काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा पार्टीको शक्ति सन्तुलन बदलिएको छ । उपसभापति र महामन्त्रीको मतगणना सकिएसँगै थापाको नेतृत्वमा पार्टी सञ्चालन गर्ने जिम्मेवारीमा पुग्ने नेताहरूको टुंगो लाग्दै गएको छ । सभापति गगन थापाको टिममा पदाधिकारीहरु चुनिने क्रम जारी छ । अहिलेसम्म चुनिएका पदाधिकारीहरुमध्ये कांग्रेसको नयाँ नेतृत्व संरचनामा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन् ।
भण्डारीले तीन हजार सात सय ३५ मत प्राप्त गर्दै सर्वाधिक मत ल्याए भने आचार्यले दुई हजार तीन सय ४२ मत पाए । यी दुई नेताको काँधमा पार्टीको संगठनात्मक जिम्मेवारी सम्हाल्ने चुनौती थपिएको छ । उपसभापति समावेशीतर्फ भने बिनोदकुमार चौधरी निर्वाचित भएका छन् । अर्बपति नेपाली व्यवसायी चौधरीले एक हजार सात सय ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६ सय ५८ मत पाए । यसैगरी, समावेशी उपसभापतिमै प्रतिष्पर्धा गरेका फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा चौधरीको विजयले कांग्रेसको नयाँ नेतृत्वमा समावेशीसँगै व्ययसायिक प्रतिनिधित्व पनि थपिएको छ । अब महामन्त्रीतर्फ जाऔँ । महामन्त्रीलाई पार्टीको संगठन, रणनीति र दैनिक राजनीतिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने जिम्मेवारी हुन्छ । खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् । पौडेलले चार हजार एक सय ९४ मत ल्याउँदै पहिलो स्थान हासिल गरे भने राणाले दुई हजार तीन सय ३० मत पाए । महामन्त्रीमै भिडेका डा. सुनिलकुमार शर्माले दुई हजार दुई सय ५७ मत प्राप्त गरे पनि विजय हासिल गर्न सकेनन् ।
यता महिला महामन्त्रीमा डा. डिला संग्रौला पन्त निर्वाचित भएकी छन् । उनले तीन हजार एक सय १८ मत प्राप्त गर्दा महालक्ष्मी उपाध्याय डिनाले दुई हजार आठ सय ६४ मत पाइन् । अर्की प्रतिष्पर्धी रीता खनालले आठ सय चार मत प्राप्त गरिन् । देउवा पक्षले समानन्तर कांग्रेसको अभ्यास गरिरहेको अवस्थामा सभापति थापाले नयाँ पदाधिकारीसहितको कांग्रेस कसरी परिचालन गर्छन्, गुटगत राजनीति अन्त्य गर्न सक्छन् कि सक्दैनन् र कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन सक्छन् कि सक्दैनन् ? यी प्रश्नहरुसँगै कांग्रेसको नयाँ टिमलाई चुनौति पनि थपिएको छ ।


