News 24 Television
रास्वपाले बदल्यो टिकट बाड्ने शैली, उम्मेदवार छान्न नयाँ मापदण्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न नयाँ मापदण्ड अघि सारेको छ । प्रशिक्षण, योग्यता, राजनीतिक योगदान, समावेशिता र प्रारम्भिक निर्वाचनका आधारमा उम्मेदवार छनोट गरिने रूपरेखामा उल्लेख छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित र मापदण्डमा आधारित बनाउने योजना अघि सारेको छ । पार्टीले तयार पारेको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार मेयर, उपमेयरदेखि वडा सदस्यसम्मका आकांक्षीले निर्धारित प्रक्रिया पूरा गरेर मात्रै उम्मेदवार बन्ने अवसर पाउनेछन् । 

यसका लागि क्यान्डिडेट क्लबमा आवेदन, लिडरसिप एकेडेमीको प्रशिक्षण तथा परीक्षा र प्रारम्भिक निर्वाचनजस्ता चरण पार गर्नुपर्ने व्यवस्था गरिएको छ । छनोट रूपरेखाले उम्मेदवार छनोटमा व्यक्तिगत पहुँच र नेतासँगको निकटताभन्दा योग्यता, राजनीतिक योगदान, सार्वजनिक छवि र नागरिकको समर्थनलाई महत्व दिने लक्ष्य राखेको छ । 

छनोटका लागि चारवटा आधार तय गरिएका छन् । जसअनुसार लिडरसिप एकेडेमीको मूल्याङ्कनलाई २५ प्रतिशत, राजनीतिक निकटता तथा योगदानलाई २५ प्रतिशत, समावेशितालाई १० प्रतिशत र प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत अंक भार दिइएको छ ।

सबैभन्दा बढी अंक प्रारम्भिक निर्वाचनलाई दिइएको छ भने उम्मेदवार छनोटमा जनसमर्थनलाई निर्णायक बनाउने पार्टीको उद्देश्य देखिन्छ ।

 सदस्यता अवधि र पृष्ठभूमि पनि जाँचिने 

रास्वपाको रूपरेखाले उम्मेदवार बन्न चाहने व्यक्तिको पार्टी सदस्यता अवधि र व्यक्तिगत पृष्ठभूमिलाई समेत छनोटको आधार बनाएको छ । पहिलोपटक राजनीतिमा प्रवेश गर्ने व्यक्तिले मेयर, उपमेयर वा वडाध्यक्षमा आवेदन दिन रास्वपामा सदस्यता लिएको कम्तीमा ४५ दिन पूरा गरेको हुनुपर्नेछ ।

अन्य राजनीतिक दलबाट रास्वपामा प्रवेश गरेकाले भने ९० दिन पूरा गर्नुपर्ने व्यवस्था छ । वडा सदस्यका आकांक्षीका हकमा पहिलोपटक राजनीतिमा प्रवेश गर्नेले तीन दिन र अन्य दलबाट आउनेले सात दिन मात्रै पूरा गरे पुग्नेछ । 

विशेष क्षमता भएका, प्रतिष्ठित र स्वच्छ छवि भएका व्यक्तिलाई भने ल्याटरल इन्ट्री अर्थात् विशेष प्रक्रियाबाट पार्टीमा प्रवेश गराएर उम्मेदवार बन्ने अवसर दिइनेछ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका आकांक्षीका लागि यस्तो व्यवस्था लागू गर्न केन्द्रीय समितिको लिखित सहमति आवश्यक पर्नेछ । 

उम्मेदवारका आकांक्षीले शैक्षिक प्रमाणपत्र, वैवाहिक अवस्थाको कानुनी स्पष्टता, आर्थिक पारदर्शिता, सार्वजनिक आचरण र स्वार्थ बाझिने अवस्थाबारे विवरण बुझाउनुपर्नेछ । उम्मेदवार बन्न चाहनेले घरेलु हिंसा, यौन दुव्र्यवहार, साइबर बुलिङ, अनलाइन ठगी, मिटरब्याज, हुन्डी तथा सहकारीको बचत अपचलनजस्ता गतिविधिमा संलग्न नरहेको स्वघोषणा पनि गर्नुपर्नेछ । 

आवश्यकताअनुसार सम्पत्ति विवरण र प्रहरी चारित्रिक प्रमाणपत्रसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । त्ष्यसैगरी छनोट रूपरेखाअनुसार उम्मेदवार बन्न चाहने व्यक्तिले लिडरसिप एकेडेमीमार्फत प्रशिक्षण लिनुपर्नेछ । 

प्रशिक्षणमा संविधान, संघीयता, स्थानीय शासन सञ्चालन, सार्वजनिक वित्त व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र चुनावी आचारसंहिताजस्ता विषय समेटिएका छन् । त्यसैगरी डिजिटल प्रशासन, तथ्यांकमा आधारित योजना निर्माण, सार्वजनिक सञ्चार र एआईको जिम्मेवार प्रयोगसम्बन्धी विषय पनि प्रशिक्षणको हिस्सा रहेका छन् । प्रशिक्षणपछि निर्धारित मापदण्डअनुसार परीक्षण गरिनेछ । 

न्यूनतम योग्यता पूरा गर्न नसक्ने आकांक्षी छनोट प्रक्रियाबाट बाहिरिने व्यवस्था छ । रूपरेखाअनुसार निर्धारित प्रक्रियाभन्दा बाहिर गएर उम्मेदवार छनोट गर्नुपर्ने असाधारण परिस्थिति आएमा केन्द्रीय समितिका तत्काल कायम सदस्यको कम्तीमा दुईतिहाइ बहुमतबाट अनुमोदन लिनुपर्नेछ । तर त्यस्तो अवस्थामा पनि उम्मेदवार छनोटको आधारभूत संरचना कायम राख्नुपर्ने व्यवस्था छ । 

टिकट वितरणलाई प्रशिक्षण, मूल्यांकन र आन्तरिक प्रतिस्पर्धासँग जोड्न खोज्ने रास्वपाले आफ्नै नियम कति इमानदारीपूर्वक पालना गर्छ र योग्यताका आधारमा उम्मेदवार छनोट गर्न कतिको सफल हुन्छ, त्यो आम चासोको विषय बनेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update