
बाजुरा । बाढी पहिरोबाट विस्थापित भएका बाजुराको जगन्नाथ गाउँपालिकाका १ सय १० विस्थापित परिवारका लागि गाउँपालिकाले नमुना बस्ती निर्माण गरेको छ ।
जगन्नाथ गाउँपालिका ६ काप्डी टोलमा पुग्ने जोकोहीलाई रातो जस्ता पाता भएको र पहेलो रंगले पोतेको एकनासका घरहरुले मनै लोभ्याउने गर्छ ।
हेर्दा निकै आकर्षक देखिने यो काप्डी बस्ती गाउँपालिका वडा न ६ को एकीकृत नमुना बस्ती हो । २०७९ असोज १९ देखि २५ गतेसम्म लगातार परेको अविरल बर्षाको कारण गाउँपालिकाका ६ वटै वडाहरुमा धनजनको क्षति भएको थियो ।
बाढीपहिरोबाट विस्थापित परिवारहरु यतिबेला गाउँपालिकाले घर निर्माण गरिदिएपछि निकै खुशी छन् । त्रिपाल लगाएर खुला आकाशमा बस्न बाध्य भएका १ सय ८ परिवारलाई गाउँपालिकाले पुनस्र्थापना गर्ने गरि प्रदेश र संघ सरकारसंग समन्वय गर्दै बाढी पहिरोबाट विस्थापित परिवारका घर निर्माण गर्ने गरि काम अगाडि बढाएको थियो ।
संघिय सरकारको ६० प्रतिशत अनुदान, प्रदेश सरकारको ३० प्रतिशत र स्थानिय तहको १० प्रतिशत अनुदानमा नमुना बस्ती बिस्तार गरिएको हो ।
१ सय ८ घर ५४ लाख रुपैयाँमा निर्माण गरिएको हो । एक घर निर्माण बापत ५ लाख ५० हजार रूपैयाँ खर्च भएको छ । बाढीपीडित परिवारहरूका लागी घर निर्माण गरिसकेको भएपनि प्रदेश र संघीय सरकारबाट पाउने कुल बजेटको ४५ प्रतिशत भुक्तानी हुन बाँकि रहेको छ ।
बाढीपहिरोबाट प्रभावितहरुको बस्ती स्थानान्तरणका लागि नेपाल सरकारको विपत् प्राधिकरणको टोलीको परिक्षणपछि पालिकाले जग्गा खरिद गरेर विस्थापित परिवारका लागि घर पुनः निर्माण गरि बस्ती विस्तार कार्यक्रम अगाडि बढाएको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीको भनाइ छ । विस्थापित परिवारका घर निर्माणसंगै अहिले तत्काल खानेपानी, शौचालय स्वास्थ्य चौकी, विद्यालय बनाउने काम भइरहेको छ ।
बाढीपहिरोबाट विस्थापित १०८ परिवारका घर निर्माण गरि जिल्लाकै नमुना बस्ती बनाउने उद्देश्य रहेको जगन्नाथ गाउँपालिकाले जनाएको छ ।
नमुना बस्तीका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी, अपांग, बाल मैत्री, खानेपानीका धारा, जस्ता अन्य काम गर्नको लागि यस वर्षको गाउँपरिषदबाट रकम विनियोजन समेत भइसकेको गााउँपालिकाले जानकारी दिएको छ ।