
काठमाडौं । वर्तमान व्यवस्थाका नेताहरुले राजावादी गतिविधिमाथि अनेकाँै टिप्पणी गर्दै आएका छन् । पछिल्लो समय मुलुकमा बढ्दो राजावादी गतिविधिप्रति सरकार रक्षात्मक नै बन्नु परेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतासँगै राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाइँ नेतृत्वको राजावादी समूहसमेत राजतन्त्रको पक्षमा आक्रामक रुपले प्रस्तुत भइरहेको छ ।
राजसंस्था पुनरस्थापनाकै लागि भन्दै दुर्गा प्रसाईँको नेतृत्वमै तीनकुनेमा वृहत प्रदर्शनसमेत भयो । यो घटनामा केहीको ज्यान नै गएपछि राजवादी आन्दोलनको गति सुस्ताउने अनुमान गरिएको थियो । यद्यपि वर्तमान व्यवस्थामाथिको प्रश्न र वैकल्पिक प्रणालीको खोजी अझ तीव्र रुपमा भइरहेको छ । तर दलहरु भने राजतन्त्रको विपक्षमा डटेर उभिइरहेका छन् ।
ओलीका प्रहारहरुपनि उस्तै !
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजावादी गतिविधिप्रति तीव्र असन्तुष्टि जनाउँदै राजतन्त्र फेरि फर्कन नसक्ने जिकिर गर्दै आएका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रदेखि उनका नाती हृदयेन्द्र विर विक्रम शाहसम्मलाई राजा बन्ने अभिलाषा नबोक्न चेतावनी दिएका छन् । हुनतः पूर्वराजा ज्ञानेन्द्र शाह पछि अन्य पात्रमा राजाबन्ने चरित्र नरहेको भन्ने आम टिप्पणी हुने गरेका छन् । यद्यपि कतिपयबाट पारस शाहका छोरा हृदयेन्द्रलाई लिएर भावि राजाको रुपमा चित्रण गर्ने गरिएको छ । यस्तैमा प्रधानमन्त्री ओलीले भने उनलाई राजा बन्ने अभिलाषा त्यागेर कलाकारितामा लाग्न सुझाव दिएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहपछि राजाको दावेदार को ? भन्ने प्रश्नमा आम रुपमै उठ्दै आएको छ। तर यसको जवाफ जो कोहीले सजिलै दिनसकने अवस्था छैन । यस्तैमा पूर्वयुवराजा पारसपुत्र हृदयेन्द्रलाई भावी राजाको दाबेदारका रुपमा चर्चा गरिँदै आएको छ । यही अवस्थामा ओलीले उक्त टिप्पणी गरेका हुन् ।
कसरी सुरु भयो हृदयेन्द्रको चार्चा ?
प्रधानमन्त्री ओलीले हृदयेन्द्रलाई दिएको सुझावका विषयमा विभिन्न टिप्पणी भइरहेका छन् । तर ओलीलाई हृदयेन्द्रमाथि नै टिप्पणी गर्नुपर्ने अवस्था किन आयो ? भन्ने प्रश्न पनि उत्तिकै रुपमा उठेको छ । यसको कारणमा नायिका सुरक्षा पन्तले एक टेलिभिजन कार्यक्रमा हृदयेन्द्रलाई कलाकारिता क्षेत्रमै लाग्न सुझाव दिएकी थिइन् । त्यसपछि पूर्वराज परिवारकै व्यक्तिलाई कलाकारितामा आउन सुझाव दिएको भन्दै सुरक्षा तीव्र आलोचनाको सिकार बनिन् । यसपछि नै ओलीले सुरक्षाको पक्ष लिँदै हृदयेन्द्रलाई राजा बन्ने अभिलाषा त्यागेर कलाकारितामा आउन सुझाव दिएका हुन् ।
विवादको विषयमा के भन्छन् हृदयेन्द्र ?
आफूलाई लिएर राजनीति र कलाकारिता क्षेत्र नै तरङ्गित भएपछि हृदयेन्द्रले पनि जवाफ फर्काएका छन् । राजनीतिबाटै टाढा रहेको अवस्थामा प्रधानमन्त्रीसम्मले नै टिप्पणी गरेपछि हृदयेन्द्रले भनेका छन् – ‘कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैलाई आफ्ना विचार खुलारुपमा व्यक्त गर्ने अधिकार छ । सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुपन फैलाऔँ । नेपालीहरूले एक–अर्कालाई सहयोग गर्नुपर्छ न कि तल झार्न ।’
हृदयेन्द्रको सटिक र सन्तुलित जवाफलाई धेरैले सकारात्मक प्रतिृकया दिइरहेका छन्। अर्कोतर्फ राजा बन्ने चाहनै अभिव्यक्त नगरेका र राजनीतिबाट कोषौँ टाढा रहेका हृदयेन्द्रलाई चेतावनी शैलीमै गरेको टिप्पणीप्रति भने प्रधानमन्त्री ओली पूर्वराजाको तेस्रो पुस्तासँग नै डराएको रुपमा व्याख्या भइरहेका छन् ।