काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको सार्वजनिक भएको अडियो प्रकरणले अहिले समाज र राजनीति तरङ्गित बनेको छ ।
अडियो प्रकरणबारे रास्वपाले आन्तारिक छानबिन थालेको छ भने प्रहरी पीडितको उजुरीको पखाईमा छ । अडिओ सार्वजनिक भएको ४८ घण्टा बित्दासमेत रास्वपाले खगेन्द्रलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको र केन्द्रीय अनुशासन आयोगलाई छानबिन गर्न निर्देशन दिनु बाहेक सरकार र राज्यका निकाय मूकदर्शक बनिरहेका छन् ।
रास्वपा सांसद खगेन्द्र सुनारले एक महिलालाई अश्लिल गालीगलौज गरि ब्ल्याकमेल गरेको अडियो सोमबार बेलुकादेखि सामाजिक संजालमा भाइरल भइरहेको छ । रास्वपा सांसद सुनार बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुन्। पत्रकारिता र अभियन्ताका रूपमा सार्वजनिक जीवनमा सक्रिय उनी पछिल्लो समय राजनीतिक भूमिकामा छन्।
सोमबार सार्वजनिक भएको उनी र एक महिलाबीचको भनिएको अडियोले अहिले राजनीतिक वृत्तमा चर्चा पाएको छ । उक्त अडिओको आवाज सुन्दा सांसद खगेन्द्र सुनारसँग ठ्याक्कै मिल्छ । तर सांसद सुनारले आफ्नो आवाज नभएको दाबी गरिरहेका छन् ।
अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको हैसियतमा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएपछि दाङबाट काठमाडौं फर्र्किदै गर्दा समाजिक सञ्जालबाट भिडियो सन्देश जारी गर्दै उक्त अडियो एआईबाट सिर्जित भएको दाबी गरे ।
सुनारले एआईबाट सिर्जित अडियो भने पनि उनको आरोप भने कमजोर देखिन्छ । एआईले समेत बनाउन नसक्ने शब्दहरू अडियोमा सुनिएको छ । अडिओबारे छानबिन होला र स्पष्ट होला नै । तर, जनप्रतिनिधिजस्तो व्यक्तिको विषयमा यति ठूलो प्रश्न उठिसकेपछि छानबिनका लागि तत्कालै राज्यको सक्रियता देखिनु पर्ने भन्दै चौतर्फी प्रश्न उठेका छन् ।
यसअघि विपक्षी दलका नेता र व्यवसायीलाई समाउन तात्तिने हतारिने गृहमन्त्री सुधन गुरुङ यतिबेला दिल्ली दौडमा छन् । सांसद सुनारले रास्वपा बरिष्ठ नेतासमेत रहेका प्रधानमनत्री बालेन्द्र शाहको कोटाबाट टिकट पाएका थिए । सांसद सुनारको भनिएको उक्त अडिओमा पीडित महिलामाथि जुन प्रकारको परपीडन, निकृष्ट भाषा र क्रूर व्यवहार झल्किन्छ, त्यसले सिङ्गो समाजलाई नै लज्जित बनाउँछ ।अझ महिलाका छोरालाई मार्ने धम्कीदेखि अश्लिल भिडिओ बनाएर रकमको बार्गेनिङसम्म त्यसमा भेटन सकिन्छ । यसले एउटा व्यक्ति कतिसम्म तल झरेर अमानवीय हर्कत गर्न सक्छ भन्ने उदाहरण बनेको छ ।
अडिओका विभिन्न चारवटा टुक्रा अहिले सामाजिक संजालमा भाइरल भइरहेका छन् । ती सबैमा महिलामाथि चरम शोषण भएको स्पष्ट हुन्छ । आफूमाथि यति धेरै अमानविय व्यवहार हुँदा ती महिलाले भने उजुरबाजुर गरेकी छैनन् । तर सबैभन्दा ठूलो प्रश्न सुनारले प्रतिनिधित्व गर्ने पार्टी र मुलुकको सरकारमाथि सोझिएको छ । तर ४८ घण्टा बित्दा पनि सुनार भने सरकारको अनुसन्धानको दायरामा परेका छैनन् ।
सत्तारुढ दल रास्वपाले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई छानबिन गर्न निर्देशन दिएको छ । छानबिन टुंगोमा नपुगेसम्म उनलाई औपचारिक कार्यक्रममा सहभागी नहुन पनि भनेको छ । पार्टीले कानुनभन्दा माथि कोही नहुने र महिलामाथिको दुव्र्यवहारमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ ।
रास्वपाका केही सांसदले यसबारे घुमाउरो ढंगले बोल्नपनि खोजिरहेका छन् । तर, उनीहरूलाई पनि सकस भइरहेको छ । अनुसन्धानको अख्तियारी पाएको संस्था प्रहरीले अहिलेसम्म कुनै पनि उजुरी नै नपरेको र उजुरी आएपछि मात्र प्रकाउ गरेर अनुसन्धान गर्न मिल्ने बताएको छ ।
सार्वजनिक रूपमा व्यक्त भएका विषयमा प्रहरी र राज्यलाई कुनै उजुरी आवस्यक नपर्ने भन्दै यसअघि अमेरिकाबाट एक महिलाले सामाजिक सञ्जालमार्फत आरोप लगाएकै आधारमा कलाकार सागर लम्साललाई पक्राउ गरिएको थियो ।
कलाकार लम्साललाई पक्राउ गरिएको विषय पनि बहसमा आइरहेका छन् । खगेन्द्र सुनार र महिलाबिच भनिएको अडियो करिब ३ बर्ष अगाडिको रहेको सुरक्षा निकायको दाबी छ । त्यसो भए अहिले आएर किन त्यो अडियो सार्वजनिक भएको हो ?कसले गरेको हो भन्ने बिषय खुलीसकेको छैन ।
पीडित भनिएकी ती महिलाले न्युज २४ टेलिभिजनसँगको कुराकानीमा उक्त अडियो आफ्नो नभएको अडियो नभएको दाबी गरिरहेकी छिन । रास्वपा सांसद सुनार पहिलो पटक बिवादमा तानिएका होइनन् । उनी विवादित ब्यक्ति हुन् । विवादकै कारण यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीको लिष्टमा परेर पनि उनको नाम हटाइएको थियो ।
सांसद सुनारका अन्य मुद्धाहरु अहिले पनि अदालतमा विचाराधिन छन् । रास्वपाले सांसदलाई फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’ को ब्यवस्था पार्टीको विधानमा गरेको छ । तर प्रत्यक्ष निर्वाचित सांसदको हकमा पार्टी विधान कसरी कार्यान्वयन हुन्छ, केही समय पर्खिनुपर्नेछ ।


