
काठमाडौँ । सत्ता गठबन्धन भत्किने डरसँगै कांग्रेस नेतृत्व फेरि पछि हट्न थालेको छ । कांग्रेस नेतृत्व महासमिति बैठकसम्म चुनावी गठबन्धनबारे एकमत बन्दै एक्लै कांग्रेसले चुनाव सामना गर्ने निर्णय गरेपनि सत्ता फुत्किने डरसँगै कांग्रेस फेरि प्रधानमन्त्री प्रचण्डको निर्णयमा लत्रिन पुगेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस महासमिति बैठकमा आगामी चुनावमा कुनैपनि गठबन्धन नगर्ने विषयमा मात्रै केन्द्रित बनेन, माओवादीले गरेको जनयुद्धलाई अनाहकको हिंसा भन्दै सत्ता सहयात्रीलाई चिढ्याउने काममा लाग्यो । कांग्रेस इतर पक्षले चुनावी गठबन्धनलाई जोड दिदा संस्थापन पक्ष माओवादी युद्धमाथि प्रहारमै केन्द्रित बन्यो ।
कांग्रेसले यसरी सत्ता सहयात्री दललाई चिढ्याएपछि कोशी प्रकरणले आक्रोशित बनेको माओवादी राष्ट्रियसभा अध्यक्षको चुनावमा गठबन्धनको काँध फेर्ने मनशायमा केन्द्रित बन्यो । माओवादी नेताहरुले कोशी प्रकरणदेखि महासमिति बैठकबारे प्रश्न गरिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले स्थिति फेरिएकाले अध्यक्षको उम्मेदवारी दिने दाबी गरिदिए ।
प्रचण्डले यतिमात्रै दुखेसो पोखेनन्, उनले कोशीमा माओवादी उम्मेदवारलाई हराएको विषय र महासमिति बैठकमा जनयुद्धबारे गरिएको उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनलाई समेत निशाना बनाए ।
यसरी सत्ता गठबन्धनभित्रको दरार बाहिरिएपछि एमालेले पनि सत्ताको बागडोर आफ्नो पोल्टामा पर्ने प्रयत्नलाई तीब्र पार्दै लग्यो । तर, एमालेभन्दा बढि कांग्रेस सभापति शेरबहादुर देउवा नै गठबन्धन र सत्ताको पालो कुर्दै गठबन्धन टिक्ने दाबा गरिरहन थाले ।
किन गल्यो कांग्रेस ?
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष एमालेसँगको सम्वादलाई तीब्रता मात्रै दिएनन्, ओलीसँगको वार्ता र छलफललाई समेत बढाउन थाले । कांग्रेसले कोशीमा दिएको धोकालाई मात्रै नभएर प्रचण्डले जनयुद्धको विषयमा भएको टिप्पणी र सत्ता गठबन्धनको मर्मविपरितका विषय किन प्रवेश गराइए भन्ने विषयलाई गम्भीरतापूर्वक लिए । त्यसपछि उनले कांग्रेससँग दूरी बढाउने संकेतलाई थप मलजल गर्न थाले ।
प्रचण्डपछि सत्ताको पालो कुरिरहेको कांग्रेसलाई केन्द्रको मात्रै नभएर प्रदेशको समेत सत्ता गुमाउनुपर्ने सत्यलाई बाहिर राखेर ठूलो कुरा गरेर मात्रै हुने अवस्था थिएन् । त्यसपछि देउवाले प्रचण्डलाई प्रतिवेदन केन्द्रिय समितिबाट संशोधन गर्ने र सरकारका मन्त्री फेर्ने विषयमा कुनै कुरा नउठाउने संकेत गरे । जसकारण प्रचण्डलाई सत्ताको काँध फेर्न केहि जटिलता त थपिएको छ तर, अझैं पनि राजनीतिक रुपमा स्थिति परिपक्क नभइसकेकाले अहिले नै भन्न सकिने स्थिति नबनिसकेको बताइन्छ ।
कांग्रेसले सत्ता गुम्ने खतरालाई टार्नकै लागि प्रचण्डलाई मन्त्री फेर्ने निर्णयमा सघाउने, प्रतिवेदनमा संशोधन गरेर केन्द्रिय समितिबाट ल्याउने लगायता विषयमा छलफल केन्द्रित बनेको छ । कांग्रेस अब सत्ताको पालो कुरिरहेकै कारण यसरी प्रचण्डसामू गल्न पुगेको छ । तर, अहिले नै सत्ता गठबन्धन टुट्ने डर कम भने भइनसकेको देखिन्छ ।