेष्ठ, राजिव मोर, आमित मोर, राज कुमार यादव, मृगेन्द्रनाथ रिमाल, मनोज कुमारलाल कर्ण, प्रतापमान श्रेष्ठ, कृषिभ अग्रवाल, रितेश प्रधान, नरेश कुमार रोका, आशिष श्रेष्ठ, चिरायु भण्डारी, राजबहादुर शाह, सुरेन्द्र थापा, शिशिर गैहे, शंकरलाल अग्रवाल, शरद ओझा, मदन दाहाल, रोहित गुप्ता, राजकुमार मोर, इन्फिनिटी होल्डिङ्स प्रालि, भृकुटी स्टक ब्रोकिंङ कम्पनि ,जगदम्बा मोटर्स, सारथी क्यापिटल र हिमालयन एसेट्स म्यानेजमेन्ट यस मुद्दाका प्रतिवादीहरु रहेका छन् । जसमा ३३ जना व्यक्ति र ६ वटा कम्पनीहरु छन् । 

यो मुद्दामा जेठ २९, असार १,२,३ र साउन १२ गते पूरक पेशी तोकिएको थियो । असोज १२ गते साधारण तारेख तोकिएको थियो । असार ३ गते विशेष अदालतका तत्कालीन अध्यक्ष शुदर्शनदेव भट्टको नेतृत्वमा तीन सदस्यीय बेञ्चले थुनछेक आदेश सुनाएको थियो । जसमा दीपक भट्टलाई थुनामा पठाउने आदेश भएको थियो । साउन १२ गते अर्को थुनछेक आदेश र धरौटी तोक्ने आदेश भएको थियो ।मुद्दा अहिले पनि विचाराधीन नै छ ।

४२ करोडको बैंकिङ कसूर

उता, उच्च अदालत पाटनमा दीपक भट्ट लगायतविरुद्ध बैंकिङ कसूरसम्बन्धी मुद्दा विचाराधीन छ । जगदम्बा स्टिल्सको बैंक कर्जा करिब ४२ करोड १४ लाख रुपैयाँ दुरुपयोग गरी दीपक भट्टको खातामा रकम स्थानान्तरण गरेको आरोपमा बैंकिङ कसूरसम्बन्धी मुद्दा दायर भएको हो । यो मुद्दामा दीपक भट्टसहित साहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवालसमेतलाई प्रतिवादी बनाइएको छ । 

काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा

काठमाडौं जिल्ला अदालतमा पनि भट्टविरुद्ध मुद्दाहरु छन् । सेयर बजार म्यानिपुलेसन अर्थात् धितोपत्रसम्बन्धी कसूर गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ भने बीमासम्बन्धी कसूरको मुद्दा पनि काठमाडौँ जिल्ला अदालतमा चलिरहेको छ । भट्टको टिमले कृत्रिम सेयर कारोबार तथा बीमा कम्पनीको कोष दुरुपयोग गरेको आरोप छ । 

जिल्ला अदालतको मुद्दामा पनि दर्जनौं व्यक्तिहरुलाई प्रतिवादी बनाइएको छ । जिल्ला अदालतको मुद्दामा भने धरौटीमा रिहा गर्ने आदेश भएको अवस्था छ । सर्वोच्च अदालतमा दीपक भट्टले हालेका दुईवटा मुद्दा विचाराधीन छन् भने उनका पिता चतुर्भुज भट्टले हालेको बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि विचाराधीन छ ।

सुलभ अग्रवाल

शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल दीपक भट्टसँगै यस प्रकरणका मुख्य प्रतिवादी हुन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अभियोगपत्रअनुसार उनमाथि करिब २५ अर्ब ५९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । गत असार ३ गते विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्टसँगै उनलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । पछि काठमाडौँ जिल्ला अदालतले बिमा र धितोपत्रसम्बन्धी मुद्दामा उनलाई धरौटीमा छाड्ने आदेश दियो । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमा ऐनअन्तर्गतको कसुरमा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ तथा धितोपत्रसम्बन्धी मुद्दाहरूमा थप रकम धरौटी माग गरेको थियो । तर सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दामा विशेष अदालतको थुना आदेश कायम रहेकाले उनी तत्काल थुनामुक्त हुन सकेका छैनन् र हालसम्म न्यायिक हिरासतमा नै छन् । 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update