काठमाडौं । जेनजी आन्दोलनपछि नेपालको राजनीतिक माहोल अस्थिर छ । केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनको दुई तिहाइ सरकार जेनजी विद्रोहपछि सत्ताच्युत भयो ।
सेनाको हेलिकप्टरमार्फत ओली भागेपछि उत्पन्न राजनीतिक शून्यताबीच पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । तर, एमाले लगायत दलहरूबाट सरकार र जेनजी समूहमाथि तीव्र प्रहार भइरहेको छ भने जेनजी समूहले पनि सरकारको कामप्रति असन्तुष्टि जनाउँदै दलहरूलाई उक्साउने गतिविधि नगर्न चेतावनी दिएको छ ।
देशमा भइरहेको भ्रष्टाचारको चाङ, कुशासन र राजनीतिको आडमा भइरहेको लुटधन्दा । जेनजी आन्दोलन मुख्यतः यी ३ मुद्दामा केन्द्रीत थियो । भित्रभित्रै राजनीतिक कुसंस्कारका यस्ता अवैध गतिविधिहरु विरुद्ध संगठित हुँदै आएका युवा पूस्तालाई थप चिढ्याउने र सडकमै उत्रन बाध्य बनाउने काम ओली सरकारले नै ग¥यो ।
सामाजिक सञ्जालहरुमा आक्रोश पोखिरहेका उनीहरु जब ओली सरकारले सामाजिक सञ्जाल बन्द ग¥यो, त्यसपछि सडकमै उत्रिए । त्यसपछि जे भयो, त्यसको साक्षी विश्व नै छ ।
यथावत् ओली दम्भ !
केही दिन सेनाको सुरक्षामा बसेर स्थिति अनुकुल भएको मौका पारेर एमाले अध्यक्ष सार्वजनिक भए । तर सत्तामा हुँदा ओली जस्तो व्यवहार र दम्भ देखाउँथे, सत्ताच्यूत भइसक्दापनि उनले आफ्नो शैली छोडेनन् । जेनजी आन्दोलन र अन्तरिम सरकारविरुद्ध उनी कड्किन छोडेका छैनन् ।
ओलीका यी बोलीहरुबाटै बुझिन्छ, उनी जेनजी आन्दोलन र त्यसको मर्मलाई कुनै पनि अवस्थामा आत्मसात गर्न चाहदैनन् ।
ओलीको यस्तै आशयका कारण पनि उनी निकट केही नेता तथा कार्यकर्ताहरुको अहिले काम नै जेनजी आन्दोलनलाई कसरी हुन्छ गलत देखाउने रहेको छ । यसका लागि उनीहरुले सबै किशिमको प्रयास र हरकतलाई जारी राखेका छन्, जुन सामाजिक सञ्जालमा छताछुल्ल नै छ ।
त्रिपक्षीय भिडन्त !
केपी ओली र उनी निकटकाहरु यसरी प्रतिशोधमा उत्रिदा यसले निर्वाचन समेत भाँड्ने सम्भावना देखिन्छ । एमाले अझै पनि निर्वाचनमा भाग नलिन र संसद पूनस्थापना गराउन जोड दिइरहेको छ । प्रधानमन्त्री सुशिला कार्कीले चुनावको बारेमा दलहरुसँग छलफल चलाइरहँदा एमाले भने सरकार विरुद्ध छ ।
अन्तरिम सरकार विदेशी डिजाइन र लुटपाटबाट बनेको ओलीको बुझाइ छ । तर यति गम्भिर आरोपहरु लगाइरहँदा पनि ओलीले नागरिकको चित्त बुझाउने गरी कुनै प्रमाण भने दिन सकेका छैनन् । त्यसैले पनि चुनावी माहोल ओली नेत्तृत्वमा एमालेका लागि प्रतिकुल छ ।
सम्भवत यही कारण पनि उनी चुनावमा गएर ताजा म्याण्डेट ल्याउनुको साटो चुनावबाट भाग्ने बाटो खोजिरहेका छन् । यसका लागि उनले जेनजी आन्दोलनलाई विदेशीको इशारामा भएको, जेनजी अगुवाहरुलाई विदेशी एजेन्ट र सरकार नेपाली जनताको नभएकोसम्म भनेका छन् । ओलीको यही व्यवहारकै कारण सानो सानो समूह र झुण्डमा रहेका जेनजीहरु विस्तारै एकजुट हुने पर्ने आवश्यकता देखिरहेका छन् । जेनजी अगुवा तथा हामी नेपालका संयोजक सुदन गुरुङले राजनीतिक दलहरुलाई जेनजी एकता नभाँड्न चेतावनी दिएका छन् । जेनजीहरुलाई विभाजित गर्न दलहरु लागेको गुरुङको आरोप छ ।
त्यसो त ओली सरकारमाथि पनि उत्तिकै खनिएका छन् । सरकारले आफुलाई पक्राउ गर्न लागेको भन्दै उनी हतास देखिएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले आफुसँग व्यक्तिगत दुस्मनी देखाएको ओलीले आरोप लगाएका छन् । सरकारले आफुमाथि थप केही गर्ने योजना बनाइरहेको पनि ओलीको दाबी छ । यता दर्जनौको संख्यामा रहेका जेनजी समूहहरुको फरकफरक मुद्दा र मागका कारण सरकार तिलमिलाएको छ ।
सरकारले गरिरहेको काममा सन्तुष्ट नरहेको भन्दै उनीहरु तत्काल प्रतिक्रियामा उत्रने गरेका छन् । माइतीघरमा धर्ना होस् या सिंददरबार र बालुवाटार, आक्रोशित शैलीमा जेनजी अगुवाहरुको तुरुन्तै आवेशमा आउने र जुलुश गरिहाल्ने शैलीले गर्दा सरकार पनि थप दबाबमा परेको देखिन्छ ।
एकजुट हुँदै जेनजी
दलहरुले लिएको प्रतिशोध र विभिन्न माध्यमहरुबाट भइरहेको प्रहारका कारण जेनजीहरु नजिकिरहेका छन् । शुक्रवार मात्रै पनि उनीहरुले हामीलाई छुट्याउने काम कसैले नगरोस् भन्दै युवाहरुलाई एकतावद्ध हुन र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरे ।
जेन–जी समूहरुलाई एकतावद्ध भई शहीदका सपनाहरु पूरा गर्न खबरदारी गर्न जेन–जेड युनाइटेडको नामबाट माईतीघर मण्डलामामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिका र शहीद परिवारका सदस्यहरु पनि सहभागी भएका थिए ।।
जेनजीका नाममा विभिन्न पार्टी वा समूहमा लागेर विभाजित नहुन आग्रह गर्दै उनीहरुले देशभरका जेनजीहरु एकजुट हुन अपिल गरेका छन् । जेन–जी समूहलाई एकतावद्ध गर्न सरकारले समेत सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

