
काठमाडौँ । नेपाली कांग्रेस प्रतिपक्षी बन्ने निश्चित भएको छ । सत्ता गठबन्धनको समिकरण फेरिएसँगै कांग्रेस प्रतिपक्षमा जानुपर्ने स्थिति पार्टीको आन्तरिक कारणबाटै सिर्जना भयो । तर, कांग्रेसले भने यो विषयलाई गोलमोटल जवाफ दिएर प्रधानमन्त्री प्रचण्डलाई दोषारोपण गर्न खोजिरहेको छ । यस्तोमा शेरबहादुर देउवाको सत्तायात्रालाई रोक्न प्रमुख भुमिका खेल्ने कांग्रेसी को हुन र किन यस्तो हुन पुग्यो त ? यो सर्वाधिक खोजिको विषय बनिरहेको छ ।
तत्कालीन समयमा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसलाई साथ लिँदा एमालेमाथि गम्भीर धोका दिएको आरोप लाग्यो । संसद विघटनको विषयमा एमाले अध्यक्ष केपी ओलीले संसदमै बचाउ गरेपछि आफू तर्सिएको दाबा गरेका प्रधानमन्त्री प्रचण्ड कांग्रेस संस्थापन इतरपक्षको निरन्तरको धोकापछि अन्ततः फेरि एमालेसँगै सत्ता सहयात्रा गर्न राजी भएका छन् ।
के कारण प्रचण्डले एमालेसहितका दल रोजे ?
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले असाध्यै लचकतासाथ सहयोग गर्ने वचन दिएपनि कांग्रेसभित्रको स्थिति नियन्त्रणमा देउवा चुकिरहेका थिए । यसरी देउवाले नियन्त्रण गुमाउँदा कांग्रेससहितको गठबन्धन टुटाउने अस्त्र बन्ने प्रमुख कारण भने यस्ता छन् ।
१. कोशी प्रकरणः कांग्रेस संस्थापन इतर पक्षले कोशीमा माओवादीबाट राष्ट्रियसभामा उम्मेदवार बनेकी चम्पादेवी कार्कीलाई पराजित गर्न भूमिका खेले । यसमा कांग्रेसको इतर पक्षले आफ्नो योजना कार्यान्यवन गर्दै देउवालाई कमोजर पार्ने उद्देश्य पुरा गर्न सफल बन्यो ।
२. मुख्यमन्त्री प्रकरणः कोशी प्रदेशमा सत्ता गठबन्धनले निर्णय गरेर माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय ग¥यो । तर, इतर पक्षले एमालेसँग मिलेर कांग्रेसका केदार कार्कीलाई विद्रोही उम्मेदवार बनाएर माओवादीलाई रोक्ने काम भयो । यसमा पनि देउवाको निर्णय चल्नै सकेन् ।
३. महासमिति बैठकः कांग्रेस महासमिति बैठकले चुनावी गठबन्धनलाई राजनीतिक एजेण्डा बनाइयो । चुनावी गठबन्धन गर्दै नगर्ने भन्ने विषयमा निर्णय नै गरेपछि सत्ता गठबन्धन दलमा दरार आयो भने देउवाले यो निर्णयलाई समेत रोक्न सकेनन् ।
४. पूर्णबहादुर खड्काको प्रतिवेदनः कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले पेश गरेको प्रतिवेदनमा माओवादी जनयुद्धलाई अनाहकको हिंसा भन्दै माओवादीप्रति प्रहार गरे । देउवाका विश्वासपात्र भनिएका खड्काले नै यस्तो प्रतिवेदन पारित गरेपछि माओवादी नेतृत्व थप चिढिन पुग्यो ।
५. मन्त्री फेरबदलमा अड्कोः प्रधानमन्त्री प्रचण्डले मन्त्री फेरेर भएपनि सरकारको काम कारबाहिलाई तीब्रता दिने सार्वजनिक अभिव्यक्ति दिए । तर, कांग्रेसले मन्त्री फेर्ने विषयमा सहमति दिन मानेन् । देउवाले आफ्ना विश्वासपात्र अर्थमन्त्री डा. प्रकाशरण महत र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई प्रचण्डले बिदा गर्न चाहेपनि देउवाले मानेनन् । यसमा प्रचण्डले सरकारको कामलाई कांग्रेसले अवरोध पु¥याएको अर्थमा बुझे ।
