
ओखलढुङ्गा । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सरकारले अर्बौ लगानी गरेको छ । सरकारी लगानीबाट बनेका यस्ता संरचनाहरु कतिपय प्रयोगमै आएका हुँदैनन् भने कतिपय छोटो समयका लागि मात्रै प्रयोगमा आउने र फेरी प्रयोगबिहिन हुने गरेका छन । यसैको एउटा उदाहरण हो ओखलढुंगाको एकमात्र बसपार्क । करोडौै लगानी र लामो समय लगाएर बनाइएको बसपार्क केहि समय प्रयोगमा आयो, त्यसपछि अहिले बसपार्क प्रयोगविहिन अवस्थामा छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडामा करिब ८ वर्ष लगाएर व्यवस्थित बसपार्क निर्माण गरियो । तर निर्माण भएको लामो समयसम्म पनि बसपार्क प्रयोगमै आएन ।
स्थानीय र मिडियाको पटक पटकको खबरदारी पछि २०७९ चैत्र १० गते धुमधामका साथ बसपार्कको औपचारिक उद्घाटन गरियो । सम्बन्धित सरोकारवालाहरुले बसपार्कलाई केहि सयम सञ्चालनमा पनि ल्याए । तर, लामो समययता पुन बसपार्क प्रयोगबिहिन भएको छ ।
साना तथा ठुला सबैखाले सवारी साधन पार्किङ गर्न भनेर बसपार्क निर्माण गरिएको थियो । विभिन्न समयमा ५ करोड भन्दा बढी रकम खर्चेर बनाईएको यो बसपार्क अहिले सुनसान छ ।
यता सवारी धनी र चालकहरुले बसपार्क हुँदाहुँदै अटेर गरेर सडकमै सवारी साधन पार्किङ गर्ने गरेका छन । पैदल यात्रुलाई हिँड्नै असहज हुने गरि सडकका छेउछाउ पार्किङ गरिएका सवारी साधनले दुर्घटनाको जोखिम उत्तिकै छ । स्थानीय सरकारले भने सम्बन्धित सबै सरोकारवाला पक्षसंग तालमेल नमिल्दा यस्तो समस्या आएको प्रतिक्रिया दिएको छ । कतै आवश्यक संचरना नै नभएर समस्या छ भने कतै भएका संचरना पनि प्रयोगमा आउन सकेका छैनन् ।
त्यसैको एउटा जल्दोबल्दो उद्धाहरण हो यो बसपार्क । जुन उदेश्यले करोडौँ लगानी गरेर बसपार्क बनाइयो अहिले त्यही उद्देश्य अनुरुप सञ्चालन नहुँदा राज्यको लगानी बालुवामा पानी भएको छ । सवारी पार्किङलाई ब्यवस्थित गर्न बनाईएको बसपार्क प्रयोगमा ल्याउन नसक्नु सरोकारवाला निकाय सबैको कमजोरी र राज्यको लगानीमाथिको चरम दोहन पनि हो ।