News 24 Television
ब्यवसायिक घरानाको गडबडीले ब्यवसायिक साम्राज्य संकटमा

काठमाडौं । राजनीतिक पहुँचको बलमा करोडौंको कालोबजारीदेखि अर्बौंको कर छुट र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा परेपछि नेपालकै एक प्रतिष्ठित व्यापारिक घराना शंकर समूहको बदमासीका गतिबिधि सार्वजनिक भइरहेका छन । समूहका अध्यक्ष शंकरलाल अग्रवाल र उपाध्यक्ष सुलभ अग्रवाल पुर्पक्षका लागि कारागार चलान भएपछि, उनीहरूका विभिन्न १८ कम्पनीमा लगानी भएको १ खर्बभन्दा बढीको बैंक कर्जा र समग्र व्यावसायिक साम्राज्य नै जोखिममा परेको छ ।

आफ्नै रफ्तारमा ब्यवसाय गरिरहेको शंकर समूहले विवादित व्यवसायी दिपक भट्टसँगको भेटपछि राजनीतिक पहुँच विस्तार गर्दै गयो । भट्ट र शंकर समूहको दोस्ती एकअर्काका परिपूरक बने । भट्ट मालामाल बन्दै गए । तर अहिले उनीहरुको कर्तुत खोज्ने काम भइरहेको छ । 

कोरोना महामारीको समयमा ज्वरो नाप्ने थर्मल गनको चरम अभाव थियो । २०७६ चैत २५ गते शंकरका छोरा सुलभ त्यही थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परे । पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको प्रहरीको आरोप थियो । त्यतिबेला उनको साथबाट ६७ थान थर्मल गन प्रहरीले बरामद गरेको थियो । 

अग्रवाल कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूतसमेत थिए । कोरोनाको संक्रमण फैलन नदिन भन्दै सरकारले सार्वजनिक र निजी सवारी चलाउन समेत नदिएर लकडाउन गरेका बेला अग्रवालले आफ्नो पदको दुरुपयोग गर्दै कूटनीतिक नियोगकै नीलो नम्बर प्लेटको गाडी प्रयोग गरेर समान ल्याउने लैजाने धन्धा गरिरहे । 

त्यहीबेला सुलभ समातिए । सुलभ पक्राउ परेपछि बल्ल यो समूहले राजनीतिक पहुँचको महत्व र अभाव महसुस ग¥यो । भट्टले राजनीतिक पहुँच प्रयोग गरेर सुलभलाई छुटाए । त्यसपछि भट्ट र शंकर समूहबीच साझेदारी व्यवसाय सुरु भयो । भट्टले राजनीतिक पहुँच र सेटिङ मिलाउने शंकर समूहले पैसा हाल्न काम गरे । 

२०७१ अघि नेपालमा पुनर्बिमा कम्पनी थिएन । त्यसै बर्षको कातिर्क २१ गते सरकारको ४३ प्रतिशत र बिमा कम्पनीहरूको ५७प्रतिशत सेयर लगानीमा नेपाल पुनर्बिमा कम्पनी स्थापना भयो । 

भट्टकै पहलमा तत्कालीन बिमा समिति अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाललाई ल्याइयो । सिलवाललाइ ल्याउनुको मुख्य उद्देश्य पुनर्बिमा र बिमा कम्पनीको लाइसेन्स यो समूहलाई दिलाउनु रहेको थियो । 

सिलवालले दुवै सर्त पूरा गरिदिए । परिणाम स्वरुप यो समूहले पुनर्बिमा कम्पनी र आधा दर्जन बढी लघुबिमा कम्पनीको लाइसेन्स हात पा¥यो । २०७८ जेठ १० गते १० अर्ब पुँजीसहित हिमालयन रिइन्स्योरेन्स कम्पनी स्थापना भयो, जसमा सबैभन्दा बढी सेयर लगानी शंकर समूह र भट्टको छ । शंकर समूह र भट्टको सहकार्य यतिमै रोकिएन । सरकारको बजेटमै हस्तक्षेप गरेर शंकर समूहका लागि अनुकूल हुने गरी नीति बनाउन थालियो । 

