काठमाडौं । सशस्त्र प्रहरीका अतिरिक्त महानिरिक्षक (एआइजी) वंशीराज दाहालले पदीय आचरण विपरितका काम गरेको भन्दे बर्खास्ती सिफारिसमा परेका छन्। वंशीराजले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासंग विवादास्पद व्यवसायी दीपक भट्टलाई छुटाउने खेलमा सघाएकोदेखि अर्का विचौलियासंगको सम्पर्क गरेको भन्दै उनी पदीय संकटमा हेलिएका हुन् ।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले पदीय गरिमा बचाउन नसकेको र आचरणविपरीतका गतिविधिमा संलग्न रहेको भन्दै उनीविरुद्ध जाँचबुझ गर्न बनेको समितिले बर्खास्त गर्न सिफारिस गरेको छ। गृह मन्त्रालयले दाहालबारे छानबिन गर्न सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनी पोखरेललाई जिम्मा दिएको थियो।
बिहीबार साँझ बुझाइएको प्रतिवेदनले उनका गतिविधि आचरणविपरित भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो। गृह मन्त्रालयले गत सोमबार एआईजी दाहाललाई निलम्बन गर्दै जाँचबुझ समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउन भनेको थियो। अब गृहमन्त्रालयले यहि आधारमा कारबाही प्रक्रिया अघि बढाएको छ।
वंशीराजले के गरे ?
सुरक्षा निकायको उपल्लो पदमा रहेका वंशीराजले पूर्पक्षका लागि थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टको मुद्दा मिलाउने भन्दै अघि बढेका इनम सापकोटासंग सम्पर्क गरेको आरोप छ। उनीहरुलाई सहयोग पुग्ने सूचना दिने काम गरेका वंशीराजले राज्यविरुद्धको काम गरेको आरोप लागिरहेको छ भने पुर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमा सेटिङ मिलाउने भन्दै रकम नै बुझेको आरोप लागिरहेको छ।
जसमा चोलेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिन वित्तिकै असोज ११ गते वंशीराज प्रहरी कार्यालय पुगेर भेटेका थिए। त्यसपछि उनको सम्पर्क इनम सापकोटासंग स्थापित भएको देखिन्छ। तर, वंशीराजले इनमसंगको सम्बन्ध व्यक्तिगत भएको भनेका छन् ।
उनीहरु दुबैजना झापाका स्थायी वासिन्दा समेत हुन्। जिल्लावासी भएकै कारण चिनजान र सम्बन्ध रहेको उनको दाबी छ। तर,वंशीराजले चोलेन्द्रलाई प्रहरी कार्यालयमा भेटेपछि नै चोलेन्द्र पक्राउको सूचना बाहिरिएको गृहमन्त्रालयको दाबी छ ।
त्रिकोणात्मक सम्बन्ध
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसंग इनम सापकोटाको सम्पर्क हुने गरेको गृहको दाबी छ। चोलेन्द्रसंग सम्पर्कमा रहेका इनमसंग वंशीराजको सम्बन्ध देखिएछि यसलाई त्रिकोणात्मक ढंगले अनुसन्धान थालिएको छ। विवादास्पद व्यवसायी दीपक भट्ट पूर्पक्षमा थुनामा रहेको बेला बाहिर देखिएको यो सक्रियतालाई प्रहरीले सुक्ष्म अध्ययन गर्दा चोलेन्द्र पक्राउ परेको र चोलेन्द्रको मोबाइलबाट यसमा सम्पर्क सुत्रहरु सार्वजनिक हुँदै गएको देखिन्छ। उसोत; अहिले दीपक भट्टलाई कारागार सरुवा नै गरिएको छ। यसरी प्रहरी सक्रिय बनेपछि इनम दिल्ली जानका लागि विमानस्थल पुगेको बेला प्रहरीले पक्राउ गरेर ल्याएको छ। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान चलिरहेपनि प्रहरीले कस्तो खालको अभद्र व्यवहार भन्ने कुरा खुलाएको छैन्।
चोलेन्द्र चलखेल
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू प्रधानन्यायाधीश भएकै बेला एक अनलाइन सञ्चार माध्यम आफ्ना छोरामार्फत सञ्चालन गराएका थिए। उनीविरुद्ध समाचारका शीर्षक बन्न थालेपछि त्यसलाई रोक्न सञ्चार माध्यम नै चलाएका चोलेन्द्र अदालतबाट समेत तीतो अनुभवका साथ बाहिरिन बाध्य बने। राजनीति र सत्ता अभ्यासमा माहिर चोलेन्द्र पछिल्लो समय आफू अनुकुलको न्यायिक नेतृत्व आएको भन्दै हौसिदा फसाद्मा परेका हुन्। दीपक भट्टको सर्वोच्चमा मुद्दा जाने, पेशी चढ्ने जस्ता धेरै काम भएपछि सरकारले यसलाई मिहिन ढंगले हेरेको देखिन्छ। दीपक भट्ट प्रकरणकै कारण यसअघि सरकार ढल्ने गथ्र्यो भने अहिले सरकारले कडा रुपमा अनुसान्धान थाल्दा हाइप्रोफाइल समेत तानिने खतरा बढेको छ। चोलेन्द्रले न्यायिक नेतृत्वमा जसरी असफलता ब्यहोरे, दीपक प्रकरणमा समेत यस्तै नियति हुने बन्दै चर्चा शुरु भएको छ ।
वंशीराजलाई कारबाही सिफारिस
विवादास्पद व्यवसायी दिपक भट्टलाई छुटाउने खेलमा सक्रिय बन्दा वंशीराज सशस्त्रको उपल्लो पदमा हुँदा हुँदै पदीय संकटमा फसेका हुन्। चोलेन्द्रलाई भेट्न बिहान ३ बजे पुगेपछि शंकाको घेरामा परेका उनको सम्पर्क सुत्र खोज्दै जाँदा देखिएको कनेक्सनकै कारण संकटमा परेका हुन् । जाँचबुझ समितिले आचरण विपरितको काम गरेको निष्कर्षसहित सशस्त्र प्रहरीको नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरेको बताइएको छ ।
नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । त्यसको (क) मा सामान्यस सजाय राखिएको छ भने (ख) मा विशेष सजायको प्रावधान छ । विशेष सजायमा भविष्यमा सहकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भनिएको छ । तर, अन्तिम निर्णय भने गृहकै हुने बताइन्छ ।
दीपकविरुद्ध थपिदै मुद्दा
दीपक भट्टविरुद्ध बिमा ऐनअन्तर्गत छैटौं मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालत काठमाडौंमा भट्टसहित १८ जनालाई प्रतिवादी बनाउदै बिमा ऐनअन्तर्गतको मुद्दा दायर गरेको छ। यसअघि दीपक र उनको समूहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण र जिल्ला अदालतमा बिमा ऐनलगायतका मुद्दा विचाराधीन छन् ।
बिहीबार दायर भएको मुद्दामा बिमा प्राधिकरणको पत्रका आधारमा दायर अभियोगपत्रमा बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालगायत १८ जनालाई प्रतिवादी बनाइएको छ ।
जसमा हिमालयन रि–इन्स्योरेन्सको सेयरमा चलखेल गरेको, राज्यलाई नोक्सान पु¥याइएको र योजनाबद्ध रूपमा रकम हिनामिना गरिएको अभियोग लगाइएको छ। भट्टविरुद्धका यस्ता मुद्दा थपिनेक्रम चलिरहेको छ भने अनुसान्धान समेत चलिरहेकाले मुद्दा थपिन सक्ने अवस्था समेत देखिन्छन् ।


