काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरादेखि एमालेका उच्च तहका नेतासम्मको सम्बन्ध खोतल्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय भएको छ ।
१३ वर्ष पुरानो रक्तचन्दन तस्करी प्रकरणमा नवीनराज बस्नेत पक्राउ परेपछि उनको सम्पत्ति, राजनीतिक कनेक्सन र पुराना आपराधिक घटनामाथि अनुसन्धान अघि बढाइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनीनिकट व्यक्तिहरूको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ ।
विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि अनुसन्धानको दायरा फराकिलो बनाएको विभागले १३ वर्ष पुरानो रक्तचन्दन तस्करी प्रकरणका फरार प्रतिवादी नवीनराज बस्नेतलाई पक्राउ गरेको छ ।
बस्नेतको राजनीतिक सम्बन्ध, पुराना आपराधिक प्रकरण र सम्पत्तिको स्रोतबारे अनुसन्धान भइरहेकाले यो प्रकरणमा एमालेका उच्च तहका नेतासम्म अनुसन्धान पुग्न सक्ने अनुमान गरिएको छ ।
पूर्वप्रधानन्यायाधीशको सम्पत्तिमाथि पहिलोपटक अनुसन्धान अघि बढाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राजनीतिक र व्यावसायिक सम्बन्धको समेत खोजी गरिरहेको छ । विभागको अनुसन्धानको घेरामा परेका व्यक्तिहरूमध्ये नवीनराज बस्नेत पनि एक हुन् ।
उनीमाथि १३ वर्षअघि काठमाडौंको गुह्येश्वरीबाट बरामद २२६ किलो रक्तचन्दन तस्करी प्रकरणमा संलग्न रहेको आरोप छ ।
विभागले असोज २१ गते पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित चार जनाको निवासमा एकैपटक छापा मारेको थियो । जबरासँग निकट देखिएका इनम सापकोटालाई पक्राउ गरी राष्ट्र बैंकसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट म्याद लिइएको छ ।
उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानसमेत अघि बढाइएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि जबरा र उनीनिकट व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको हो ।
यही अनुसन्धानका क्रममा बस्नेतको पुरानो आपराधिक प्रकरणसमेत ब्युँताइएको हो ।
१३ वर्ष पुरानो रक्तचन्दन मुद्दा ब्युँतियो
२०६९ चैत १८ गते काठमाडौंको गुह्येश्वरीबाट प्रहरीले बालुवाले छोपेर लैजाँदै गरिएको २२६ किलो रक्तचन्दन बरामद गरेको थियो । उक्त घटनामा प्रयोग भएको बा १ ख ५७५९ नम्बरको टिप्परका चालक सिन्धुलीका भीमकुमार सुनार र सहचालक सर्लाहीका नीरबहादुर सिंह पक्राउ परेका थिए ।
सुनारको बयानअनुसार पेप्सीकोला टाउन प्लानिङ रहेको कालिञ्चोक सप्लार्यका सञ्चालक समेत रहेका बस्नेतले जोरपाटीमा बालुवा लैजानुपर्ने भन्दै उनलाई फोन गरेका थिए । बालुवा बोकेको टिप्परभन्दा अगाडि बस्नेत मोटरसाइकलमा गएको सुनारले बयानमा बताएका थिए ।
गुह्येश्वरी पुगेपछि सादा पोसाकका प्रहरीले टिप्पर नियन्त्रणमा लिएर खानतलासी गर्दा बालुवामुनि लुकाइएको रक्तचन्दन भेटिएको थियो । प्रहरीले सोधपुछ गर्दा चालक र सहचालकले बस्नेतको नाम लिएका थिए ।
२०७० वैशाख ९ गते अदालतमा दायर अभियोगपत्रमा बस्नेतको नाम उल्लेख भए पनि उनको नागरिकता र ठेगाना खुलाइएको थिएन ।
जिल्ला अदालत काठमाडौंले चालक र सहचालकलाई जनही ६ महिना कैद तथा तीन लाख ६१ हजार छ सय रुपैयाँ जरिवाना सुनाएको थियो ।
रक्तचन्दन ओसार्न प्रयोग गरिएको भाडाको टिप्परसमेत जफत गर्ने फैसला भएको थियो । तर बस्नेतको ठेगाना नखुलेको भन्दै उनीविरुद्धको मुद्दा तामेलीमा राखिएको थियो । अहिले १३ वर्षपछि उक्त मुद्दा पुनः ब्युँताइएको छ ।
सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि पक्राउ
विभागले असोज ६ गते बस्नेतको पुरानो मुद्दाको विवरणसहित कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंलाई पत्राचार गरेको थियो । त्यसपछि वन कार्यालयले असोज १३ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पक्राउ गर्न अनुरोध गरेको थियो ।
सीआईबीले गत शुक्रबार राति बस्नेतलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ । उनीविरुद्ध पुरानो वनसम्बन्धी मुद्दामा बयान लिन बाँकी रहेको छ ।
दसैँ बिदाका कारण अदालत बन्द रहेकाले अदालत खुलेपछि बयान प्रक्रिया अघि बढ्ने बताइएको छ । पुरानो अभियोगपत्रमा बस्नेतको ठेगाना काठमाडौं महानगरपालिका–१६ उल्लेख थियो ।
अहिले विभागले उनको ठेगाना भक्तपुरको सूर्यविनायकस्थित रोज भिलेज कोलोनी रहेको पत्ता लगाएको छ । यसपटक बस्नेतको खोजीमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नै सक्रिय भएको छ । रक्तचन्दन कारोबारबाट उनले कति सम्पत्ति आर्जन गरे ?
