News 24 Television
‘एमाले–रास्वपा’ बाहिरै राखेर नयाँ सरकारको खोजी, अर्को गठबन्धन व्युँतिने खतरा 

काठमाडौं । पछिल्लो समय सत्ता गठबन्धनमा खटपट आइरहेको छ । विशेषतः प्रदेश सरकारको गठन र उपनिर्वाचनको विषयका कारण सत्ता गठबन्धनमा समस्या आइरहेको प्रष्ट छ । 

प्रदेश सरकार गठनको सम्बन्धमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले च्याँखे थाप्दा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संकटतर्फ धकेलिन खोजिरहेको छ । तर सत्तारुढ दलका शीर्ष नेताहरुले यसको समाधान गर्ने प्रयास गरिरहेका छन् । 

नेकपा एसका अध्यक्ष माधवले गठबन्धमा विद्रोहको प्रयास गरेपछि शीर्ष दलहरु आत्तिाएका छन् । मंगलबार नै गृहजिल्ला झापा हुँदै इलाममा सम्बोधन गर्न गएका एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार एक्कासी सिंहदरबार पुगे । 

बिहीबार काठमाडौं फर्किएका ओली त्रिभुवन विमानस्थलबाट सिधै सिंहदरबार पुगेका थिए । लगत्तै प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेबीच छलफल भयो ।

उक्त बैठकमा माधव नेपाल र सत्ता संकटको विषयमा छलफल भएको अनुमान गरिएपनि रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले भने समसामयिक विषयमा मात्रै छलफल भएको दावी गरे ।

तर, प्रदेश सरकार गठन, उपनिर्वाचन र गृहमन्त्री रविको सहकारी ठगी प्रकरणले सत्ता गठबन्धनमा केही समस्या परेको चर्चा हुँदै आएको छ । यही चर्चाकाबीचमा सत्तारुढ दल नेकपा एसले बैकल्पिक गठबन्धन देखि प्रदेशमा समेत विद्रोह गरेको तथ्यगत यथार्थता छ  । 

यतिबेला अध्यक्ष माधवकुमार नेपालले संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेससँग लगातार संवाद गरिरहेका छन् । 
बुधबार साँझ मात्रै माधव नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बैकल्पिक गठबन्धन बनाउने विषयमा सहमति भएको खबरहरु बाहिरिएका थिए । तर यहीबीचमा सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसले पाएको छ । 

यसअघि नेकपा एमालेले नेकपा एसबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई समर्थन नगर्ने संकेत गरेको थियो । यद्यपि अन्तिममा एमालेले सोडारीलाई मुख्यमन्त्रीमा सहयोग गरेको छ । 

उक्त विषयमा एमालेबाट भने अर्को पात्र खोज्ने प्रयास भएको तर समर्थन नै नगर्ने विषय नउठेको गृहमन्त्री रविले खुलाएका छन् । 

यसअघि सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी र रञ्जिता श्रोष्ठ पक्षका दुई सांसदहरले मुख्यमन्त्री दावी गर्दा सरकार अफ्ठ्यारोमा पर्ने आंकलन गरिएको थियो । तर प्रधानमन्त्री प्रचण्डले नेकपा एसका नेताहरुलाई भेटेर मुख्यमन्त्री दिने सहमति गरेका थिए । सोही अनुसार नाउपा रञ्तिा पक्ष व्याक भयो । तर नाउपाकै रेशम पक्षले भने सोडारीलाई अहिलेसम्म समर्थन गरेको छैन । 

माधव र देउवाको ‘प्लान’

पटक पटक सहमति भएर पनि प्रधानमन्त्री बन्न नपाएका माधव नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच वैकल्पिक गठबन्धन बनाउने समहमति भएको विषय अहिले चर्चामा छ । 

प्रचण्ड पछि यही कार्यकालमा उनीहरु पालो पालो प्रधानमन्त्री बन्ने समझदारी थियो । तर प्रधानमन्त्री प्रचण्डले उक्त सहमति लत्याइदिए । यही बदला लिन माधव र देउवाले बैकल्पिक गठबन्धन बनाउने प्रयन्त गरिरहेका हुन् । 

एमाले रास्वपासहितको वर्तमान गठबन्धनमा पनि प्रधानमन्त्री बन्न माधवले सम्झौता गर्ने प्रयास गरेका थिए । तर  ओलीले कुनै प्रकारको कागजी समझदारी हुन नसक्ने भनेपछि माधव अझ विच्किएका थिए । 

वर्तमान संसदको संख्या अनुसार सरकार निमार्णका लागि १३८ सदस्यको समर्थन चाहिन्छ । यसमा नेकपा एस र जसपा निर्णयक मानिन्छन् । उनीहरुलाई आफ्नो कित्तामा तान्ने र अन्य प्रतिपक्षी दलहरुलाई मिलाएर नयाँ सरकार बनाउने देउवाको दाउ छ । 

जसमा नेपाली काँग्रेस ८८, राप्रपा १४, जसपा १२, नेकपा एस १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ४, राष्ट्रिय जनमोर्चा १ र यसका अलावा स्वतन्त्रहरुलाई पनि हातमा लिने काँग्रेसको रणनीति छ । 

यही समीकरण हेरेर माधव नेपालले समेश सत्ता गठबन्धनमा सशक्त बार्गेनिङ गरिरहेका हुन् । यसका अलावा जसपाले पनि आफ्नो अंक गणितलाई नियालीरहेको छ । 

यसअघि सरकारमा सहभागी हुन पहिले जसपा र नेकपा एसले एकअर्कामा छलफल गरेका थिए । यही आधारले पनि देउवा र माधव वैकल्पिक गठबन्धनका लागि हौसिएका हुन् ।             
 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update