झापा । झापाको मेचीनगर नगरपालिकामा प्रारम्भिक जाँच, आवश्यकता पहिचान तथा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिएको छ । सम्भावित अपाङ्गता भएका व्यक्तिको अवस्था समयमै पहिचान गरी आवश्यक सेवा र सुविधासँग जोड्ने उद्देश्यले सो कार्यक्रम संचालन गरिएको हो ।
अशक्त तथा अपाङ्गता भएकाहरूको प्रारम्भिक स्वास्थ्य तथा शारीरिक अवस्था परीक्षणसँगै उनीहरूलाई आवश्यक पर्ने सेवा, सुविधा र सहयोगका विषयमा पहिचान गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको मेचीनगर नगरपालिकाले जनाएको छ ।
यो अभियान मार्फत अभिभावकलाई समेत अपाङ्गता भएकाहरूको अवस्था, आवश्यक हेरचाह तथा उपलब्ध सरकारी सेवाका विषयमा जानकारी गराइएको छ । कार्यक्रममा सहभागी अभिभावक जीतबहादुर तामाङले आफ्नो बालबालिकाको अवस्था बुझ्न र आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्क गर्न पाउनु महत्वपूर्ण भएको बताए।
अपाङ्गता भएका बालबालिकाको उपचार, शिक्षा र दैनिक जीवन सहज बनाउन परिवारले धान्न मुस्किल हुने हुँदा राज्यले समेत आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ । अपाङ्गताको क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता धर्मराज घिमिरेले अपाङ्गताको पहिचान ढिलो हुँदा बालबालिकाले पाउनुपर्ने सेवा तथा अवसरबाट वञ्चित हुन सक्ने बताए ।
प्रारम्भिक अवस्थामै अपाङ्गता पहिचान गरी आवश्यक उपचार, पुनःस्थापना, शिक्षा तथा सहायक सामग्रीको व्यवस्थापन गर्न सके बालबालिकाको जीवन सहज बनाउन सकिने उनको भनाइ थियो ।
मेचीनगर महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले सम्भावित अपाङ्गता भएका व्यक्तिको अवस्था पहिचान गरी आवश्यकताअनुसार सरकारी सेवा र सुविधासँग जोड्नु कार्यक्रमको उद्देश्य रहेको बताइन् । प्रारम्भिक जाँचबाट अपाङ्गता भएकाहरूको वास्तविक आवश्यकता पहिचान गर्न सहज हुने उनले बताइन् ।
उनले कोशी प्रदेश सरकार, करूणा फाउन्डेसन र मेचीनगर नगरपालिकाको आर्थिक साझेदारीमा अपाङ्गताको क्षेत्रमा करोडौंको बजेटमा काम गरिरहेको बताइन् ।
मेचीनगरमा हालसम्म १ हजार ७ सयबढी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई सेवा सुविधा संगै आवश्यक सहायक सामाग्री प्राथमिकता साथ उपलब्ध गराइरहेको उनको भनाइ छ ।
मेचीनगरकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको जिम्मेवारी भएको बताइन् ।
अपाङ्गता भएका बालबालिकालाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र पुनःस्थापनाका कार्यक्रमसँग जोड्दै उनीहरूको क्षमता विकासमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले अपाङ्गता भएका व्यक्तिको पहिचान र परिचयपत्र वितरणलाई औपचारिक प्रक्रियामा सीमित नगरी त्यसबाट प्राप्त हुने सेवा–सुविधामा उनीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने बताइन् ।
कार्यक्रममा प्रारम्भिक जाँचमार्फत सम्भावित अपाङ्गता भएका व्यक्तिको अवस्था पहिचान गर्नुका साथै आवश्यकताअनुसार परिचयपत्र वितरण तथा सम्बन्धित सेवा–सुविधाका लागि सहजीकरण गरिएको आयोजकले जनाएको छ ।


