काठमाडौँ । ओटीटी प्लेटफर्म ‘डिगो’ले लोकप्रिय स्ट्रिमिङ सेवा ‘जिओहटस्टार’सँग साझेदारी गर्दै नेपालमा आधिकारिक रूपमा सेवा सुरु गरेको छ। युनाइटेड किंगडम, क्यानडा, सिंगापुर र मध्यपूर्वका केही देशहरूमा प्रवेश गरेको छोटो समयमै जिओहटस्टारले डिगोमार्फत नेपालका दर्शकहरूका माझ आफ्नो उपस्थिति जनाएको हो।
यस सहकार्यसँगै डिगोभित्रै छुट्टै जिओहटस्टार प्लेटफर्म सिर्जना गरिएको छ, जसले नेपाली दर्शकहरूलाई बलिउड तथा भारतीय मनोरञ्जनात्मक सामग्रीहरूको फराकिलो सङ्ग्रह उपलब्ध गराउनेछ। लञ्च लाइनअप अन्तर्गत ‘भेडिया’, ‘१२थ फेल’, ‘केसरी च्याप्टर २’ जस्ता ब्लकबस्टर चलचित्रहरूका साथै ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘स्पेसियल अप्स’ लगायतका ओरिजिनल सिरिजहरू हेर्न सकिनेछ। यसका साथै ‘बिग बोस’, ‘कफी विथ करण’ र ‘इन्डिया का टप १ पर्सेन्ट’ जस्ता लोकप्रिय रियालिटी शोहरू पनि यसमा समेटिएका छन्।
जिओहटस्टारका सामग्रीहरूका अतिरिक्त डिगोको यस प्लेटफर्ममा हरेक हप्ता नयाँ नेपाली चलचित्रहरू समेत थपिँदै जानेछन्। साथै, प्रयोगकर्ताहरूले एउटै सब्स्क्रिप्सनमार्फत LaLiga, MotoGP र Carabao Cup जस्ता प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरूको समेत आनन्द लिन सक्नेछन्। भारतीय मनोरञ्जन र विश्वव्यापी खेलकुदलाई स्थानीय प्लेटफर्मको पहुँचमा जोड्नु यो साझेदारीको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।
दर्शकहरूका लागि यो सेवा सुलभ बनाउन विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु गरिएको छ। मोबाइल प्लान र प्लस प्लान अन्तर्गत विभिन्न मासिक, त्रैमासिक तथा वार्षिक सुविधाहरू उपलब्ध गराइएका छन्। दर्शकहरूले आधिकारिक वेबसाइट [www.watchdgo.com] मा गएर अथवा एन्ड्रोइड, आईओएस तथा स्मार्ट टिभीमा डिगो एपमार्फत यसको सदस्यता लिन सक्नेछन्।
जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्रा र डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले यो साझेदारीलाई नेपाली मनोरञ्जन क्षेत्रको एक महत्त्वपूर्ण माइलस्टोनको रूपमा व्याख्या गरेका छन्। नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धलाई आधार बनाउँदै यस सहकार्यले नेपाली घरपरिवारमा दैनिक मनोरञ्जनको दायरालाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।