६. संक्रमणकालीन न्यायः संक्रमणकालीन न्याय प्रणाली टुंगो लगाउने विषयमा प्रचण्डले कांग्रेसको दह्रो साथ खोजेपनि उलल्लेख्य समर्थन पाउन सकेनन् । माओवादी युद्धलाई लिएर कांग्रेसले बदख्वाई गर्न थालेपछि उनी थप चिढिए ।
७. इतर पक्षको सरकार केन्द्रित आक्रमणः सत्ता साझेदारी गरेदेखि नै कांग्रेसको इतर पक्षले सरकारको समर्थन कहिल्यै गरेन् । कांग्रेसले संस्थागत निर्णयबाट सरकारमा सहभागी भएर सरकारलाई विश्वासको मत दिएपनि सरकारका कामलाई प्रचार गर्ने र नराम्रो गरेको ठाउँमा विरोध गर्नुपर्नेमा एकहोरो विरोधमात्रै गरिरह्यो । जुन कारण प्रचण्ड कांग्रेस प्रवृत्तिबाट प्रताडित बनिसकेका थिए ।
इतर पक्षको घानमा देउवाले गुमाए सत्ता नेतृत्व
कांग्रेसले ०८४ को निर्वाचन अघि पार्टी महाधिवेशन गर्नुपर्नेछ । महाधिवेशनको समयमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन्थे । सरकार प्रमुख भएको बेला देउवाले महाधिवेशनलाई प्रभावित पार्न सक्ने विषयमा इतर पक्ष जानकार थियो । त्यसपछि इतर पक्षले सरकारमाथि आक्रमण गर्नेदेखि माओवादी केन्द्रलाई जतापनि चिढ्याउने रणनीति अख्तियार गर्न थाल्यो । देउवाले यस्तो निर्णयलाई रोक्न प्रभावकारी कदम चाल्नै सकेनन् । कांग्रेस इतर पक्षले सरकारमाथि गम्भीर आरोप मात्रै लगाउने गरेको थिएन, भ्रष्टाचारविरोधी अभियानलाई समेत कमिसनसँग जोडेर उल्टै बदनामित पार्ने काममा लागि रह्यो ।
चुनावी गठबन्धन कांग्रेस महासमिति बैठकमा अहिले नै छलफल गर्न कति उपर्युक्त थियो ? यो बहसको विषय हो । गठबन्धनको मतबाटै निर्वाचित गगन–विश्वप्रकाशले चुनावी गठबन्धनलाई जसरी एजेण्डा बनाएर पेश गरे, त्यसले नै उनीहरुको रणनीति प्रष्ट हुन्थ्यो । यता, संस्थापन पक्षले इतरलाई रोक्ने योजना बनाउनै सकेन् । देउवाले पनि लटरपटर गर्दै इतर पक्षको प्रतिवेदन पारित गर्ने निर्णयमा सहमति जनाएपछि इतर पक्षको महाधिवेशन केन्द्रित रणनीति सफल बन्न पुगेको छ । यता देउवाले अब सत्ताको पालो पाउने छैनन र कांग्रेस महाधिवेशनमा सत्ताको प्रभाव समेत हुनेछैन् ।
प्रदेशबाट पनि कांग्रेस बाहिरिँदै
कांग्रेसले नेतृत्व गरेका प्रदेशहरु सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशीको नेतृत्वबाट बाहिरिनुपर्नेछ । सातै प्रदेशमा कांग्रेसका मन्त्री छन् । मन्त्रीमात्रै नभएर प्रदेश नेतृत्वबाट समेत कांग्रेस बाहिरिनुपर्ने भएपछि अब कांग्रेसको राजनीतिमा ठूलो उथलपुथल आउनेछ । सत्ताबाट सडकमा कांग्रेसलाई ल्याउन भूमिका खेल्ने इतर पक्षका शीर्ष नेताहरुले कांग्रेस महाधिवेशनबाट नेतृत्व गर्ने अवसर पाउँछन वा पाउँदैनन, त्यो पछि नै थाहा होला । तर, तत्काल सत्ताबाट बाहिरिएपछि कांग्रेसलाई ठूलो सकस भने आइपर्नेछ ।