News 24 Television
चर्चित कलाकारदेखि रोबोट बने महाधिवेशनको आकर्षण

काठमाडौं । नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनमा नेतृत्वमा आकांक्षी बढी हुँदा २ सय ३१ केन्द्रीय सदस्यबाट २९७ पुर्याइएको छ । केन्द्रीय सदस्य मात्र होइन, पदाधिकारीको संख्या पनि थप गरिएको छ । 

इतर समूहमा सक्रिय भएर पनि अन्तिम समयमा साथ दिएकालाई समेट्न पनि गगन थापालाई चुनौति छ । उपसभापतिदेखि केन्द्रीय समितिसम्म नै यस्ता चर्चित अनुहार खडा भएका छन्, जसले राजनीतिक हस्तीहरुलाई पनि झस्काइदिएका छन् । 

नेपाली कांग्रेसको एउटा यस्तो समूह छ । जो, आफूलाई राजनीतिको हस्ती ठान्ने गर्छ । युवा नेता कार्यकर्ताप्रति उनीहरुलाई भरोसा समेत छैन । यद्यपी विशेष महाधिवेशनबाट आएको सिङ्गो टिमलाई नै अस्वीकार गर्दै आए पनि अन्तिम समयमा शेरबहादुर देउवादेखि शेखर कोइरालाको साथ छाडेर महाधिवेशनमा होमिएका उनीहरु जारी १५ औं महाधिवेशनबाट केन्द्रीय समितिमा आउने ध्याउन्नमा छन् । तर रोचक यो छ कि आफूले भरोसायोग्य नठानेका अनि कच्चा ठानेका युवाहरु कडा प्रतिष्पर्धी बनेका छन् । 

महाधिवेशनमा पनि जो सबैका प्रिय छन् 

केही यस्ता पात्रहरु छन्, जनताको मतबाट चुनाव जितेर जनप्रतिनिधि भई उस्तै चर्चामा रहेकाहरु पनि बलियो प्रतिष्पर्धी बनेका छन् । ती मध्येका एक हुन्, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन । केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका महर्जन सबैको प्रिय देखिएका छन् ।

उनी सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्रको प्रतिष्पर्धालाई सामान्य ठान्छन् ।  चिरिबाबुजस्तै बासना थापा पनि सबैको नजरमा परेकी छन् । संघीय संसद अन्तगर्त प्रतिनिधिसभाको प्रमुख सचेतक थापाले महिला खुल्लातर्फ केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएकी छन् । दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित थापाको प्रस्तुती प्रतिनिधिसभामा पनि शालिन देखिएको छ । तर पनि उनले अग्रजहरुलाई सम्मान गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । 

उपसभापतिमा रोचक प्रतिष्पर्धा

नेपाली कांग्रेसमा उपसभापति पदमा सबैभन्दा रोचक प्रतिष्पर्धा हुने देखिएको छ । संशोधित विधान अनुसार बरिष्ठ सहित ५ उपसभापति पद निर्धारण गरिएको छ । ती मध्ये एक महिला र एक समावेशी अनिवार्य गरिएपछि दुई खुलामा कडा प्रतिष्पर्धा हुनेछ । 

बरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा प्रतिष्पर्धीविहिन हुँदा चार उपसभापतिको भिडन्त रोचक बनेको छ । धनराज गुरुङ, मीनेन्द्र रिजाल, जीवन परियार उपसभापतिको प्रतिष्पर्धी छन् । समावेशीमा जीवनलाई फरमुल्ला मन्सुर र अर्बपति उद्योगी विनोद चौधरीले चुनौति दिएका छन् । धनराज र मिनेन्द्रका लागि पनि फलामको चिउरा बनेको छ उपसभापति पद । 

विशेष महाधिवेशनमा गगन, विश्वप्रकाशको काँध थापेका देवराज चालिसेदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, चन्द्र भण्डारी तथा पुराना नेताहरु गोविन्द्र भट्टराई र  प्राडा. चन्द्रमोहन यादव पनि उपभापति पदमै प्रतिष्पर्धी छन् । 

प्रदीप पौडेललाई चुनौति 

विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल जारी १५ औं महाधिवेशनबाट पनि  महामन्त्रीमै दोहोरिन चाहेका छन् । तर उनका लागि पनि सहज भने छैन । 

संशोधित विधानअनुसार अनिवार्य एक महिलासहित ३ महामन्त्रीको पद स्थापन गरिएको छ । पौडेललाई आफूलाई राजनीतिक विश्लेषक बताउने शंकर तिवारीदेखि नैनसिंह महर, सुनीलकुमार शर्मा, नैनसिंह महर लगायतले चुनौति दिएका छन् । 

गायक गायिकादेखि निर्देशकसम्म प्रतिष्पर्धामा

कांग्रेस महाधिवेशनबाट नयाँ कार्य समितिका लागि  प्रतिष्ठित गायक गायिकादेखि फिल्म निर्देशक समेत प्रतिष्पर्धामा उत्रिएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी गायिका रीता थापा मगरले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । थापाको प्रस्तावक गायक सुवास केसी समर्थकमा गायक चन्द्र शर्मा छन् । 

चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले पनि केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् । रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका कटुवालले पेशागततर्फ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

यस्तै, चलचित्र निर्देशक मिनबहादुर भामले पनि उम्मेदवरी दर्ता गराएका छन् । कालोपोथी चलचित्रबाट चर्चामा रहेका भामले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन् । 

भोट माग्दै रोबोट 

नेपाली कांग्रेसको महाधिवेशनमा अर्को रोचक भनेको रोबोट पनि बनेको छ । इन्जिनियर नवराज त्रिपाठीले रोबोटको प्रयोगबाट भोट मागिरहेका छन् । केहीदिन यता देशका विभिन्न विद्यालयहरुमा प्रदर्शन गरिँदै आएको रोबोटले पाठकका लागि महाधिवेशनस्थालमा भोट मागिरहेका छन् । 

नवराजको अघिअघि भोट माग्ने हिड्ने रोबोटले महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागिसकेपछि ‘जय नेपाल’ भन्छ । रोबोटले महाधिवेशनमा आकर्षण पनि थपेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update