उक्त कारोबारमा कोको संलग्न थिए र त्यसबाट प्राप्त रकम कहाँ लगानी भयो भन्ने विषय अनुसन्धानको केन्द्रमा रहने देखिएको छ ।
एमाले नेतादेखि जबरासम्मको सम्बन्ध खोजिँदै
अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार बस्नेतलाई तत्कालीन समयमा एमाले नेता महेश बस्नेतको दबाबमा उन्मुक्ति दिइएको आरोपसमेत छ ।
पूर्वप्रधानन्यायाधीश जबरा र एमालेका केही नेताले नवीनराज बस्नेतका नाममा लगानी गरेको हुन सक्ने आशंकासमेत अनुसन्धान अधिकारीहरूले गरेका छन् । तर यी आशंकाहरु पुष्टि हुन बाँकी छ ।
विभागले बस्नेत र उनका आफन्तका नाममा रहेका सम्पत्ति, व्यवसाय तथा आर्थिक कारोबारको विवरण खोजिरहेको बताइएको छ । उनीमार्फत जबरा र एमालेका उच्च तहका नेताहरूसँग जोडिएका सम्भावित आर्थिक सम्बन्ध पत्ता लगाउने अनुसन्धानको उद्देश्य रहेको बताइन्छ ।
बस्नेत यसअघि नलिनचोक हेलिपोर्ट निर्माणमा अनियमितता गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग निकट रहेको बताइएको छ ।
अधिकारीको मुद्दा मिलाउन राजनीतिक शक्ति प्रयोग गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्क्याउने घटनामा समेत बस्नेतको नाम जोडिएको छ ।
अख्तियार प्रमुखलाई धम्की दिने बस्नेत !
अनुसन्धानअनुसार बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग ह्वाट्सएपमा सन्देश आदानप्रदान गर्दै अधिकारीको मुद्दा अख्तियारबाट मिलाउने आश्वासन दिएको विवरण भेटिएको थियो ।
उक्त प्रयास सफल नभएपछि अख्तियार प्रमुख राईलाई ज्यान मार्ने धम्की दिने प्रकरणमा बस्नेतको संलग्नता देखिएको अनुसन्धानमा उल्लेख छ ।
उग्रवादी संगठनको नाममा लेटरहेड बनाएर अधिकारीलाई ह्वाट्सएपमार्फत पठाइएको र त्यही लेटरहेड प्रयोग गरेर प्रकाश पाठकले अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिएको अनुसन्धानबाट खुलेको थियो ।
डिजिटल फरेन्सिक परीक्षणमा उक्त लेटरहेड बस्नेतसँग सम्बन्धित मोबाइल नम्बरबाट पठाइएको देखिएको थियो । पाठकलाई धम्की दिन लगाउन दुई करोड रुपैयाँ सुपारी दिइएको र सुरुमा १० करोड रुपैयाँबाट बार्गेनिङ भएको अनुसन्धानमा खुलेको हो ।
फिलिपिन्समा रहेका पाठकलाई रकम पठाउन अधिकारीले एक चिनियाँ व्यक्तिको प्रयोग गरेको भेटिएको थियो । पाठकले आफू पैसाको प्रलोभनमा परी प्रयोग भएको र बस्नेत तथा अधिकारीले आफूलाई फसाएको बयान दिएका थिए ।
नेपाल प्रहरीले गत वर्ष माघ २८ गते इन्टरपोलको सहयोगमा उनलाई काठमाडौं ल्याएको थियो ।
यस प्रकरणमा थप अनुसन्धान जारी छ । अख्तियार प्रमुखलाई तान्त्रिक बाबामार्फत प्रभावित पार्ने प्रयाससमेत भएको अनुसन्धानमा उल्लेख भए पनि बस्नेतविरुद्ध यसै घटनामा छुट्टै अभियोग दर्ता भएको थिएन ।
यसअघि २०७४ भदौ १४ गते काठमाडौंको टोखामा पेम्बादोर्जे शेर्पाको कोठाबाट बरामद १४ किलो सुन तस्करी प्रकरणमा पनि बस्नेतको नाम जोडिएको थियो । प्रहरी अनुसन्धानमा उनको संलग्नता देखिएको दाबी गरिएपनि उनीमाथि कारबाही भएको थिएन ।
रक्तचन्दन तस्करीको पुरानो मुद्दामा हुने बयान र सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानले बस्नेतको आर्थिक स्रोत, राजनीतिक सम्बन्ध र सम्भावित साझेदारबारे थप तथ्य उजागर गर्छ कि गर्दैन भन्ने चासो बढेको छ ।


