News 24 Television
१४ वर्षीय शर्मिलाको काँधमा ५ बहिनीको जिम्मेवारी, मागेर गुजारा 

बाजुरा । बुबाको मृत्युपछि आमाले अर्को विवाह गरेर गएपछि १४ वर्षीया शर्मिला रोकायाको काँधमा ११ वर्ष मुनिका पाँच बहिनीको जिम्मेवारी रहेको छ । अभिभावविहिन बनेका उनीहरु उचित शिक्षादीक्षाको त कुरै छोडौ, बिहान बेलुका दुई छाक खान समेत नपाउने अवस्थामा पुगेका छन् ।

बाजुराको गौमुल गाउँपालिका वडा १ दुर्गालीका ४० वर्षीय कन्तरो रोकायाको २०७७ सालमा भिडबाट लडेर मृत्यु भएपछि उनका ६ छोरीहरुको दुरावस्था शुरु भएको हो । 

उनको मृत्यु भएको केही समयपछि श्रीमती धना रोकायाले पनि अर्कै विहे गरिन् । त्यसपछि १४ वर्षिय शर्मिला रोकायासहित ११ वर्षमुनिकी पाँच दिदिबहिनीका दुखका दिन शुरु भए । 

बुबाको मृत्यु र आमाले अर्कै विहे गरेपछि पाँच बहिनीहरुको रेखदेखको अभिभारा १४ वर्षिय शर्मिलाको काँधमा आयो । आर्थिकरुपमा विपन्न परिवारका उनीहरुको न बस्नलाई घर छ न जग्गा जमिन नै । 

आमाले समेत छोडेर गएपछि वेसहारा बनेका उनीहरुलाई साँझ विहान हातमुख जोर्नै धौधौ छ । जसोतसो मागेर गुजारा गरिरहेका उनीहरुलाई यसरी पनि जीवन धान्न निकै सकसपूर्ण छ ।

६ दिदीबहिनीको यस्तो अवस्था हुँदा समेत स्थानीय सरकारदेखि अन्य कुनैपनि सरकारी तथा गैर सरकारी संघसंस्था कसैले पनि सहयोग नगरेको स्थानीय बताउछन् । 

पाँच दिदिबहिनीहरुमध्ये शर्मिलाका अन्य बहिनीहरु क्रमशः ११, ९, ७, ५ र ३ वर्षका छन् । बुबा एक्लो छोरा भएका कारण अहिले उनीहरुको सहारा कोही पनि छैनन् । आफ्नो उमेरका अरु बालबालिका पढ्न विद्यालय गइरहँदा उनीहरुलाई भने साँझ विहान के खाने भन्ने चिन्ता छ । 

स्थानीय तहवाट आफूले गर्नुपर्ने सहयोग गर्दै आएको वडाध्यक्ष देविन्द्र रोकाया बताउँछन् । बालबच्चाका लागी सहयोग गर्दै आएका मनकारी संघसंस्थाले शिक्षा, स्वास्थ्य र आवासको व्यवस्था गरे जिम्मा लगाउने मनशायमा रहेको उनले बताए ।

गरिबी र आर्थिक अभावका कारण बच्चाहरुको विजोग भएपनि स्थानीयहरुले समेत उनीहरुलाई आश्रय दिनसक्ने स्थिति छैन । परिवार उजाडिदाँ अलपत्र परेका किशोरी तथा बालिकाहरु न शिक्षाको पहुँचमा पुग्न सकेका छन, न अन्य आधारभूत आवश्यकता नै पुरा गर्न सकेका छन् । 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update