आर्थिक वर्ष २०७८\७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा अर्थमन्त्री जनार्दन शर्माले पूरक बजेट ल्याएका थिए, जसमा अन्य उद्योगलाई पन्छाएर जगदम्बा स्टिल्सलाई लाभ हुने गरी कच्चापदार्थमा कर छुट दिइयो । 

त्यस्तै २०७९÷८० को वार्षिक बजेट घोषणाको अघिल्लो रात २०७९ जेठ १४ गते सिंहदरबारमा बिचौलिया छिराएर स्वार्थ समूहलाई लाभ हुने गरी करका दर हेरफेर गरिएको घटना बाहिरियो । यो हेरफेरमा पनि भट्ट र शंकर समूह नै जोडिएको थियो । भट्टको साथ पाएर शंकर समूहअन्तर्गत उद्योग–व्यवसायले नाजायज लाभ लिईरहयो ।

त्यही बेला जुन २०२१ मा भट्ट र शंकर समूहका सञ्चालकका नाममा रहेको सिद्धार्थ बैंकमा रहेको खातामा जगदम्बा स्टिल प्रालिका नाममा नेपाल इन्भेस्टमेन्ट बैंकको आफ्नो खाताबाट ४५ करोड ट्रान्सफर गराएको भेटिएको थियो । 

यता, जगदम्बा स्टिलको २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदनमा भट्ट र उनको कम्पनीसँग ४५ करोडको कारोबार भएको पनि फेला परेको थियो । 

त्यस्तै २०२१ जुन र जुलाईमा भट्टका नाममा ओभरड्राफ्ट खातामा ३० करोड १५ लाख ८७ हजार ट्रान्सफर गरिएको र यही खाताबाट नै ४५ करोड ४ लाख ४५ हजार निकालिएको भेटिएको थियो । तर, शक्तिकेन्द्रकै दबाब÷प्रभावमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानमा टुंगोमा नपु¥याई रोकेर राखेको थियो । 

वैशाख २०८२ मा विभागले नै अनुसन्धान फाइल विस्तृत अनुसन्धानमा नलगी मुद्दा नचल्ने निर्णय गरेर राष्ट्र बैंकलाई नै फिर्ता पठाएको थियो । तर, वालेन्द्र शाहको नेतृत्वमा गत बर्षको  चैत २३ गते सरकार गठन लगत्तै विभागले पहिले बन्द गराएको फाइल खुलाएपछि दुई ठूला व्यापारिक समूहका सञ्चालक सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा परेका हुन् ।

अदालतले भट्ट सहितलाई शंकर ग्रुपका अध्यक्ष शंकरलाल र उनका छोरासमेत रहेका ग्रुपका उपाध्यक्ष सुलभलाई पूपक्षको लागि करागार चलान गर्यो । सुलभ तीन महिनादेखि हिरासतमा नै छन । 

यतिमात्र होइन, हिल्टन होटलमा पनि शंकर गुपु्रको लगानी छ । जहाँ उसले ५ अर्ब भन्दा बढी लगानी गरेको छ तर गत बर्षको जेन्जी आन्दोलनमा होटलमा आगजानीे भएपछि यसमा अर्को बिवाद निस्केको थियो ।

बिमा दाबी गर्नेको लागी मूल्य बढाएर दिपक भट्टले बिमा कम्पनीबाट प्रकृया अगाडि बढाएका थिए । अहिले शंकरलाल र सुलभ कारागार चलान भएपछि उनीहरु कम्पनी चलाउन बैंकबाट लिएको ऋण पनि जोखिममा परेको देखिन्छ । 

जगदम्बा स्टिल्स, जगदम्बा मोटर्स, सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, युनियन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, जगदम्बा इन्टरप्राइजेज, जगदम्बा फ्लोर एन्ड एग्रो, जगदम्बा मोबाइल्स, जगदम्बा अल्कोबेभ, जगदम्बा ओभरसिज, मोदीखोला हाइड्रोपावर, बलेफी हाइड्रोपावर र जगदम्बा हायरपर्चेज मुख्य कम्पनी हुन् । 

