News 24 Television
लोकतन्त्रको रक्षाका लागि नेताहरुले खोजे सहमति र सहकार्य

काठमाडौं । राष्ट्रिय राजनीतिका शीर्ष नेताहरुले राष्ट्रिय सहमतिका साथ अघि बढ्ने प्रण गरेका छन् । नेपाली कांग्रेसको आइतबारदेखि काठमाडौंमा शुरु भएको १५ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेताहरु सहमति र सहकार्यबाट नै अघि बढ्नुको विकल्प नभएको बताएका हुन् । 

प्रमुख राजनीतिक दलका नेताहरुले राष्ट्रिय सहमतिका साथ मुलुक अघि बढाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको आइतबारदेखि काठमाडौंमा शुरु भएको १५ औं महाधिवेशनको खुलामञ्चमा भएको उद्घाटन समारोहमा बोल्दै नेताहरुले सहमति र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । 

उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्राप्त जनमतलाई तोडमोड नगर्न आग्रह गर्दै आफू सहमति र सहकार्यबाटै अघि बढ्ने बताए । यस्तै, एमाले महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि सहमति र सहकार्यमै जोड दिएका छन् । 

नेपाली कांग्रेसका सभापति गगन थापा र उपभापति विश्वप्रकाश शर्माले पनि सहमति र सहकार्यमै जोड दिए । लोकतन्त्रको रक्षाका लागि सबै शक्तिहरुबीचको साझ सहकार्य नै आवश्यक रहेको उनीहरुको भनाई छ । थापाले ऐतिहासिक महत्व रहेको खुलामञ्चको महत्व दर्शाउँदै विपीको मेलमिलापको नीतिको चर्चा गरे । यद्यपी पछिल्लो दुई दशक नेपाली कांग्रेस पद र सत्तामा मात्रै केन्द्रित भएको उनको भनाई थियो । 

शर्माले मुलुकका जल्दाबल्दा मुद्दाहरुमा दलहरुबीच साझा संकल्प र सहकार्य आवश्यक रहेको बताए । जलवायु परिवर्तनको सङ्कटसँग जुध्न र विश्व समुदायबाट क्षतिपूर्ति प्राप्त गर्न राष्ट्रिय एकता आवश्यक रहेको नेताहरुको भनाई छ । 

महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिने सबैजसो दलका नेताहरुले सहमति र सहकार्यमा जोड दिँदै गर्दा नेपाली कांग्रेसमै एकता हुन सकेको छैन । पूर्व सभापति शेरबहादुर देउवा खेमाले महाधिवेशन बहिष्कार गरि आगामी मंसिरमा छुट्टै महाधिवेशन तय गरेका छन् । 

गगनको प्रतिवेदनमा समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा

महाधिवेशनमा पेश गर्न सभापति गगन थापाले तयार पारेको राजनीतिक प्रतिवेदनमा कांग्रेसको समीक्षादेखि भावी कार्यदिशा तय गरिएको छ । कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको उक्त प्रतिवेदनमा पार्टीको पुनर्संरचनामा विशेष जोड दिइएको छ । साथै सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा समेटिएको छ । कांग्रेस महाधिवेशनको बन्दसत्र असोज सोमवार र मंगलबार सञ्चालन हुनेछ भने असोज २१ र २२ गतेका लागि निर्वाचन कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update