News 24 Television
मधेसबाट वालेन्द्रविरुद्ध आन्दोलन, पर्व सकिएपछिको खास तयारी के हुँदैछ?

काठमाडौं । सरकारविरुद्ध आन्दोलन गर्ने चर्चा राजनीतिक रुपमा चलिरहेको छ। मधेस केन्द्रित दलहरुले सरकारविरुद्ध आन्दोलनको चेतावनी दिइरहेका छन्। किन यसरी सरकारविरुद्ध आन्दोलनको चर्चा चलिरहेको छ ? गएको फागुन २१ मा भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक मत प्राप्त ग¥यो। चुनावबाट प्राप्त जनादेशमा समेत केहि दल र नेताहरुले अनेक टिप्पणी गर्ने गरेका छन् । तर, यसको वैधता भने लुकेको विषय होइन्। यस्तोमा किन मधेसमा आन्दोलनको चर्चा चलाइदैछ? आन्दोलन किन र केका निम्ति गर्न खोजिदैछ? यसबारेका केहि तथ्यहरु रोचक भेटिन थालेका छन्। 

राजनीतिक दलको तयारी

मधेस केन्द्रित दलहरुले प्रधानमन्त्री वालेन्द्र शाहलाई मधेसको छोरा भनेपनि पछिल्लो समय रुष्ट बनेका छन्। उनीहरुले प्रधानमन्त्री वालेन्द्रले जनकपुर क्षेत्रमा लगाएको डोजर नै अबको आन्दोलनको कडी बन्ने दाबी गर्ने गरेका छन्। मधेस केन्द्रित दलहरुले अधिकार प्राप्ति र संघीयता कार्यान्वयनको पक्षलाई लिएर आन्दोलनमा जाने तयारी गरेका छन्। 

दशैं, तिहार र छठ सकिएपछि निर्णायको पर्खाई उनीहरुले गरिरहेका छन्। मधेसी नेताहरुले पराजयबाट शक्तिबिहीनताको स्वाद चाखिसकेकाले लामो समय राजनीतिक बिजनेसबिहीनताको स्थितिलाई टार्नका निम्ति समेत आन्दोलनको तयारी गरेका छन्। आन्दोलनको एजेण्डाको रुपमा उनीहरुले मल अभाव, कृषि उत्पादनको बजारीकरण, विद्यालय शिक्षा, गरिबी, रोजगारी जस्ता विषयलाई बनाउने र केन्द्रमा अधिकार प्राप्तिको विषयलाई लिने गरि जाने उनीहरुले आन्तरिक तयारी थालेका हुन्। 

चुनावदेखि चुनावसम्म

स्थानीय र प्रदेशको चुनाव गराउने समय नजिकिदैछ। यस्तोमा उनीहरुले आफ्नो प्रभाव गएको चुनावले प्रष्ट पारिसकेकाले अब कसरी हघि बढ्ने भन्दा सरकारविरुद्ध आक्रामक पेश हुने र जनतालाई सरकारले काम गर्न सकेन भन्ने भाष्य देखाएर मत बटुल्ने प्रयास पनि चर्किने देखिन्छ। राजनीतिक रुपमा यस्ता विषय स्वभाविक भएपनि एजेण्डाको उठान कसरी हुन्छन र ती विषय कति वैध हुन्छन भन्ने हेर्न भने बाँकी नै छ। तर, आउन थालेको चुनावका कारण समेत पर्वहरु सकिएपछि आन्दोलनका केहि तरङ्गहरु देखिन सक्छन्। यस्तोमा उनीहरुले सर्वसाधारणले भोग्ने सामान्य समस्यादेखि विभिन्न स्थानमा हुने लाइन र सास्तीलाई लिएर अधिकार पाउन नसकेको विषय नै स्थापित गर्नेमा जोड दिने देखिन्छ। 

धार्मिक द्वन्द्धको खतरा

पर्वहरुमा मधेसमा चर्को ध्वनी लगाएर कार्यक्रम गर्ने, पर्व मनाउने काम गरिन्छ। यस्तोमा सामान्य विवाद समेत ठूलो तनावको विषयमा रुपान्त्रण सहजै हुने हुनाले समेत मधेसमा धार्मिक द्वन्द्ध सिर्जना गर्ने समूह समेत सक्रिय देखिन्छ। सामान्य विवादले पनि सामूदायिक विवादको रुप ग्रहण गर्ने स्थितिका कारण मधेसमा आन्दोलन उठाउन सहज हुने ठानेरै विभिन्न तयारी हुन थालेका देखिन्छन्। यस्तोमा संवेदनशीलतालाई केन्द्रमा राख्दै सरकारले तयारी गर्नुपर्ने देखिन्छ। जुन सुरक्षा निकायले समेत राम्रो तयारी गर्नुको विकल्प देखिन्न।

भाष्य निर्माणको जोखिम

पछिल्लो समय बढेको सामाजिक सञ्जालको प्रयोग र अनेक भाष्य निर्माणका लागि देखिन थालेको अल्गोरिदम वारले समेत खतराका संकेतहरु थप जोखिममा लैजान थालेको छ। 

समााजिक सञ्जालबाट सहजै नक्कली अकाउन्टबाट घृणा फैलाउने वा देवत्वकरण गर्न सकिने हुनाले पनि यस्ता जोखिमहरु बढिरहेका छन्।

यता, सरकारले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन, नियमन, दर्ता जस्ता कुराहरुमा जतिसक्दो ध्यान दिन नसक्ने हो भने भयावहको अवस्था बन्ने देखिन्छ।

सामाजिक मनोविज्ञान नै नकारात्मकलाई बढि महत्व दिनेतर्फ अग्रसर बनेकाले सरकारविरुद्धका आन्दोलनका निम्ति यस्ता विषय सहजै परिचालन हुन सक्ने खतरा रहन्छ। पछिल्लो समय दलका शीर्ष नेताहरुले नै प्रविधिको दुनियामा जित्न नसकिएको भन्दै अनेक तयारीका गाथाहरु सुनाउन थालेका छन्। जसकारण अबको जोखिम भाष्य निर्माणको रहेकाले समेत सरकारविरुद्धका आन्दोलन सहजै उठ्ने खतरा देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update