यी उद्योग–व्यवसाय काठमाडौंदेखि जितपुर, सिमरा, भैरहवा, लुम्बिनी, परवानीपुरसम्म छन् । देशकै ठूलो व्यावसायिक समूहका प्रमुख व्यक्तिहरू पक्राउ पर्दा खर्बौको कारोबार गर्ने र बैंकहरूबाट खर्बभन्दा माथि ऋण स्वीकृत भएका व्यवसाय के होला भन्ने चासो बढेको छ । 

यसले बैंकहरुको लगानी जोखिममा भएको प्रष्ट संकेत गर्छ । शंकरलाल अग्रवाल अध्यक्ष रहेको शंकर समूहअन्तर्गत नै दुई समूह छन् । जसमध्ये जगदम्बा होल्डिङ्सको नेतृत्व सुलभ अग्रवालले र जगदम्बा ग्रुपको नेतृत्व साहिल अग्रवालले गरिरहेको देखिन्छ । 

कति छ ऋण ?

विभिन्न क्षेत्रमा करिब ४० भन्दा बढी कम्पनी सञ्चालन गरे पनि मुख्यतया करिब डेढ दर्जन ठूला कम्पनीमा १८ वटा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब रुपैयाँभन्दा बढी कर्जा सीमा स्वीकृत भएको देखिन्छ । 

शंकर ग्रुपको मुख्य लगानी रहेका १३ वटा कम्पनीको १ खर्बभन्दा बढीको कर्जा स्वीकृत भएको छ । जसमध्ये १८ वटा बैंकबाट करिब ८० अर्ब कर्जा प्रयोग भएको देखिएको छ । शंकर समूहका अध्यक्ष र उपाध्यक्षमाथि नै पूर्पक्षका लागि कारागार चलान भएपछि राष्ट्र बैंकले पनि उक्त समूहको कर्जामाथि सूक्ष्म निगरानी राखेको छ ।

कुन कम्पनीको ऋण कति ?

जगदम्बा स्टिलको ३३ अर्ब १५ करोड

सौर्य सिमेन्टको १४ अर्ब ८७ करोड

ऋद्धि सिद्धि सिमेन्टको ११ अर्ब ९४ करोड

शुभश्री जगदम्बा सिमेन्ट (सौरभ ग्रुपसँगको पार्टनर) २ अर्ब १५ करोड

जगदम्बा सिमेन्ट (सौरभ ग्रुपसँग पार्टनर) १ अर्ब २४ करोड

जगदम्बा मोटर्स प्रालिको ५ अर्ब ९७ करोड

जगदम्बा हस्पिटालिटी ग्रुप लि.(हिल्टन होटल) ५ अर्ब ३० करोड

८ अर्ब लागतमा बनेको यो होटल गत बर्षको भदौ २४ गते  जन्जी पर्दशनको 
क्रममा आगजनीमा पर्यो । 

बलेफी हाइड्रोपावरले ६ अर्ब ७७ करोड

मोदी इनर्जीले ३ अर्ब ६५ करोड

अपर बलेफी हाइड्रोपावर ७ अर्ब २५ करोड

जगदम्बा अटो ग्रुप प्रालिको १ अर्ब ९१ करोड

जगदम्बा हायर पर्चेजको १ अर्ब ७२ करोड

जगदम्बा मोबाइल्सको ९० करोड

जगदम्बा स्पिनिङ मिल्सको ३ अर्ब ७२ करोड

जगदम्बा इन्टरप्राइजेज १५ अर्ब ८१ करोड

जगदम्बा सिन्थेटिक्सले ३ अर्ब ५९ करोड 

जगदम्बा फ्लोर एन्ड एग्रोले १ अर्ब ५४ करोड 

देशकै ठूलो व्यावसायिक समूहका ब्यक्तिहरु नै कानुनी कारबाहीमा पर्दा उनीहरूको खर्बौंको कारोबार र बैंकहरूको लगानीको सुरक्षालाई लिएर चासो पैदा भएको छ । 

अर्कोतिर अनुसन्धानले भट्ट र शंकर समूहको साझेदारीमा मात्र सीमित रहन्छ कि शंकर समूहको अन्य उद्योग–व्यवसायसम्म फैलिन्छ, त्यो भने अहिल्यै यकिन भइसकेको छैन ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update