
ओखलढुङ्गा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा यातायात ब्यवस्था कार्यालय स्थापना भएको करिब ५ वर्ष बित्यो । विशेष गरी माथिल्लो सगरमाथाका ३ जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका लागि स्थापना भएको यो कार्यालयले हालसम्म २८ हजार भन्दा बढीलाई सेवा दिईसकेको छ ।
कोशी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्रगत स्थापना भएको यो कार्यालय पछिल्लो समय एकाएक अन्तै सार्न लागिएको भन्दै स्थानीय आन्दोलित बनेका छन ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रलायले २०७७ सालमा ओखलढुंगाको रुम्जाटारमा यातायात ब्यवस्था कार्यालय स्थापना गरेको थियो ।
त्यसयता यस कार्यालयबाट ब्लु बुक नविकरण, सवारी दर्ता, नामसारी, रुट ईजाजत पत्र र झन्डै २ वर्ष अघिबाट सवारी सालक अनुमतिपत्र वितरणको काम समेत हुँदै आएको छ । तर रुम्जाटारमा स्थापना भएको यातायात ब्यवस्था कार्यालय हाल आएर अन्तै सार्न लागिएको भन्दै स्थानीय आन्दोलित बनेका छन ।
प्रदेश सरकारले जिल्लाकै मानेभञ्ज्याङ गाउँपालिका ७ हर्कपुरमा कार्यालय सार्न लागेको भन्दै स्थानीय आक्रोशित बनेका हुन । करिब ५ वर्षदेखि सेवा प्रवाह गरिरहेको कार्यालयलाई रहस्यमय तरिकाले स्वार्थ समूहलाई फाइदा पुग्ने गरी सार्न खोजिएको स्थानीयको आरोप छ ।
गत पुस १२ गते मन्त्रीस्तरीय निर्णय भन्दै मन्त्रालयले रुम्जाटार कार्यालयलाई अस्थायी रुट इजाजतपत्रका लागि त्यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने जिल्लाकै हर्कपुरमा आवश्यक व्यवस्थापन गर्न भन्दै पत्र पठाएको थियो ।
पुनः पुस २१ मै अर्को पत्र लेखेर हर्कपुरबाट इजाजत पत्र र ब्लु बुक नवीकरणसम्बन्धी कार्य सुरु गर्न र सवारी दर्ता, नामसारीका कार्यहरू क्रमशः गर्दै जाने गरी व्यवस्था मिलाउन भनिएको छ । सेवा दिइरहेको यातायात कार्यालय हटाएर अपायक क्षेत्रमा सेवा केन्द्रका रुपमा राख्ने र विस्तारै कार्यालय नै हटाउने समेतको तयारी भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
जिल्ला सदरमुकामबाट झन्डै ११ किलोमिटरको दुरीमा रहेको यातायात कार्यालय आफ्नै भवन नहुँदा हाल भाडाको घरबाट सञ्चालन भैरहेको छ । भवन निर्माणका लागि स्थानीयले निशुल्क रुपमा झन्डै ३ रोपनी भन्दाबढी जग्गा पनि उपलब्ध गराईसकेका छन । तर जग्गा उपलब्ध गराए पनि प्रदेश सरकारले पास गर्न सहमति नदिईरहेको र कार्यालय नै अन्तै सार्न खोजिएकोले रुम्जाटारमै स्थाई रुपमा कार्यालय यथावत नरहेसम्म आन्दोलन जारी राख्ने स्थानीयले चेतावनी दिएका छन् ।